खानेपानीको क्षेत्रमा ठूलो उपलब्धि : मर्दी खोलाको पानी प्रशोधन सम्झौता

सफल खबर संवाददाता

आइतबार, २६ फागुन २०७५, १७ : २८
खानेपानीको क्षेत्रमा ठूलो उपलब्धि : मर्दी खोलाको पानी प्रशोधन सम्झौता

काठमाडौं । नेपाल खानेपानी संस्थान र निर्माण कम्पनी हाजमा एन्डो कर्पोरेसन बीच पोखराको मर्दी  खोलाको पानी शुद्धीकरणका लागि महत्त्वपूर्ण सम्झौता भएको छ । संस्थान र हाजमा कम्पनी बीच भएको द्विपक्षीय सम्झौतामा पोखराको मर्दी खोलालाई प्रशोधन गरेर शुद्धीकरण गरिने र पिउनका लागि योग्य बनाइने उल्लेख छ ।

पोखरा क्षेत्रको खानेपानी  सुधारका लागि जापान सरकारले नेपाल सरकारलाई अनुदान स्वरुप ४ अर्ब ८१ करोड रुपैयाँ सहयोग गर्ने सम्झौता भएको थियोे । यो अनुदान रकम सिभिल ठेक्काको लागि दिइएको संस्थानले जनाएको छ । जापानले दिएको कुल अनुदान रकममध्ये ४ अर्ब २१ करोडमा सिभिल कार्यका लागि जापानमै बोलपत्र आह्वान भएको थियोे । जसमध्ये हाजमा कम्पनीले अनुमानित लागत रकम भन्दा  ८ दशमलव २ प्रतिशत कममा बोलपत्र कबोल गरेको थियो ।

संस्थानको तर्फबाट महाप्रबन्धक डा. भुपेन्द्र प्रसाद र कम्पनीको तर्फबाट प्रोजेक्ट म्यानेजर हिदेकी ओइसीले सम्झौता गर्नुभयो । खानेपानीको क्षेत्रमा यो अहिलेसम्मकै ठुलो आर्थिक सहयोग भएको महाप्रबन्धक डा. भुपेन्द्र प्रसादले बताउनु भयो । यति धेरै रकम १३ वर्षको प्रयासपछि  पहिलो पटक नेपालले प्राप्त गरेको महाप्रबन्धक प्रसादले बताउनुभयो ।

सम्झौता अनुसार प्रतिदिन ४ करोड १० लाख लिटर पानी प्रशोधन गर्ने प्लान्ट मर्दी खोलामा राखिने र खानेपानी आपूर्तिका लागि १ सय किलोमिटर पाइप बिछ्याइने छ । त्यस्तै खानेपानी भण्डारण गर्न ३ वटा पानी पोखरी निर्माण गरिनेछ । पोखरा खानेपानी सुधार तथा विस्तारको लागि याचियो इन्जिनियरिङ्ग कम्पनी लिमिटेडले विस्तृत डिजाइन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस