नागा बाबा के हो? अघोर पन्थ के हो? नागा बाबाको नग्नता के हो?

सोमबार, २० फागुन २०७५, १२ : ५८
नागा बाबा के हो? अघोर पन्थ के हो? नागा बाबाको नग्नता के हो?

- वल्लभ चैतन्य दास

महत्वपूर्ण कुरो ज्ञान हो। वैदिक सनातन हिन्दु धर्म के हो? नागा समुदाय के हो? किन नग्न छन? नग्नता र अश्लिलतामा के फरक छ? बुझ्न आवश्यक छ। लेख लामो छ तर धैर्यपूर्वक विशेषगरी नागाबाबाहरूप्रति अज्ञानवश घृणा पालेकाहरूले यो लेख मनन गरिदिनुहुन अनुरोध गर्दछु।

नागा समुदाय के हो?
भगवान शिवजीलाई बौद्ध, हिन्दु, जैन, शिख सबै सनातन समुदायले मान्छ, तन्त्र, योग, गुह्य-तन्त्र सबैको स्रोत भगवान शिव हुन् र शिवजीका अनुयायीहरूलाई शैव भनिन्छ। प्राग-ऐतिहासिक कालमा हिमवत क्षेत्रमा फैलिएको शामनिजम सभ्यताको बिस्तृत रुप शैव हुन। बोन्पो, पच्यु, घ्याब्री, किराँत,धामी-झाँक्री सबैको श्रोत शिव हुन। नेपालको हिन्दु शिव मार्गी, बौद्ध शिव मार्गी, बोन्पो शिव मार्गीले शिवजीको हजार रुपको फरकफरक रूपमा फरकफरक प्रकारले फरकफरक तिथिमा आआफ्नै बिधिमा साधना गर्दछन। त्यस्तै तामिल शिव मार्गी, कस्मिर शिव मार्गी, उत्तर भारती शिव मार्गीले आआफ्नो मौलिकतामा आरधाना गर्दछ।

नेपालको पशुपतिनाथ मन्दिरमा महाशिवरात्रीमा बर्षको एकपटक सरकारकै निमन्त्रणामा भारतबाट शिवभक्त नागाबाबाहरू आउने गर्दछन। यो नागाबाबा नेपालमा आउनु, नेपालको धर्म संस्कृति मेट्न तल्लीन फुस्राहरुलाई पनि एउटा पर्व नै भएको छ।

नागा समुदायका संस्थापक आदि जगतगुरु शंकराचार्य हुन्। आठौं शताब्दीतिर जब पश्चिमबाट तरबार उचाल्दै इस्लामी अतिक्रमण बढ्दै आए अहिलेको अफगानिस्तान पाकिस्तान पहिलो निशानामा पर्यो, त्यहाँ भएको हिन्दु बौद्ध समुदायलाई जबर्जस्ती इस्लाम बनाएर मठ मन्दिरदेखि प्रशिद्ध बौद्ध बिश्वबिद्यालय तक्षशिला बिहार तोड्दै इस्लाम कबुल गराउदै सिन्धु-नदि तर्दै अगाडि बढ्दै आएर भारतभित्र उथलपुथल मच्चिरहेको संगिन घडीमा प्रतिरोध गर्न शास्त्र र शस्त्र दुबैबाट दिक्षित यी नागाबाबाहरूको शिवभक्त दस्ता खडा गरिएको थियो। यसरी जगतगुरु आदि शंकाराचार्यले सनातन धर्मको रक्षाको निम्ति मर्न तयार भएको सेना खडा गरे, जसले आफु स्वयं मरिसकेको घोषणा गरेर आफ्नो पिण्ड आफैं दान गरेर संसारिक भौतिक सुख माया मोह मृत्यु सबै त्यागेर अखाडामा प्रवेश गर्ने नागा बाबा तत्कालीन हतियारधारी सनातन धर्मको रक्षक सैन्य नै आजको नागा बाबा परम्परा हुन। भारतवर्षको इतिहासमा कयौंपटक स्थानीय राजा-महाराजले युद्ध भएको बखत अखाडामा बस्ने नागा बाबाहरुको सहयोग लिएर युद्ध जितेको देखिन्छ भने अहमद शाह अब्दालीले मथुरा-वृन्दावनमा आक्रमण गरेर गोकुलमाथि आक्रमण गरेको बेला चालिस हजार नागा बाबाले युद्ध गरेर गोकुलको रक्षा गरेका थिए।

नागाबाबाहरूले पशुपतिनाथको जीवनकालमा एकपटक अनिवार्य दर्शन गर्नुपर्ने मान्यता हुन्छ त्यसैले बर्षमा एकपटक महाशिवरात्रीको पर्वमा नेपाल नेपालीहरूकै निमंत्रणामा आउने गर्दछन।
यसरी नागा बाबाहरू वैराग्य लिएका शिव भक्त हुन, हाम्रो वैदिक हिन्दु सनातन धर्मका रक्षक थिए र हुन।

नग्नता प्रदर्शन ? 
पहिलो कुरा त यो अध्यात्म हो भौतिकबाद हैन। कुरो मन, बुद्धि, चित्तले बुझ्नु पर्यो, भौतिक इन्द्रियको धरातलबाट हैन। के मानव विष्टा घृणित छ? तपाई वा मेरो चेतनाको धरातलमा होला तर तपाई वा मलाई पनि कुकुर शरीरभित्र घोक्रयाईएमा मानव विष्टा खान मन लागेर र्याल आउनेछ।

यही परिप्रेक्षमा भगवान श्रीकृष्णले भागवत गीताको दोस्रो अध्यायको ६९औं श्लोकमा भन्नुहुंछ :
“या निशा सर्वभूतानां तस्यां जागार्ति संयमी
यस्यां जाग्रति भूतानि सा निशा पश्यतो मुने:”
भगवान श्रीकृष्ण गीता २-६०
अर्थात, “जुन सबै सांसारीक जीवहरूका लागि रात्री हुंछ त्यसमा आत्मसंयमी पुरुष जागृत हुंछन भने सबै सांसारीक जीवहरू जे लाई दिन भंछन, त्यो मुनीका लागि रात्री हुंछ।”

आफ्नो चेतनाको निर्क्यौल नै सर्वोपरि ठान्नु अहंकार हो। तपाईले देखेको दिन साधु-सन्तको लागि रात हो भने तपाईको चेतनाले ठहर्याएको रात साधु-सन्त र मुनिहरूका लागि दिन हुन जान्छ। अब यहाँ तपाईको चेतनाले जे देख्यो त्यही सही ठहर्याउदै केही उच्छ्रिखल युवाहरूको झुण्डले विचारा एक्लो साधुलाई पिट्छ/कुट्छ अनि यस्तो कार्यको तपाई आफुलाई हिन्दु भन्दै सही मान्नुहुंछ भने तपाई कुन अनुहारको हिन्दु हो? जसले साधु-सन्त, गुरुप्रति श्रद्धा गर्ने संस्कार नै पाएको छैन, त्यसले हिंदुत्व बुझेको छ भनेर कसरी पत्याउने?

तपाईले टाउको फोड़ने नाबिल बैंकको CEO को पद तपाईभंदा धेरै सानो चेतना बोकेको गिद्धले आफ्नो सिनोको मासुको अघि तुच्छ ठान्छ त्यस्तै तपाईभंदा उच्च चेतना बोकेका वृन्दावनका सन्तहरूले प्राप्त गरिरहेको ईश्वरीय प्रेमारस तपाईलाई तपाईको नाबिल बैंकको CEO को पद अघि तुच्छ लाग्ला।

पहाड़को टुप्पोमा बस्नेले जे देख्छ फ़ेदमा बस्नेले त्यही देख्दैन तसर्थ प्रश्न यहाँ चेतनाको छ, गुण/वस्तुको हैन। तपाईको चेतनामा टाई/सूट भौतिक नग्नता छोप्ने आँचल होला तर अन्यको चेतनामा तपाईको टाई-सूट त वास्तबिकता छोप्ने झूठ हो। तसर्थ चेतना परिवर्तन गर्नुहोस। तपाईले जे ठीक/बेठीक देख्दै हुनुहुंछ त्यो तपाईको चेतनाको धरातलीए कोणको ठीक-बेठीक हो, तपाई र तपाईको झै चेतना बोकेका झुण्ड जसको भिड़मा तपाई बस्नु हुंछ त्यो धरातलको निर्क्यौल हो। तर वास्तविकता अर्कै छ, कोही अन्य पनि छन तपाईको र तपाईको झै चेतना बोकेका झुण्डहरूको चेतनाको धरातलभंदा धेरै माथि उठिसकेका।

नेप्टेहरूको गाउँमा नाक भएको व्यक्ति गएमा “नक्कु” भनेर लखेट्छन। यी नागाबाबाहरूको कसूर यति म देख्छु कि नेप्टेहरूको गाउँ अर्थात पशुपति परिसर छोडेर अलि बाहिर निस्केछन तर यो बाहिर त आर्य हिन्दुहरूको निवास भएको नेपाल हैन र?

महादेव के नाङ्गै हिड्छन?
महादेवको अनुशरण गर्ने हो, महादेवले भनेको कुरो मान्नु हो, महादेवको नक्कल गर्ने हैन। महादेवले त के के गर्छन गर्छन, तपाई महादेव हो???
महादेवले गुणातीतको व्याख्या गर्नुभएको छ। गुणदेखि माथि उठ्न आदेश दिनुभएको छ। राम्रो, नराम्रो, मीठो, गुलियो, मोटों, दुब्लों, नाङ्गो, छि छि, आहा आदि सबै गुणहरू हुन।

जसरी अन्तरिक्षमा पुगेपछि माथि/तलको अस्तित्व हुदैन त्यसरी नै गुणातीत अर्थात गुणदेखिमाथि उठेपछि यी गुणहरूको मतलब हुदैन। उदाहरणको लागि दिसा जाँच गर्ने डाक्टरले दिसालाई carbon compound देख्छ, ऊ दिनभरी दिसासंग नै हुंछ, उ दिसाको “घृणा” भन्ने गुणदेखि गुणातीत भयो तर तपाईजस्ता साधारण बुद्धिकाले “हेर यो डाक्टर फोहोरी, दिसासंग खेलेर समाजलाई के शिक्षा दिन खोजेको, लखेट यसलाई!” भन्ला। यही यो चेतनाको स्वरूप। भगवान भोले बाबा शंकरले गुणातीत हुने आदेश आफ्ना अनुयायीहरूलाई दिनुभएको छ। गुणातीत हुने प्रयासमा अघोर साधुले विष्टा वा मानव-लासको मासु पनि खांछन। तपाईजस्ता सांसारीक गुणको आधिनमा रहेकाले छि छि गर्छन, आफु झै भोंक लागेर खायो होला भनेर बुझ्छन तर उसले त घृणा, डर जस्ता गुणदेखि माथि उठ्ने साधना पो गरिरहेको छ, प्रत्यक्ष भोले बाबा शंकरको आदेशको पालन गरिरहेको छ। नाङ्गो रहनु उसले तपाईलाई देखाउन हैन, यो समाजको झूठ बाहिरी छाला छोप्ने अनि नश्वर शरीर छोपि छालाको सुन्दरतामा मोहित हुने सांसारीक गुणदेखि माथि उठने साधनाको लागि भोले बाबा शंकरको गुणदेखि माथि उठ्ने आदेश बमोज़िम नै गरेको हुंछ।

२/३ कक्षाका विधारथीहरू १० कक्षाका दाईहरूले विज्ञानको प्रयोगशालामा गरेको परीक्षण देखि दाईंहरू किन पानी उमाल्छन भनि दंग नै पर्छन। कोही कोही मूर्खहरू यी दाईंहरूलाई प्रयोगशालामा छिर्न नै नदिनुपर्छ पनि भन्लान।

शास्त्रोचित भएन ?
शास्त्रको नै कुरा गर्नु हुंछ भने श्रीमदभागवत महापुराण पढनुहोस, त्याहा भगवान श्रीविष्णुका अवतार भगवान ऋषभदेवको बारेमा अध्ययन गर्नुहोस। भगवान ऋषभदेवले परम वैराग्य प्राप्त गरी वस्त्र समेत परित्याग गरेका छन भने त्यही ऋषभदेवको अनुयायीहरूलाई हाल जैन धर्म भनिन्छ जहाँ गुरुहरू वर्तमान समयमा पनि वस्त्र त्याग नै गरेका हुंछन। जैन धर्मको ईतिहास ६० हज़ार वर्षको छ। तपाई हिजो जन्मेको फुच्चेले त्यति लामों वस्त्र त्यागको दर्शन माथि तपाईको व्यक्तिगत सोच लादनु अज्ञानी अहंकारको धोतक हो।

हेर्नुहोस, सनातन धर्म विशाल छ। यहाँ अनेकौ पथहरू छन। वैष्णब छ, शाक्त छ, शैव छ, निराकारबाद छ। सयौं दर्शन छन, अनगिन्ती गुरुहरू छन। सबै पथहरूको लक्ष्य एक भएपनि साधना पद्धति फरक़ फरक छ। मूलरूपमा पहिलो यम, नियम साधनाको लक्ष्य एकै हुंछ, गुणातीत हुनु अर्थात गुणदेखि माथि हुनु।

मैले अर्थात म वल्लभ चैतन्य दासले अनुशरण गरेको पथ वैष्णब हो। यो पथमा सतो गुणको धरातलमा शुद्ध आहार शुद्ध संग आदिमा बसेर सतो/रजो/तमों तीनै गुणदेहरूदेखि माथि उठने साधना गरिंछ। गुणातीत हुने यो वैष्णब पथमा लसुन-प्याज़/मांसाहार गर्दैनन, स्वयंपाक्य पनि हुंछन, निरन्तर जपध्यानमा रहनछन. वस्त्र पनि सतोगुणी नसिलाएको लगाउछन तर मूल आधार लक्ष्य एक, त्यो हो गुणदेखि माथि। म मेरो वैष्णब साधनामा दत्तचित्त भै सकेसम्म प्रयासरत छु, मेरो वैष्णब पथले जे लगाउ भंछ त्यही लगाउछु, वस्त्र त्याग गर भनेको भए त्याग नै गर्थे।

यस्तै अन्य पथहरू पनि छन अघोर साधना, नागा आदि। यहाँ पनि मूल आधार लक्ष्य त्यही हो गुणदेखि माथि उठनु तर यो पथका साधकहरू तमोंगुणको धरातलमा बसेर गुणदेखि माथि उठने साधना गर्दछन। तमोगुणको धरातलमा वस्त्र पूर्ण परित्याग गर्छन। स्त्री सम्भोग गर्छन तर तपाई झै वीर्य पतन हैन तान्ने क्रिया गर्दछन, मानवलासको मासु अथवा विष्टा पनि खाईदिन्छन, खप्परमा पानी पिउछन, तन्त्र मन्त्रद्वारा प्रेतवशमा गर्ने साधना गर्छन आदि तर यो सबैको लक्ष्य गुणदेखि अतित भै शिवमा लीन हुनु हो। यो तपाईले गरे झै मन परेर तपाई झै मनको वशमा परेर गरेका हैंनन, साधना गरेका हुन।

संस्कृतिमाथि प्रहार ?
तपाई कृपया “मलाई मन परेन” भनेर रटेर नबस्नुहोस, फेरी तपाईलाई देखाउन यी बाबाहरू आएका पनि हैनन। उनीहरू त वर्षको ३६५ दिनमा १ दिन मात्र आफ्नो प्रिय भोलेबाबाको दिनमा भोले बाबा उत्पत्ति भएको स्थान पशुपतिनाथमा आएका हुन। उनीहरूलाई न नेपाल भन्ने मतलब छ न भारत, मतलब छ त आफ्नो भगवान शंकरबाबा त्यो पनि १४७१८१ वर्गकिलोमीटरको नेपालमा मात्र १ वर्गकिलोमीटरको पशुपति क्षेत्रमा आएका हुन त्यो पनि नेपालको निमन्त्रणामा नै। अब १४७१८१ वर्गकिमीको नेपालमा १ वर्ग किमीको क्षेत्रमा त्यो पनि तपाईकै देश नेपालको निमंत्रणमा ३६५ दिनमा मात्र १ दिन आउदा कसरी तपाईको संस्कृति नाश भयो? तपाईको disco, bar, pub मा आएका छन र? वास्तबमा भन्ने हो भने भोले बाबा शंकर त्यो पशुपतिनाथमा तपाई हैन यी भक्त बाबा नै जाँदा खुशी हुनुहुंछ।

“वैष्णाभानाम यथा शम्भो” भनेर भागवत भंछ अर्थात “वैष्णबहरूमा परम वैष्णब शम्भु हुन” भने म एक वैष्णब साधक हु। वैष्णब आफुलाई सबैको दास मांछ त्यसैले मेरो सांसारीक नाम विनय जंग वहादुर राणा भएता पनि वल्लभ चैतन्य दास अर्थात “दास”को धरातलमा आफुलाई उभ्याउने साधनामा साधनारत छु। यस्तो परिप्रेक्षमा परम वैष्णब भोले बाबा शंकरका दास नागा बाबाको त म पक्का दास हुने नै भए। वहाँहरु अर्थात मेरो भोले बाबाका भक्तहरू मेरो घरमा आउनुभए त म आफ्नो अहोभाग्य नै ठान्छु।

अर्को कुरो, आफुलाई कति नै सभ्य सम्झि त्यो नागा बाबाको लिंगको तुलनामा वाहिरवाट साबुन दलेर सफा देखाइएको तर के थाहा कतिजनासंग लसपस भएको गन्हाउने अशुद्ध फोहोरी लिङ्ग झुन्डाउने अनि कुरो भने लिंग नै छैन झै गर्ने तपाई जस्ता कठोर हृदयीहरूको पनि मेरो वैष्णब शिद्धांत अनुसार म दास नै हो, तपाईलाई पनि मेरो घरमा स्वागत नै छ।

अन्तिममा
प्रथमतः तपाई जन्मदा नाङ्गै जन्मनुभाथ्यो, मर्दा नाङ्ग्गै जलाउछन भन्ने बुझ्नुस, मान्छे बाहेकका कुनै पनि प्राणीले वस्त्र धारण गर्दैनन, अनि मान्छे बाहेकका कुनै पनि प्राणीमा बलात्कारको घटना हुँदैन। नागा बाबाहरूको फोटो संकलन गरेर मानसिक दरिद्रताको परिचय नदिनुस, बरु नागाबाबाले अंगालेको अद्धैतबादको उच्चतम दर्शन पट्टी नजर लगाउनुस, मनन गर्नुस, चिन्तन गर्नुस जीवन धन्यभागी हुनेछ ।

भगवान महाविर, भगवान बुद्धको समकालीन बुद्धपुरुष हुन, दुई पटक महाविर र बुद्धको भेट भएको छ मौन स्थितीमा, भगवान महाविर नग्न स्थितीमा थिए बुद्धलाई भेट्दा, बुद्धलाई पाच्य भयो, पाच्य नहुने त बुद्दुहरुलाइ हो। जैन दर्शन, हिन्दु र बौद्ध जत्तिकै आध्यात्मिक गहिराइ बोकेको दर्शन हो, ६० हजार वर्षको लामो परम्परा बोकेको छ जैन धर्मले, हिन्दु र बौद्धमा अवतार भने जस्तै जैन परम्परामा तिर्थकंरको अवधारणा छ, २४ तिर्थकंर भए, प्रथम ऋषभ र अन्तिम महाविर। बौद्ध-धर्मको तीन परम्पराहरु हिनयान, महायान र बज्रायान भए जस्तै जैन परम्परामा दुइ प्रमुख धार छन, दिगम्बर र स्वेताम्वर। स्वेताम्वरहरु सेतो वस्त्र लगाउछन भने दिगम्बरहरु नग्न बस्छन, हजारौं वर्षको परम्परा छ यसमा। एउटा अदभुत आध्यात्मिक उचाई छ नागा परम्परामा, जसलाई बुझ्न दृष्टि र समझ चाहिन्छ । यो धर्तिको एउटा सानो कणको रुपमा तपाई हामी हो, अनि यो धर्तीको सानो अंशको रुपमा तपाईंको धारणा निरपेक्ष सत्य हो भन्ने तपाई ठान्नु हुन्छ भने त्यसको ओखती मसंग छैन र विश्वको कुनैपनि बैज्ञानिक वा मनोबैज्ञानिकसंग पनि छैन।

एउटा विज्ञान छ " गेस्टाल्ट साइन्स", रहश्यवादको दुनियामा यो निकै चर्चित छ। यो विज्ञानले के भन्छ ? मानौं मध्यरात छ, आकाशमा कहिं एउटा बादलको झुन्ड छ, केहि मानिसहरु बादलको त्यो झुन्डलाइ हेरिरहेका छन, अब ती मानिसहरुले उक्त बादलको झुन्डलाई कस्तो स्वरुप देख्छन त ? गेस्टाल्ट भन्नुहुंछ : एउटा डरपोक-कायरले भुतको स्वरुप देख्छ, एउटा फिल्म डाइरेक्टरले सुन्दर हिरोइनको स्वरुप देख्छ, एउटा कामुक व्यक्तिले नग्न स्त्रीको स्वरुप देख्छ।

कुनै पनि चिज वा दृश्यलाई तपाईंले देख्ने बिकृती तपाईंको मन, मनस्थिति र चिन्तनको प्रतिविम्व हो। त्यहि दृश्यलाई अर्को व्यक्तिले आफ्नै मनस्थिति र चिन्तन अनुसार अर्कै देख्न सक्छ अनि तपाईंको मनस्थिति र चिन्तन नै एकमात्र निर्विकल्प सत्य हुन सक्छ ? कटु सत्य के हो भने बिकृत ती नागा बाबा होइनन, हाम्रो यौन कुन्ठाले ग्रसित चिन्तन र मनस्थिती हो, यहि विषयलाई उप्काएर कुनै दक्ष मनोविष्लेसक कहाँ जानु त तपाईंको बारे के भन्छ उसले?

नागाबाबा तपाइलाई आफ्नो शरीर देखाउन नांगो भएका होइनन, न त अरु कसैलाई प्रदर्शन गर्नको लागी हो, न त धन प्राप्तिको लागी नै हो। ऊ हामीलाई देखाउनको लागी नाङ्गो भएकै होइन भने उसलाई घोरिएर हेर्ने हाम्रो दोष कि उसको? चट्टानमा टाउको ठोके पछि दोष चट्टानको हुन्छ कि टाउकोको? तपाईंको टिप्पणीहरूले नागा बाबाहरूको उच्चतम परम्परा, पुर्वीयदर्शन, आध्यात्मिक समझ र अद्धैतवादी दर्शनको वारे तपाइ नितान्त सतही र मुर्ख हुनुहुन्छ भन्ने खबर दिन्छ। नागाबाबाहरुले आफु अस्तित्वको सानो अंश भएको, नांगै यो धर्तीमा आएको र नांगै जाने सत्य बोध गर्दै आफुलाई पुर्णत: अस्तित्वमा समर्पित गर्ने उच्चतम मार्ग अवलम्बन गर्दछन, बरु पाखन्डी र अबुझ त हामी पो हौं।

अर्को कुरा, पशुपतिनाथ आध्यात्मिक साधकहरुको लागी हो सांसारिक जिवनमा लम्पटहरुको लागी होइन, सांसारिकहरुको लागी त यत्रा डान्स बार, नाइट क्लब, क्यासिनो, पब, फिल्महल, अबैध वेश्यालयहरु खुलेका छन। आध्यात्मिक साधकहरुको स्थलमा घर-वस्ती वसाल्ने, सरोकार नै नरहेको स्थलमा बिना काम र प्रयोजन डुल्न जाने अनि वर्षको सिर्फ एकदिन पनि “नागावावाहरू पशुपतिनाथ आउन पाउनुहुन्न” त्यो पनि केवल पशुपतिनाथ मन्दिर परिसर भित्र, भन्नु मुर्खतापुर्ण हो कि बुद्दिमानी हो? के नागा बाबाहरु रत्नपार्क, शहिदगेट, न्युरोड, असन लगायतका सार्वजनिक स्थल वा सांसारिक मान्छेहरुको अड्डाहरु डान्सबार, नाइट-क्लब, क्यासिनो, पब, फिल्म हल, अबैध वेश्यालय आएका छन? उनिहरु पशुपति आएका हुन कि पशुपति वरिपरिका वस्ती हेर्न आएका हुन? साँसारिक मानिस हरु पशुपति किन जानु पर्या छ?

सांसारिकहरु वा भनौ आध्यात्मिक चिन्तनसंग सरोकार नभएकाहरु पशुपतिनाथ जानु भनेको नागा साधुहरु डिस्को वा नाइट क्लब आउनु हो। नागाहरुले डिस्को, नाइटक्लब, बेश्यालय, क्यासिनो धाउनेहरुलाई कुनै अबरोध त गरेका छैनन। सांसारिक जीवन व्यतित गर्नेहरुको दिनचर्याप्रति कुनै टिप्पणी वा हस्तक्षेप त गरेका छैनन नी। ख्याल गरौं यो दुनियामा हमेशा मुर्खहरु को बाहुल्यता हुन्छ? नागाबाबाबारे भएको कमेन्ट session बाट पनि यो स्पष्ट हुन्छ। कमेन्टमा मैले देखिरहेको छु “नागाहरुलाइ काट्नु पर्छ, लखेट्नु पर्छ, लिङ्ग काट्नु पर्छ ...”, मानौं कि यो देशको सम्पुर्ण बर्बादी नागाहरुले गरेका हुन .... ! कुनै नागा कसैको घरमा घुसेर मेरो नग्न शरीर हेर भन्न आएको छ? १ लाख ४७ हजार १ सय ८१ बर्गकिलोमीटरको यो देशको सानो १ बर्गवर्गकिलोमिटरको भुभागमा वर्षको एक दिन पनि टेक्न दिनुहुन्न भन्ने छुद्र मनस्थिति भएकाहरु साँच्चै मनुष्य हुन कि अर्थोक हुन ? कोहि स्नान गरिरहेको बाथरुममा जबर्जस्ति घुस्ने अनि “किन नग्न शरीर देखाइस?” भन्ने उल्लुहरुलाई के भन्ने? मेरो स्पष्ट मत छ : शिवरात्रीमा नागाहरुलाइ लखेट्ने होइन। भगवान शिव यो धर्तीकै महान बैज्ञानिक हुन, अल्बर्ट आइन्सटाइन पनि शिवको छेउछाउमा आउँदैनन। शिवले प्रतिपादन गरेको तन्त्र बिज्ञानको एउटा अंग हो नागा-परम्परा, बरु आध्यात्मिक चिन्तनसंग सरोकार नराख्ने साँसारिक सुखभोगमा लम्पटहरु, भिडभाडको मौका छोपी स्त्रीहरुसंग ठोक्किने, स्तन समाउने ,पकेट मार्ने, अन्य चर्तीकला हेर्न जाने रमितेहरु अनि जुत्ता-चप्पल साट्न जानेहरुलाई पो लखेट्नु पर्छ । बास्तवमा नांगो नागाबाबा होइन यौन कुन्ठाले ग्रसित हामी र हाम्रो बिकृत मनस्थिति र चिन्तन हो, नागा परम्पराको चिन्तन अनुसार त यो समस्त अस्तित्व नै नागाहरुको वस्त्र हो - जुन आफैमा एउटा विराट चिन्तनको दशा हो। स्वयंलाई विराट अस्तित्वमा समर्पित गरिसके पछि वस्त्र धारण गर्नु र नगर्नुको कुनै अर्थ छैन, अर्थ त केवल हामी जस्ता पाखन्डीहरुलाई छ ।

प्रतिक्रिया दिनुहोस