विप्लवमाथि प्रतिबन्धका बारेमा छलफल गर्न प्रचण्डसहित पाँच नेताको छुट्टै बैठक

सफल खबर संवाददाता

बुधबार, २९ फागुन २०७५, १९ : ०९
विप्लवमाथि प्रतिबन्धका बारेमा छलफल गर्न प्रचण्डसहित पाँच नेताको छुट्टै बैठक

काठमाडौं । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई प्रतिबन्ध लगाउने निर्णय गरेसँग सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा नयाँ तरङ्ग पैदा भएको छ । सरकारको यस्तो निर्णयले सचिवालयकै केही नेताहरु असन्तुष्ट बनेका छन् । र, यसबारे नेकपाका शीर्ष नेताहरुमा छलफल सुरु भएको छ ।
सरकारले एकपछि अर्को गर्दै विवादीत निर्णय गर्नथालेपछि असन्तुष्ट बनेका सचिवालयका नेताहरु र अध्यक्ष प्रचण्ड सहित बुधबार विहान खुमलटारमा बैठक बस्यो । बैठकमा वरिष्ठ नेता माधव कुमार नेपाल, झलनाथ खनाल, सचिवालय सदस्य वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागी रहेको स्रोतले बतायो ।

विप्लव पार्टीमाथि प्रतिबन्ध लगाउने निर्णयबारे पार्टीमा कुनै छलफल नभएको र पार्टीलाई भद्रगोल अवस्थामा पुर्याएको, सांगठनिक एकीकरणका वाँकीकाम अलमलाएको भन्दै असन्तुष्ट चार नेताहरुले अध्यक्ष प्रचण्डलाई नीतिगत निर्णय गर्न तत्काल सचिवालयको बैठक बोलाउन प्रधानमन्त्री ओलीलाई दबाब दिनेबारे छलफल भएको स्रोतले बतायो ।

विप्लव नेतृत्वको पार्टीमाथि प्रतिबन्ध लगाउने निर्णयपछि चौतर्फी सरकारको विरोध भएको छ । यसमा सत्तारुढ दलकै दोस्रो तहका केहि नेताहरुको असन्तुष्टि बाहिर आएको छ । तर, यसबारे सचिवालयका शीर्ष नेताहरुको धारणा अहिलेसम्म सार्वजनिक भने भएको छैन ।

स्रोतका अनुसार अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा छलफलबिनै एकपछि अर्को निर्णय गर्न थालेको र त्यो गलत हुने भन्दै असन्तुष्ट नेताहरुले अध्यक्ष प्रचण्डलाई पहल गर्न आग्रह गरेका थिए । खुमलटारको भेट लगत्तै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीलाई भेटेका छन् ।

वालुवाटार स्रोतका अनुसार प्रचण्डको आग्रह अनुसार प्रधानमन्त्री ओलीले बिहिबार असन्तुष्ट चार शिर्ष नेतालाई भेट्ने कार्यक्रम तय गरेका छन् । बिहिबार प्रधानमन्त्री ओली, अध्यक्ष प्रचण्डसहित असन्तुष्ट चार नेताहरुको छलफलपछि मात्रै नेकपाले विप्लवमाथि लगाएको प्रतिवन्धबारे आधिकारीक धारणा सार्वजनिक गर्नेछ । साथै, एकीकरणका बाँकी काम छिटो टुंगाउन गृहकार्य पनि सुरु हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस