यौनको चिन्ता र डिप्रेसनसँग के सम्बन्ध हुन्छ?

सोमबार, २० फागुन २०७५, २१ : ३१
यौनको चिन्ता र डिप्रेसनसँग के सम्बन्ध हुन्छ?

धरानबाट 'के'को प्रश्न - यौनको चिन्ता र डिप्रेसनसँग के सम्बन्ध हुन्छ?

यौन सम्पर्क शारीरिक कार्यजस्तो देखिए पनि मानसिक पक्षको उत्तिकै भूमिका छ। सामाजिक दृष्टिले अस्वीकार्य तथा सानै उमेरमा यौन दुव्र्यवहारमा परिएको छ भने कालान्तरमा यौनप्रति डर, चिन्ता एवं उदासीनता उत्पन्न हुन बेर लाग्दैन।

यौन सम्पर्कपछि कतिपय व्यक्तिले नरमाइलो वा उदासीपन महसुस गर्छन्। यसो हुनाको कारण चरम सन्तुष्टिपछि कतिपय व्यक्तिको मस्तिष्कमा सेरोटोनिन नामक रसायानिक पदार्थ हर्मोनको कमी भई उदासीपन निम्त्याउँछ। किनकि, सेरोटोनिनले सन्तुष्टि वा खुशीको भाव जगाउँछ।

उदासीपनविरुद्धको औषधिले पनि यौन सन्तुष्टिको उदासीपनलाई नघटाउने रहेछ। यौन सम्पर्कको बेला तुलनात्मक रूपमा निष्क्रिय मस्तिष्कभित्रको अमिग्डाला क्षेत्र चरम सन्तुष्टिपछि पुनः सक्रिय हुने हुनाले पनि यौन सम्पर्कपछि उदासीपन छाउँछ।

विश्व स्वास्थ्य संगठनले सन् २०२० सम्म डिप्रेसन दोस्रो प्रमुख रोग बन्ने अनुमान गरेको छ। समयमै सही पहिचान नहुने, रोग लुकाउने प्रवृत्ति तथा उचित उपचारको अभावमा थप जटिलता उत्पन्न हुन्छ। यसका कारण महिला–पुरुष दुवैमा यौन समस्या निम्तिन सक्छ। महिलामा यौनेच्छाको कमी तथा चरम उत्कर्षको समस्या हुन सक्छ।

 पुरुषमा यौनेच्छा कमी, यौन क्षमतामा कमी, लिंग उत्तेजनामा समस्या, शीघ्र स्खलनको समस्या हुन सक्छ। डिप्रेसनपीडितमा बढी खाने प्रवृत्तिले उत्पन्न हुने मोटोपनको कारणले पनि यौन चाहनामा कमी हुन सक्छ।

खिन्नता (निराशापन) क्षणिक हुन्छ, डिप्रेसन लामो समयसम्म रहन्छ। मनोपरामर्शका साथै मनोऔषधिको सेवनसँगै दम्पतीबीच अथवा सेक्स पार्टनरबीचका शंका–उपशंका हटाई यौन सम्बन्ध सुधार्नतिर ध्यान दिनुपर्छ। उपचारको क्रममा यौन सम्पर्कपछि उदासीपन छाउनुका अन्य कारण खुट्याउनुपर्छ।

 विगतमा यौन दुव्र्यवहार, यौन हिंसा खेपेका व्यक्तिमा यौन सम्पर्कपछि आत्मग्लानि वा पश्चातापको भाव उत्पन्न भई उदासीपन हुने हुनाले मनोपरामर्शको आवश्यकता पर्छ। यस समस्याबाट प्रभावित यौन साथीमा बिस्तारै यौन कार्यप्रति सकारात्मक भाव जगाउन सक्यो भने राम्रो हुन्छ। केही समयका लागि ठ्याक्कै लिंग योनि सम्पर्कबाहेकको यौन आनन्दका वैकल्पिक उपाय प्राक्क्रीडा एवं उदासीपन घटाउने औषधिले फाइदा पुर्‍याउँछ।

त्यसै गरी विवाहित दम्पती वा सेक्स पार्टनरबीच यौनसम्बन्धी डर, चिन्ता हटेन भने दाम्पत्य जीवनमा नकारात्मक असर पर्न सक्छ। सामाजिक रूपमा वर्जित यौन कार्य नौलो अनुभव वा भवितव्य तवरमा गरेको खण्डमा आत्मग्लानि वा पश्चातापको भाव उत्पन्न हुन सक्छ।

मानिसको आफ्नो प्रकृतिअनुसार यौनसम्बन्धी चिन्ता, डर पनि फरक–फरक हुन सक्छ। उमेर सुहाँउदो यौन शिक्षा, सुरक्षित सेक्स, यौन आनन्दका वैकल्पिक तरिका, आकस्मिक गर्भ निरोध, अनिच्छित गर्भबारे पर्याप्त जानकारी नहुनाले तथा असुरक्षित यौन सम्बन्धका परिणतिको उचित व्यवस्थापन भएन भने चिन्तित हुनु स्वाभाविक नै हो। त्यसो भन्दैमा चिन्ता गर्दैमा समस्या आपैmँ समाधान हुने होइन, समयमै उचित पहल नगरेको खण्डमा गम्भीर खालको मनोरोग निम्तिन बेर लाग्दैन।

सानै उमेरमा यौन दुव्र्यवहार वा यौन हिंसाबाट प्रताडित व्यक्ति (विशेषतः बालबालिका) बाहेक आपूmले मन नपराएको व्यक्तिसँगको विवाह वा वैवाहिक बलात्कारको घटनाले पनि यौनप्रति वितृष्णा जाग्न सक्छ। यो कुरा पुरुषको हकमा पनि लागू हुन्छ।

आफ्नो इच्छा बेगरको व्यक्तिको नजिकै बस्नुपर्ला, यौन कार्यसँग सम्बन्धित गतिविधि गर्नुपर्ला भन्ने चिन्ताबाट सदैव पीडित हुन्छ। निरन्तर रूपमा यस्तो प्रतिकूल वातावरण झेल्नु पर्दा मानसिक समस्या देखिन सक्छ। तर, गोपनीय, एकान्त वातावरणको अभाव, यौन साथीबीच आत्मीयताको कमी एवं यौन कार्यका लागि प्रतिकूल वातावरणले यौन सम्बन्ध स्थापित गर्न अल्पकालीन रूपमा चिन्तित तुल्याउने गर्छ। यस्तो यौन चिन्तामा व्यक्ति विशेषको अन्तर्निहित समस्या, अन्धविश्वास तथा शारीरिक स्थितिले पनि थपथाप गरेको हुन्छ।

कहिलेकाहीँ कोही–कोही मानिस अनावश्यक रूपमा र विषयमा त्यत्तिकै चिन्ता पालेर बस्ने हुन्छन्। कुनै मापन विशेष नभए पनि आफ्नो यौनांग सानो वा ठूलो, बांगो, योनिमार्ग सुक्खा वा बढ्ता रसिलो, योनि निकै कसिलो वा खुकुलो, कुमारीत्व बाँकी छ/छैन, विवाहेतर वा विवाहपूर्वको यौन सम्बन्धको निशानी छ/छैन भन्ने चिन्ताले ग्रसित भइरहेका हुन्छन्। यस्तै खाले चिन्ता शीघ्र स्खलन, हस्त मैथुन, उत्तेजनामा नआउने विषयलाई लिएर पनि हुन्छ।

पढाइकै क्रममा पर्याप्त यौन शिक्षा, किशोरावस्थामा वृहत्तर प्रजनन शिक्षाका साथै विवाहपूर्व तयारी एवं विवाहपश्चात्को यौन सम्बन्धबारे उचित परामर्श दिनुपर्छ। यौन हिंसा वा यौन दुव्र्यवहारबाट पीडित व्यक्तिको हकमा उचित मनोसामाजिक परामर्शको जरुरी हुन्छ।

 यौन चिन्ता पालेर बस्नुभन्दा यौन समस्याको प्रकृतिलाई विचार गरी यसको सामना गर्ने, उचित समाधान गर्नेतर्फ लाग्नुपर्छ। एकैचोटि लिंग योनि सम्पर्कमा ध्यान नदिई यौन कार्यको क्रममा प्रेमिल, आत्मीय व्यवहार, यौन भलाकुसारी, आलिंगनलगायत यौन आनन्दका वैकल्पिक उपाय अपनाउनुपर्छ। सम्पूर्ण बाट 

प्रतिक्रिया दिनुहोस