आठ जना मन्त्री फेर्ने तयारीमा सरकार

सफल खबर संवाददाता

आइतबार, ०३ चैत्र २०७५, १२ : ३४
आठ जना मन्त्री फेर्ने तयारीमा सरकार

काठमाडौं । पछिल्ला दिनमा सरकारको काम कारबाहीलाई लिएर चौतर्फी आलोचना हुन थालेपछि सरकारले आठ जना मन्त्री फेर्ने तयारी गरेको छ । प्रभावकारी काम गर्न नसकेको भन्दै केही मन्त्रीको जागिर खोस्ने तयारीमा प्रधानमन्त्री केपी ओली र नेपाल कम्युनिष्ट पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच मन्त्री हेरफेरबारे छलफल भएको हो ।

सरकारको काम कारवाही प्रभावकारी हुन नसक्दा जनतामा चरम निराशा फैलिइरहेको भन्दै केही कामचोर मन्त्रीलाई हटाएरै भएपनि जनताको पक्षमा केही न केही काम गर्ने सोच राखिएको छ । देश र जनताको पक्षमा वरको सिन्को पर सार्न नसक्ने मन्त्रीहरुलाई बर्खास्त गर्ने तयारीमा सरकार लागेको हो । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष प्रचण्डबीच सरकारमा सहभागी मन्त्रीको फेरबदलका विषयमा पटकपटक छलफल भएका छन् ।

स्रोतका अनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित, महिला बालबालिका तथा समाज कल्याण मन्त्री थममाया थापा, सूचना तथा सञ्चार मन्त्री गोकूलप्रसाद बाँस्कोटा, वन मन्त्री शक्ति बस्नेत, खानेपानी मन्त्री बिना मगर, अर्थमन्त्री डा. युवराज खतिवडा लगायतलाई मन्त्रीबाट बर्खास्त गर्ने तयारी गरिएको छ । कमजोर कार्यक्षमताको आधारमा रक्षामन्त्री इश्वर पोखरेललाई पनि हटाउनु पर्ने सुझाव धेरै स्थानबाट आएको छ । व्यवसायीसँग केवल चन्दा उठाउने र आफूखुसी गर्दै आएका भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठको पनि जागिर खोस्ने तयारी गरिएको छ ।

नेपालको अर्थ व्यवस्था ध्वस्त बनाएको तथा सरकारको बजेटमा कुनै पनि जनपक्षीय कार्यक्रम समावेश नगरी विदेशीको पक्षपोषण गरेको आरोप अर्थमन्त्री डा. युवराज खतिवडामाथि लागेको छ । हेलीकप्टर दुर्घटनामा मृत्यु भएका रवीन्द्र अधिकारीको स्थानमा कसलाई अगाडि बढाउने भन्ने बारेमा हालसम्म कुनै निर्णय भने नभएको स्रोतले जनाएको छ ।  प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री प्रचण्डबीच मन्त्री परिवर्तन गर्नेबारे पछिल्ला दिनमा पटकपटक छलफल भएका छन् ।

नेकपा अध्यक्ष प्रचण्डले मन्त्रीमण्डल पुनर्गठन गर्ने विषयमा आफू र प्रधानमन्त्री ओलीबीच छलफल भएको खुलासा गरेका हुन् । पहिलोपटक विराटनगरमा उनले मन्त्रीपरिषद्का सदस्य परिवर्तनको विषयमा छलफल भएको बताएका थिए । अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीसँग मन्त्रीमण्डल पुनर्गठनका विषयमा छलफल भएको बताए ।  ‘यो कुरा प्रधानमन्त्रीजीले कसरी हिसाब गर्नुहुन्छ, त्यसमा बढी भर पर्छ । हाम्रो सिस्टम भनेको प्रधानमन्त्रीकै छ । उहाँले कसरी मूल्यांकन गर्नुहुन्छ, त्यसमा भर पर्छ’ प्रचण्डले भने, ‘मन्त्री परिवर्तनको विषयमा प्रधानमन्त्रीसँग  कुराचाहिँ भएको छ ।’

अध्यक्ष प्रचण्डले मन्त्री फेर्ने वा पुनर्गठन गर्ने जिम्मेवारी प्रधानमन्त्रीलाई नै दिइएको पनि जानकारी दिए । ‘प्रधानमन्त्रीजीको म हेरिरहेको छु  भन्ने भनाई रहेको छ । मैले यो तपाईकै मूल्यांकनमा भर पर्ने कुरा हो आवश्यक निर्णय गर्नुस् भनेको छु, कार्यक्षेत्र पनि उहाँकै हो’ प्रचण्डले भनेका छन् । कामचोर मन्त्रीलाई हटाएर अलि बढी इमान्दार र केही गरौं भन्ने क्षमता भएका केही सबल नेतालाई मन्त्रीमण्डलमा समावेश गर्ने तयारी गरिएको अध्यक्ष प्रचण्डको भनाइ छ ।

भट्टराई मन्त्री हुने चर्चा
निर्वाचनको क्रममा प्रधानमन्त्री ओलीले ताप्लेजुङमा योगेश भट्टराईको निर्वाचन क्षेत्रमा पुगेर भाषण गर्दै उनलाई जिताएर पठाउने जिम्मेवारी ताप्लेजुङबासीको भएको र मन्त्री बनाउने जिम्मेवारी आफ्नो भएको बताएका थिए । तर ओली नेतृत्वको मन्त्रिमण्डलमा भट्टराई अटाउन सकेनन् । अहिले पुनः भट्टराई मन्त्री हुने चर्चा शुरु भएको हो । नेकपाका नेता देवेन्द्र पौडेलले मन्त्री हेरफेरको बारेमा पार्टीभित्र छलफल शुरु भएको स्वीकारे ।

मन्त्री हेरफेरसँगै पर्यटनमन्त्रीको पनि टुंगो लगाउने गरी गृहकार्य भइरहेको छ । ‘अध्यक्ष प्रचण्डले पर्यटनमन्त्रीमा भट्टराईको नाम प्रस्ताव गर्नुभएको छ । तर प्रधानमन्त्री ओलीले भट्टराईको नाम अस्वीकार गर्नुभएको छ’, प्रचण्डको भनाइ उदृत गर्दै नेकपाका एक स्थायी समिति सदस्यले भने– ‘योगेशजीलाई पर्यटनमन्त्री बनाउँदा राम्रो हुन्छ, यसअघि पनि मन्त्री बनाउने घोषणा भएको थियो, भट्टराईलाई मन्त्री बनाउँदा सरकारलाई राम्रो हुन्छ ।’ तर जवाफमा प्रधानमन्त्री ओलीले भट्टराईलाई मन्त्री बनाउनुभन्दा पार्टीकै जिम्मेवारी दिँदा राम्रो हुने बताएको ती नेताले बताए ।

प्रतिक्रिया दिनुहोस