न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्न माग गर्दै प्रेस युनियनको ज्ञापनपत्र

बुधबार, २९ फागुन २०७५, १९ : ०३
न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्न माग गर्दै प्रेस युनियनको ज्ञापनपत्र

भरतपुर । नेपाल प्रेस युनियन चितवनले सरकारले तोकेको पत्रकारहरुको न्यूनतम पारिश्रमिक कार्यान्वयनमा ल्याउन माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको छ ।

चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत मार्फत नेपाल प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकालले सो ज्ञापनपत्र प्रधानमन्त्रीलाई बुझाउनु भएको हो । ज्ञापनपत्रमा नेपाल सरकारले कात्तिक १ गतेदेखि सरकारले पत्रकारहरुको न्यूनतम पारिश्रमिक वृद्धि गरेको भए पनि चितवनलगायत देशभरका अधिकांश सञ्चार माध्यममा लागू हुन नसकेको उल्लेख गरिएको छ । ज्ञापन पत्र बुझाउँदै अध्यक्ष ढकालले सरकारले लागु गरेको पारिश्रमीक कार्यान्वयन गराउन समेत माग गर्नु भयो ।  

न्यूनतम पारिश्रमिक बढाउन दबाब दिन गत माघ १६ र १७ गते चितवनको पटिहानीमा सम्पन्न महिला पत्रकारहरुको भेलामा प्रेस युनियन चितवनले पत्रकारहरुको हस्ताक्षर संकलन गरेको थियो । सोही हस्ताक्षरसहितको ज्ञापनपत्र आज चितवनका प्रमुख जिल्ला अधिकारी बस्नेतमार्फत प्रधानमन्त्रीलाई बुझाएको छ ।

ज्ञापन पत्र र हस्ताक्षेर बुझ्दै वस्नेतले सरकारको निर्णय कार्यान्वयनका लागि सबै संग समन्वय गरेर अघि वढ्ने वताउनु भयो । यो ज्ञापन पत्र तत्काल पठाउने बताउँदै उहाँले सरकारको निर्णय सबैले कार्यान्वयन गर्नु पर्ने बताउनु भयो । यसका लागि जिल्लामा आँफुले सक्दो सहयोग गर्ने उहाँले प्रतिवद्धता व्यक्त गर्नु भयो ।  

प्रतिक्रिया दिनुहोस