Safal Khabar - महिला पत्रकारका चुनौती
शनिबार, ११ जेठ २०७६ (Saturday, 25 May, 2019)
महिला पत्रकारका चुनौती
सोमबार, २७ फागुन २०७५, ११ : ४९
महिला पत्रकारका चुनौती

- भीमा शिवाकोटी

नेपालमा पत्रकारिताको थालनी वि.स. १९५५ बाट शुरु भयो । नेपाली पत्रकारिताका जन्मदाता मोतीराम भट्ट हुन् । नेपाली भूमिमा प्रथमपटक वि.स. २०५५ सालमा प्रकाशित “सुधासागर” नामक मासिक पत्रिकाको प्रकाशनको शुरुमा मोतीराम भट्ट र उनका सहयोगीहरुको मुख्य भूमिका रहेको थियो । उक्त पत्रिकाको पहिलो सम्पादक सिद्धिबहादुर मल्ल थिए । सुधासागरबाट शुरु भएको नेपाली पत्रकारितालाई गोरखापत्रले साप्ताहिक र दैनिक हँुदै निरन्तरता दियो प्रजातन्त्रको पुनर्वहालीसम्म । यसबीचमा अन्य थुप्रै पत्रिकाहरु निक्ले पनि पत्रकारितामा महिलाको खासै भूमिका रहेन । तर २००७ सालको क्रान्तिमा महिला नेतृत्वको निर्णायक भूमिका रहेपछि महिला नेतृहरुकै पहलमा विक्रम सम्वत २००८ सालमा मुलुकको पहिलो महिला सम्पादकको रुपमा आफूलाई स्थापित गर्दै साधना प्रधानले महिला पत्रिका “महिला” मासिक प्रकाशित गर्नुभयो । सो पत्रिका प्रकाशनका लागि कामक्षादेवीको पनि उत्तिकै महत्वपूर्ण भूमिका रह्यो । तर, एकमात्र महिला पत्रिका पनि केही समयपछि बन्द भयो । तथापि नेपाली पत्रकारिताको इतिहासमा महिला पत्रकारको जन्म महिला मासिकबाट शुरु भयो । जसका कारण महिलाहरुलाई यस क्षेत्रलाई पेशा बनाउन एउटा ऐतिहासिक पे्रणा दियो ।

प्रजातन्त्रको पुनस्र्थापनापश्चात भने पत्रकारितामा महिलाको उपस्थिति क्रमशः बढ्दै गयो र महिलाअधिकार तथा महिलाका विविध मुद्दामा प्राथमिकताका साथ कलम चलाउन ‘अस्मिता’ जस्ता पत्रिकाहरुको शुरुवात भयो । महिलामाथि हुने दमन र हिंसाका विरुद्ध कलम चल्ने सो पत्रिका प्रकाशनपश्चात यस क्षेत्रमा महिला पत्रकारको संख्या तथा महिला पत्रकारको सम्पादनमा प्रकाशित हुने पत्रिकाहरु पनि बाक्लिँदै गए ।

अवस्था
नेपालको संविधान २०४७ ले जनतालाई सुसूचित हुने अधिकार र प्रेस स्वतन्त्रताको प्रत्याभूत गरेपछि आमसञ्चारका माध्यमको विकास हुन पुगेको हो । पञ्चायतकालमा प्रेसमाथि हुने अंकुश २०४६ पछि अन्त्य भयो । २०४६ सालको राजनीतिक परिवर्तनपछि मात्र नेपाली मिडियाको विकास भएको हो । २०५० को दशक नेपाली पत्रकारितामा व्यवसायिक पत्रकारिताको विकास भएको समय हो । यसबीचमा पत्रपत्रिका, एफएम रेडियो, टेलिभिजनको विकास र विस्तार भए । २०६२÷०६३ को जनआन्दोलनपछि न्यू मिडियाको रुपमा अनलाइन न्यूज पोर्टलको विकास भएको हो । डिजिटल प्रविधिको विकासले न्यू मिडियाको तीब्र विकास हुने क्रम जारी छ ।
 
नेपालको जनसंख्यामा ५१% प्रतिशत भन्दा बढी महिला भएपनि राज्यका अन्य निकाय जस्तै पत्रकारिता क्षेत्रमा पुरुषको तुलनामा महिलाको उपस्थिति न्यून छ । नेपालमा रेडियो, टेलिभिजनको विकाससँगै महिला पत्रकारको सहभागिता बढेपनि महिला पत्रकारको दोहोरो÷तेहेरो जिम्मेवारीबाट मुक्त हुन सकेका छैनन् । पेशागत जिम्मेवारीसँगै घरेलु श्रममा पनि त्यत्तिकै भूमिका निर्वाह गर्नुपर्ने हुन्छ । महिला पत्रकारले प्रजनन् भूमिका निर्वाह गर्दा पत्रकारिता पेशा त्याग्नुपर्ने वाध्यात्मक अवस्था आउने गरेको छ ।

नेपाली पत्रकारिता आर्थिक आयका हिसावले खासै आकर्षक पेशा होइन । त्यसमा पनि महिला पत्रकारको जति नै क्षमता भए पनि सहकर्मी पुरुषको तुलनामा न्यून पारिश्रमिक दिने गरेको पाइन्छ । कमै मात्र महिला पत्रकारले परिवारबाट पत्रकारितामा लागि रहन सहयोग र उत्प्रेणा पाउने अवस्था छ ।
 
कार्य क्षेत्रमा पुरुष सहकर्मीबाट हुने यौन हिंसा र दुव्र्यवहारका अनेकौं घटना हुने गर्दछन् । सुरक्षाका दृष्टिकोणले पनि महिला पत्रकार कार्यक्षेत्रमा असुरक्षित हुने गरेका छन् । कमजोर आर्थिक अवस्था भएका महिला पत्रकारले पत्रकारितालाई निरन्तरता दिन निकै कठिन हुन्छ । आर्थिक अवस्था राम्रो भएका कैयौं क्षमतावान महिला पत्रकारले राम्रो आम्दानी नहुँदा मूलतः विवाहपछि पेशा परिवर्तन गर्नुपर्ने वाध्यता छ । सिंगो समाजको महिला पत्रकारलाई हेर्ने दृष्टिकोणमा सकारात्मक परिवर्तन हुन नसकेका कारण पनि महिला पत्रकारले पेशालाई निरन्तरता दिन कठिन हुने गरेको छ ।

झापामा महिला पत्रकार
झापाको पत्रकारिताको इतिहासलाई हेर्दा सबभन्दा पहिला वि.स. २०१० सालमा श्यामकृष्ण उपाध्यायको “केटो” पाक्षिक प्रकाशनसँगै सुरु भएको पाइन्छ । “केटो” पाक्षिक प्रकाशनसँगै सुरु भएको झापाको पत्रकारितामा झापाकै पहिलो महिला पत्रकार बाहुनडाँगी निवासी राधा चम्लागाई (शर्मा) हुन् । २०३४ सालमा विवेचनामा कार्यरत चम्लागाई हाल अमेरिकामा बस्दै आएकी छन् । त्यसो त “युगज्ञान”साप्ताहिकको प्रकाशक भएर वेदकुमारी रेग्मीले त्यो बेलामा पनि पत्रकारितालाई माथि उठाउन महत्वपूर्ण भूमिका खेलेकी थिइन् । तथापि, हालसम्म झापामा महिला पत्रकारको इतिहास लिपिवद्ध भएको छैन । खोज गरिरहँदा झापाको पहिलो महिला सम्पादक सुजाता उप्रेती हुन् । उनी वि.स. २०५८ सालतिर “हिमालय साप्ताहिक” को सम्पादक÷प्रकाशक थिइन् । निर्मल छापाखानाबाट प्रकाशित उक्त साप्ताहिक लामो समयसम्म टिकिरहन सकेन । त्यसैगरी झापाको दमकबाट प्रकाशित हुने पुरानो साप्ताहिक “जनज्योति” मा सह–सम्पादकको रुपमा सावित्रा दाहालले आफ्नो भूमिका निर्वाह गरेकी थिइन् । तर पत्रकारितामार्फत जीविकोपार्जन गर्न नसकेपछि हाल उनी प्राध्यापन पेशामा छिन् ।

वि.स. २०४७ सालको संविधानले जनतालाई सूचनाको अधिकार ग्यारेण्टी गरेपछि झापामा पनि पत्रकारिताको राम्रो विकास भएको पाइन्छ । नेपाल पत्रकार महासंघ झापाको तथ्याङक अनुसार झापामा हाल १९ वटा साप्ताहिक, ९ वटा दैनिक, १८ वटा एफएम रेडियो, २ वटा टेलिभिजन र १९ वटा अनलाइनहरु सञ्चालनमा छन् । नेपाल पत्रकार महासंघ झापामा आवद्ध २६८ जना सदस्यहरुमा ५२ जना महिलाहरु सदस्य रहेका छन भने क्रियाशील करिव ३५ जना मात्र छन् । त्यसो त महिला पत्रकारहरुलाई पत्रकारितामा टिकाइराख्ने उद्देश्यका साथ २०६९ सालमा “नारी सञ्चार गृह” झापाको स्थापना भएको छ । जसमा ४० जना महिला पत्रकारहरु आवद्ध छन् । महासंघको सदस्य नभएका नव महिला पत्रकार पनि नारी सञ्चार गृहमा सदस्य बन्नसक्ने प्रावधानले महिला पत्रकारलाई पेशामा टिकाइरहन सहयोग मिलेको छ । अनेकन समस्याका बाबजुद झापामा सम्पादन तहमा केही महिला पत्रकारहरु सक्रिय छन् ।

झापा भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिकको सम्पादक माया पकुवाल, राष्ट्रिय समाचार समितिको मेची प्रमुख अम्बिका भण्डारी, बिर्तामोडबाट प्रकाशित मेची टायम्स दैनिकको सम्पादक सुशीला संग्रौला, जनआन्दोलन साप्ताहिकको सम्पादक तथा प्रेस युनियन झापा सभापति इन्द्र पूर्वेली, रेडियो विराटको प्रबन्ध निर्देशक लिला अनमोल, सूर्याेदय टेलिभिजनकी प्रवन्ध निर्देशक विष्णु मैनाली, रेडियो सनराइजकी समाचार सम्पादक सुषमा राजवंशी, दमकबाट प्रकाशित झापा पोष्ट दैनिककी सम्पादक रेगिना भट्टराई लगायतले निर्णायक तहमा बसेर काम गरिरहेका छन् । तथापि खोजमूलक पत्रकारितामा महिलाको सहभागिता अत्यन्तै कम छ । बढीभन्दा बढी मनोरञ्जनात्मक कार्यक्रममा महिलाको बढी आकर्षण रहेको पाइन्छ । समाचार, रिपोर्ट, फिचर, म्याग्जिन जस्ता विधामा महिलाको उपस्थिति एकदमै न्युन रहेको छ ।

चुनौती

सञ्चारमाध्यमले आममानिसको जीवन र सामाजिक तथा राष्ट्रिय चासोका विषयहरुमा प्रत्यक्ष प्रभाव पार्दछ । विभिन्न कारणले राज्यको मूलधारमा आउन नसकेका व्यक्तिहरुका सम्बन्धमा सामाजिक दृष्टिकोण बनाउन समाजका विभिन्न वर्ग तथा समूहका मानिसहरुको यथार्थ चित्रण र सही प्रतिनिधित्व गराउन तथा राष्ट्रियस्तरका चासो र सवालका विषयमा सही सूचना सम्प्रेषण गर्न झापाका सम्पूर्ण पत्रकारहरुको अहम् भूमिका रहेको छ । तथापि राष्ट्रको चौथो अंग भनिने पत्रकारिताको विकासमा विभिन्न खालको समस्या भने नभएका होइनन् । पत्रकारितामा राजनीतिको प्रत्यक्ष प्रभाव, श्रमजीवी पत्रकारको भूमिका स्पष्ट नहुनु पत्रकार स्वयं पेशाप्रति इमान्दार बन्न नसक्नु जस्ता थुप्रै चुनौतीहरु छन् । यसमा पनि महिला पत्रकारका अरु बढी समस्याहरु रहेका छन्, जसमा पत्रकारिता क्षेत्रमा महिलामैत्री वातावरण नहुनु, जिम्मेवारी विभाजनमा विभेद हुनु, निर्णायक तहमा महिलाको न्यून उपस्थिति हुनु, यौन दुव्र्यवहार, आर्थिक तथा सामाजिक स्वतन्त्रताको कमी, पित्तृसत्तात्मक सोच हावी हुनु, घरेलु हिंसा, पेशागत तथा सामाजिक सुरक्षाको ग्यारेण्टी नहुनु, विवाहपश्चात कार्यरत ठाउँबाट अन्यत्र जानुपर्ने वाध्यता, सञ्चार क्षेत्रमा काम गर्ने महिलाको अधिकारसम्बन्धी विशेष सञ्चार नीति र आचारसंहिताको अभाव, सञ्चार क्षेत्रका आधुनिक प्रविधिको पर्याप्त ज्ञान तथा आधारभूत साधनको अभाव आदि महिला पत्रकारहरुका चुनौती रहेका छन् ।

निष्कर्ष
पत्रकारितामा महिलाको उपस्थितिले महिला अधिकारका मुद्दा उठान गर्न केही न केही सहयोग पुगेको छ । तर, महिला पत्रकारको न्यून उपस्थितिले महिला अधिकार जुन रुपमा उठान हुनुपर्ने हो, त्यसका लागि समस्या भएको छ । राज्यका हरेक निकायमा महिलाको ३३ प्रतिशत प्रतिनिधित्व गराउने संवैधानिक व्यवस्थालाई सञ्चार संस्थामा पनि लागू गर्नु पर्दछ ।   

पत्रकारिता क्षेत्रमा रहेका समस्यालाई समाधान गर्न श्रमजीवी पत्रकार ऐन कार्यान्वयन गर्नु, पत्रकारितालाई राजनीतिक प्रभावबाट मुक्त राख्नु, महिलामैत्री वातावरण सिर्जना गर्दै महिलालाई अवसर दिने कुरामा कन्जुस्याई गर्ने परम्पराको अन्त्य गर्नु पर्दछ । महिला पत्रकारको उपस्थितिलाई अझ बढाउन सरकार, सञ्चार गृह, नेपाल पत्रकार महासंघ लगायतका संस्थाले सक्रिय भूमिका निर्वाह गर्नुपर्छ । पत्रकारिताबाट
(शिवाकोटी नेपाल पत्रकार महासंघ झापाकी उपाध्यक्ष हुन्)

प्रतिक्रिया दिनुहोस