काँग्रेसभित्र चर्को विवाद

सभापति देउवाविरुद्ध कोइराला परिवारको मोर्चा खडा

सफल खबर संवाददाता

सोमबार, २० फागुन २०७५, १४ : ५४
सभापति देउवाविरुद्ध कोइराला परिवारको मोर्चा खडा

काठमाडौँ । पार्टी सभापति शेरबहादुर देउवाको कार्यशैलीलाई लिएर काँग्रेसभित्र चर्को विवाद सुरु भएको छ । देउवाले प्रकाशशरण महत जस्ता केही अराजनीतिक व्यक्तिलाई काखी च्यापेको भन्दै चर्को विवाद भएको हो ।

देउवाको कार्यशैली विरुद्ध रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला तथा पार्टीका महामन्त्री शशांक कोइराला समेत आजित भएका छन् । पार्टी संस्थागत तवरले नचलाएको, विगतमा गिरिजाप्रसाद कोइराला र सुशील कोइरालले जस्तै ज्यादती गरेको देउवाका आलोचकहरुले बताएका छन् । विगतमा आफूले संस्थापन पक्षबाट भोग्नु परेको जस्तै अहिले संस्थापन भएपछि अरुलाई गरिएको भन्दै देउवाको आलोचना मात्रै भएको छैन, पार्टी बैठक समेत नै बहिस्कार गर्नुपर्ने अवस्थामा पुगेको छ । बैठक बहिस्कार गर्नेमा पौडेल, सिटौला मात्रै होइन महामन्त्री समेत देखिएपछि देउवाले अन्तिम समयमा आएर केन्द्रीय कार्यसमितिको बैठक स्थगित गरिदिएका छन् ।

पछिल्लो पटक काँग्रेसभित्रको घर झगडाको बाहिर देखाउने कारण नेपाल विद्यार्थी संघको विवाद देखएिपनि भित्र भने आगामी महाधिवेशनबाट नेतृत्व हत्याउने एजेण्डा नै हो । पार्टी सभापतिमात्रै होइन महामन्त्री पनि एक अर्काप्रति आरोप प्रत्यारोपमा उत्रिएका छन् । एउटाले हैसियत नभएको बताएको छ भने अर्कोले काँग्रेस कोइराला परिवारको पेवा नभएको बताएको छ ।

देउवाले आगामी एक कार्यकाल समेत सभापति बन्ने इच्छा राखेको उनका निकटवर्ती नेताहरुको भनाइ छ । तर देउवाको उक्त इच्छा पूरा हुन नदिने योजनामा कोइराला खलक लागेको छ । सुजाता जोस्टदेखि शेखर, शशांकको गठबन्धन बनेको छ । कोइराला परिवारको विरासतमा काँग्रेसलाई अगाडि बढाउने भन्दै यो समूहले आगामी महाधिवेशनमा देउवा विरुद्धको मोर्चा खडा गर्ने बताएको छ ।

देउवाविरुद्ध कोइराला परिवारको मोर्चा खडा गर्दा सबैभन्दा बढी समस्यामा रामचन्द्र पौडेल पर्नेवाला छन् । कहिल्यै पार्टी सभापति समेत बन्न नपाउने नेताको रुपमा उनको नाम दर्ज हुनेवाला छ । प्रधानमन्त्रीमा १७ पटक निर्वाचन हारेको रेकर्ड राखेका पौडेल सभापति नै हुन नपाई काँग्रेसबाट पलायन हुनुपर्ने बाध्यता आइलागेको छ । कोइराला परिवार काँग्रेसको नेतृत्व आफूहरुले अगाडि बढाउने भन्दै देशव्यापी रुपमा अगाडि बढेको, पौडेलको पक्षमा कोही पनि नभएको तथा देउवाको आफ्नै समूह रहेको अवस्थामा सबैभन्दा मर्कामा उनै पौडेल पर्नेवाला छन् । पौडेललाई साथ दिने कुनै पनि नेता सतहमा देखिनै छैनन् ।

कुनै पनि राजनीतिक अडान नभएका र कुनै पनि क्षमता र राजनीतिक रुपमा योग्यता समेत नभएका पौडेललाई साथ दिएर राजनीतिक करियर सिध्याउने पक्षमा कोही पनि छैनन् । राजनीतिमा एउटा आशावाद हुन्छ, तर पौडेलमा न त राजनीतिक आशावाद रहेको छ, न त उनले कुनै नेता तथा कार्यकर्ताको संरक्षण नै गर्न सक्छन् । उनले केवल आफ्ना लागि मात्रै केही गर्छन्, अरुका लागि केही पनि गर्न सक्दैनन् । उनले सम्धीलाई जागिर खुवाउन सक्छन्, छोरालाई जागिर खुवाउन सक्छन् । तर आफ्ना भनेर लागेका कुुनै पनि नेता तथा कार्यकर्ताको संरक्षण र समेत गर्न सक्दैनन् ।

दक्षिणपन्थको बाटोमा हिँडाउने प्रयास
हिन्दू राष्ट्रको नारामा काँग्रेसलाई दक्षिणपन्थको बोटामा हिडाउन लागिएको छ । त्यसमा महामन्त्री शशांकको बढी हात रहेको छ । उनी र विगतमा खुमबहादुर खड्काको नजिक रहेकाहरु हिन्दू राज्यको विषयमा अगाडि बढेका छन् । उनीहरु पहिले हिन्ुदु राज्यको कुरा गर्ने र अन्त्यमा राजतन्त्र समेत फिर्ता गराउने कमल थापा मार्गमा अगाडि बढेको राजनीतिक क्षेत्रका जानकारहरुको भनाइ छ ।

काँग्रेसले विगतमा राजनीतिक आन्दोलन र जनताको दबावमा मात्रै आफूलाई गणतन्त्रवादीको कित्तामा उभ्याएको थियो । त्यसमा गिरिजा प्रसाद कोइरालाको ठूलो योगदान रहेको थियो । तर यतिखेर देशमा कम्युनिस्ट पार्टीको सरकार रहेको र प्रजातन्त्र र लोकतन्त्र धरापमा परेको भन्दै केही दक्षिणपन्थी शक्तिले काँग्रेसको एउटा तप्कालाई दक्षिणपन्थको हावा भराएको छ । त्यसको मतियार बनेका छन् शशांक । उनले भारतका जातिवादी र हिन्दू अतिवादीहरुसँग सम्पर्क बढाएको पनि काँग्रेसका जानकारहरुको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस