नथिया सच्याउन सर्वोच्चको आदेश

सफल खबर संवाददाता

सोमबार, २० फागुन २०७५, १५ : ५५
नथिया सच्याउन सर्वोच्चको आदेश

काठमाडौं । सरस्वती प्रतीक्षाद्वारा लिखित उपन्यास नथिया, विवेक ओझाद्वारा लिखित ऐलानी र चलचित्र पण्डित बाजेको लौरीलाई सर्वोच्च अदालतले संशोधन गर्न आदेश दिएको छ । फागुन १५ गते सर्वोच्चका न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा र बमकुमार श्रेष्ठको इजलासले उपन्यासमा प्रयोग भएका आत्मसम्मानमा ठेस पुर्‍याउने, जातीय विभेद जनाउने शब्दहरु हटाउन र बादी समुदायसँग माफी माग्न निर्देशनात्मक आदेश जारी गरेको हो ।

वादी समुदायको आत्मसम्मानमा ठेस पुर्‍याउने र राज्यले बादी समुदायमाथि प्रयोग गर्न नपाइने भनी किटान गरेका शब्दलाई ती कृतिबाट त्यस्ता शब्द हटाएर श्रष्टाले बादी समुदायसँग क्षमा माग्न माग निर्देशनात्मक आदेश जारी गर्न माग गर्दै मीना नेपालीसमेतका बादी अगुवाहरुले सर्वोच्चमा रिट दायर गरेका थिए । बादी अगुवाले माग गरेअनुसार नै सर्वोच्चबाट निर्देशनात्मक आदेश जारी भएको अधिवक्ता शशी बस्नेतले जानकारी दिइन् ।

उपन्यास र फिल्ममा बादी समुदायका पुरुषले माछा मार्ने, मादल बजाउने र श्रीमतीका लागि ग्राहक खोज्ने गरेको देखाइएको छ । तर, बादी समुदायमा विवाह गरेका महिलाले यौन व्यवसाय गर्दैनन् । तथ्य नै तोडमोड भएको भन्दै बादी समुदायले आपत्ति जनाएका हुन् । राज्यले बादी समुदायमाथि उच्चारण गर्न पाइँदैन भनेका शब्दलाई उपन्यास र फिल्ममा प्रमुख स्थान दिएकाले न्याय माग्दै अदालत गएको बादी अगुवा केशव नेपाली बादीले बताए ।

प्रतिक्रिया दिनुहोस