रसुवा । रसुवा जिल्लामा भूकम्पपछिको आवास निर्माण छिटोछरितो सम्पन्न गराउन स्थानीय तहसँग समन्वय एवं प्रगति समीक्षा सम्पन्न भएको छ । विसं २०७२ को भूकम्पबाट भएका धनजनको क्षति र हालसम्म आवास पुनःनिर्माणमा भएको प्रगति सार्वजनिक गर्दै निर्माणको काम छिटो सम्पन्न गराउन स्थानीय तहका जनप्रतिनिधिलाई आग्रह गरिएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ रसुवाका प्रमुख भरतकुमार थापाले बताउनुभयो ।
रसुवाका पाँचवटै गाउँपालिका प्रमुख, उपप्रमुख, वडाध्यक्षसमेत एकैथलोमा भेला गराइ एक कार्यक्रमबीच विसं २०७२ को भूकम्पबाट परेको असर पुनःनिर्माणमा सरकारले गरेको सहयोग तथा स्थानीय तहको दायित्व, लाभग्राहीले पालना गर्नुपर्ने मापदण्डका विविध पक्षमा कार्यपत्र प्रस्तुत गरिएको थियो ।
भूकम्पबाट १२ हजार ४९२ निजी आवास क्षति हुनका साथै २२ जना विदेशीसहित ६८१ जनाको मृत्यु, ७७१ जना घाइते भएको आयोजना प्रमुख थापाले जानकारी दिनुभयो । यसैगरी भूकम्पको असरले कोलाहल परेका ३५२ विदेशीसहित ९६० जनाको उद्दार भए पनि अझै १५६ जनाको पत्ता नलागी बेपत्ता सूचीमा रहेको थापाले बताउनुभयो ।
मृतकका हकदारलाई तत्कालीन समय काजक्रियासहितको क्षतिपूर्ति दिई स्थायी बाँस स्थानका लागि आवास पुनःनिर्माणअन्तर्गत रसुवाका लाभग्राही सूचीमा सूचीकृत भएका ११ हजार ७२६ मध्ये पहिलो किस्ता, १० हजार ७८० लाई दोस्रो र आवाश निर्माण सम्पन्न गरेका नौ हजार ४५७ जनालाई तेस्रो किस्ता भुक्तानी भई सकेको बताइएको छ ।
यसैगरी जिल्लाभित्र आमसिक रूपमा क्षति भएका २१९ घरको प्रवलीकरण गर्ने कार्य सम्पन्न भैइसकेको कार्य प्रगति प्रस्तुत गरिएको थियो । गैरसरकारीमार्फत ९४६ आवाशको पुनःनिर्माण सम्पन्न भएको र भूकम्पले पृथ्वी हल्लाउँदा गएको पहिरोका कारण थातथलो जोखिममा परिणत भएका साविक हाकु गाविस वडा नं ८, ९ हाल उत्तरगया गाउँपालिका–१ गोगने, मैलुङका केही बासिन्दाको लागि एकीकृत बस्ती बसाल्न ती क्षेत्रमा जग्गा व्यवस्थापन प्रकृया अगाडि बढी सकेको जानकारी दिइएको छ ।
जोखिम मानिएका घर सङ्ख्या भने गोशाइँकुण्ड गाउँपालिकामा २१ नौकुण्डमा १२४, आमाछोदिङ्मोमा २१२ उत्तरगयामा ६१८ र कालिका गाउँपालिकामा २४ रहेका छन् । तीमध्ये ४२८ जनालाई पुनःवास गराउन जग्गा व्यवस्थापन गरी बाँकीको हकमा जग्गा खोज्ने कामसमेत अगाडि बढेको बताइएको छ । निर्माण गर्न बाँकी रहेका निजी आवाश छिटो सम्पन्न गराउन र पुनःबासको लागि उपयुक्त ठाउँमा जमीनको खोजी कार्यमा सहयोग पु¥याउन लाभग्राही, वुद्विजिवी, जनप्रतिनिधि एवं सरोकारवाला निकायसँग आग्रह गरिएको जिल्ला आयोजना कार्यान्वयन एकाइले आग्रह गरेको समेत बताइएको छ ।
पत्रपत्रिका र रेडियो एफएमबाट सूचना जारी गर्दै भूकम्पीय मापदण्ड अनुरूप सरकारले तोकेको समय सिमाभित्र आवाश निर्माण सम्पन्न गर्न र निजी आवाश निर्माणमा बढी काठ प्रयोग भएकाले वृक्षारोपण गरी वन जङ्गलको प्रर्वद्वन गर्ने कार्यमा सरीक हुनसमेत सबै लाभग्राहीलाई आग्रह गरिएको छ ।
आवास पुनःनिर्माणको काममा बालबालिका परिचालन नगर्न, सबै कामदारको स्वास्थ्यमा ख्याल राख्न, भूक्ष्य हुने गरी जोखिम ठाउँको ढुङ«गा उत्खनन नगर्न नगराउन, बालमैत्री एवं अपाङ्मैत्री संरचना बनाउन, निर्माणको काममा एकआपसी सद्भाव कायम राख्नसमेत आग्रह गरिएको प्रमुख थापाले बताउनुभयो । रासस
प्रतिक्रिया दिनुहोस