हेलिकप्टर दुर्घटनाबारे सामाजिक सञ्जालमा उठेका केही प्रश्न

सफल खबर संवाददाता

विहीबार, १६ फागुन २०७५, १६ : ३३
हेलिकप्टर दुर्घटनाबारे सामाजिक सञ्जालमा उठेका केही प्रश्न

काठमाडौं । ताप्लेजुङमा पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित सात जना सवार हेलिकप्टर दुर्घटना भएपछि घटनाको छानविन गर्न सरकारले छानविन टोली गठन गरेको छ । सरकारले गठन गरेको छानविन टोलीले घट्नाको सत्यतथ्य बाहिर ल्याउने र दुर्घटनाको खास कारण पहिचान हुने आशा गर्न सकिन्छ । 

सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले यो घट्नालाई लिएर केही प्रश्नहरु उठाउन थालेका छन् । पाइलटसहित ६ सिटको हेलिकोप्टरमा ७ जना किन राखियो ? मौसम खराव हुँदाहुदै किन हेलिकप्टर उडाउन लगाइयो ? कस्तो अवस्थामा क्षमताभन्दा बढि लोड राखेर हेलिकोप्टर उडाउन मिल्छ ? यि र यस्तै प्रश्न सामाजिक सञ्जालमार्फत समाजका विभिन्न क्षेत्रका व्यक्तिहरुले उठाएका छन् ।

अकल्पनीय दुर्घटनापछि नेकपाका युवा नेता योगेश भट्टराईले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा यस्तो लेखेका थिए, “भीआइपी उडानमा पाइलट सहित् ५ जनाभन्दा बढी पाथिभरामा उडान गर्न मिल्दैन भनेर केहीलाई सुकेटार वा ताप्लेजुङ बजार मै झारेरमात्र पाथिभरा उडान गर्दै आएका छन् पाइलटहरुले । तर आज मौसम् खराब हुँदाहुदै ७ जनालाई लिएर किन उडान गरियो ? समयले उत्तर माग्छ ।”

म्यागासेसे पुरस्कार विजेता महावीर पुनले पनि हेलिकप्टर दुर्घटनाको कारण के हो ? भनेर प्रश्न गरेका छन् । महावीर पुनको स्टाटस,

आजको हेलिकप्टर दुर्घटनाको कारण यो पनि हो कि ?

डाइनेस्टी एयर हेलिकप्टर कम्पनीको वेबसाइटमा गएर हेर्दा तल दिईए अनुसार हेलिकप्टरमा पाइलट सहित ६ जनाको क्षमता भन्ने लेखेको छ। तर आजको दुर्घटनामा पाइलट सहित ७ जना भएको समाचार छ। यो कुराको पनि उत्तर खोज्नु पर्ला। कम्पनी कै वेबसाईटमा पाइलट सहित ६ जना बोक्ने भने को छ तर आज कसरी ७ जना बोक्यो ? त्यसमा पनि ३,७०० मिटर भन्दा अग्लो पाथिभरामा गएको र खराब मौसम छ भनेर पाइलटले भन्दा भन्दै किन उडाएको ?

यस्तै कुरा म आफैले पनि भोगेको कुरा हो। ७ बर्ष अगाढी दुई जना विदेशी पोखराबाट मेरो गाउँमा हेलिकप्टरमा जान लागेका थिए । त्यति बेला मैले मेरो श्रीमती र दुई जना छोरी पनि पोखरा बाट गाउँमा जान मिल्छ कि भनेर सोद्धा ७ जना हेलिकप्टरमा बोक्न मिल्दैन भनेर भनेका थिए। हुन त त्यति बेला त्यो हप्ता भरि नै मौसम खराब भएको ले हेलिकप्टरमा गएनौ । हिँडेर नै मेरो गाउँमा गएका थियौं । त्यहि आफुले भोगेको आधारमा आजको दुर्घटनाको कुरा लेखेको हो ।

सञ्चारकर्मी नारायण अमृतले फेसबुकमा राखेको स्टाटस यस्तो छ,
'मालिक' सहित मन्त्रीलाई बोक्नु छ ।  खराब मौसममा पनि उडाउनु पर्ने मनोबैज्ञानिक दवाव तन्नेरी पाइलटलाई पर्यो कि ? यस्तो प्रश्न मेरो मनमा मात्र हो कि अरूको मनमा पनि खेलेको छ ? टावरसँगको पाइलटको सम्वादले प्रश्न उब्जायो।

प्रतिक्रिया दिनुहोस