सिकेसँगको सम्झौता घातक हुने संकेत: स्वतन्त्र मधेश गठबन्धनद्वारा जनमत संग्रहको माग

सफल खबर संवाददाता

आइतबार, २६ फागुन २०७५, १८ : १६
सिकेसँगको सम्झौता घातक हुने संकेत: स्वतन्त्र मधेश गठबन्धनद्वारा जनमत संग्रहको माग

जनकपुर । सरकारसँग एघारबुँदे सहमति गरेर शान्तिपूर्ण राजनीतिमा अवतरण गरेको भनिएको स्वतन्त्र मधेश गठबन्धनले सहमति विपरीत स्वतन्त्र मधेश (फ्री मधेश) को नारा लगाउँदै जनमत संग्रहको माग गरेको छ । सरकारसँग सहमति गरेको ७२ घण्टा नबित्दै स्वतन्त्र मधेश गठबन्धनले पुुरानै गतिविधि दोहो¥याएको छ ।

शुक्रबार सरकार र राउत नेतृत्वको गठबन्धनबीच ११ बुँदे सहमति भएको थियो । सहमतिको २ नम्बर बुँदामा ‘हामी आफ्ना राजनीतिक, सामाजिक,  आर्थिक लगायतका उद्देश्यहरु प्राप्तिका निम्ति शान्तिपूर्ण एवं लोकतान्त्रिक  बाटोबाट अघि बढ्नु पर्छ भन्ने मान्यतामा दृढ छौं । नेपालको संविधानमा प्रयुक्त जनतामा निहित सार्वभौम अधिकारको प्रयोग गर्दै तराई–मधेस लगायत देशका कतिपय स्थानमा रहेका सन्तुष्टिहरुलाई जनअभिमतमा आधारित लोकतान्त्रिक विधिबाट समाधान गर्न सहमत भएका छौं’ उल्लेख छ । सहमतिविपरित राउतका कार्यकर्ताले सहमति भएको भोलिपल्ट शनिबार नै सिरहा लगायतका जिल्लामा स्वतन्त्र मधेसको झण्डासहित प्रदर्शन गर्दै आफ्नो जित भएको दाबीसहित नारावाजी गरेका छन् ।

आइतबार जनकपुर पुगेका मधेश गठबन्धनका संयोजक सिके राउतको स्वागतमा विमानस्थल पुगेका कार्यकर्ताले स्वतन्त्र मधेशको झण्डा बोकेर जनमत संग्रह गर्नु पर्ने मागसहितको ब्यानर प्रदर्शन गरेका छन् । गठबन्धनका कार्यकर्ताले राउतलाई फूलमालाले स्वागत गर्दै स्वतन्त्र मधेशको पक्षमा प्रदर्शन गरेका हुन् । सहमतिको मसी सुक्न नपाउदै राउत समर्थकका पुराना गतिविधि दोहोरिन थालेपछि अनेकन आशंका उब्जिएको छ ।

उनी आइतबार दिउँसो जनकपुर विमानस्थलमा उत्रिएपछि कडा सुरक्षाबीच समर्थकहरुले नगर परिक्रमा गराएका थिए । राउत विमानस्थलमा उत्रिदा समर्थकहरुले उनको पक्षमा चर्को नाराबाजी गरेका थिए ।  शुक्रबार राउत र सरकारबीच ११ बुँदे सहमति भएपछि मधेसका जिल्लाहरुमा दीपावली समेत गरिएको थियो ।

राउत र सरकारबीच भएको सहमतिको ६ नम्बर बुँदामा ‘स्वतन्त्र मधेस गठवन्धन तथा यसका नेता–कार्यकर्ताद्वारा यसअघि तयार पारिएका र पहिले प्रचारमा गएका किताव, पर्चा–पम्पलेट, घोषणापत्र, गीत, नक्सा, नारा, झण्डा, अनलाईन सामाग्री आदिलाई भविष्यमा कारवाहीको बिषय बनाईने छैन’ भनिएको छ । त्यस्तै आगामी दिनमा संविधानको व्यवस्था र यस सहमति प्रतिकूलका प्रचार सामाग्रीहरु उत्पादन तथा वितरण गरिने छैन भनिएको छ । यसको अर्थ पूराना झण्डा या प्रचार सामाग्री प्रदर्शन या प्रकाशन नगर्ने भन्ने हो ।

राउत र सरकारबीच भएको सहमतिको  भाषाको विषयलाई लिएर सत्तारुढ दलमै विवाद भइरहेका बेला राउतका कार्यकर्ताबाट भएको यस्ता गतिविधिलाई सर्वसाधारणले समेत प्रश्न गरेका छन् ।

प्रतिक्रिया दिनुहोस