यौन प्रक्रियामा स्पर्शको के महत्त्व छ ?

आइतबार, १२ फागुन २०७५, २१ : २०
यौन प्रक्रियामा स्पर्शको के महत्त्व छ ?

डा. सुमनराज ताम्राकार

मानिसलगायत कुनै पनि जीवजन्तुको यौन प्रक्रियाको अन्तिम विन्दु लिंग–योनिको मिलन भए पनि यौन प्रक्रियाको सुरुवात यौन सोच, यौन परिकल्पना वा यौन परिदृश्यले गर्दा मस्तिष्कबाट हुन्छ। शरीरमा विभिन्न ज्ञानेन्द्रियबाट प्राप्त अन्य सूचनाजस्तै यौन सूचनाको संकलन, विश्लेषण एवं संयोजन मस्तिष्कले नै गर्छ।

र, प्रतिक्रियास्वरूप विभिन्न हर्मोन एवं रासायानिक पदार्थको माध्यमबाट आवश्यक यौन प्रतिक्रिया तथा शारीरिक हाउभाउ गराउन निर्देशन दिन्छ। यस क्रममा मस्तिष्कले आन्तरिक सूचनाको मात्र विश्लेषण होइन कि बाह्य वातावरण एवं सामाजिक मूल्य–मान्यता अनुकूल यौन प्रतिक्रिया जनाउन हुन्छ÷हुँदैन पनि विश्लेषण गर्छ।

यौनको मामिलामा दृश्यको अर्थात् आँखाको सुरुवाती भूमिका भए पनि स्वाद, श्रवण, बास्नाजस्तै स्पर्शको पनि उत्तिकै महत्त्वपूर्ण भूमिका हुन्छ। यसका लागि महिला–पुरुषमा यौन आकर्षणका दृष्टिले विभिन्न अंगप्रत्यंग छन्। बाल्यावस्थाबाट किशोरावस्थामा पुग्ने क्रममा महिला–पुरुषका मस्तिष्कमा विपरीत लिंगीप्रति आकर्षण उत्पन्न गर्ने गुण रहेका हुन्छन्। यसै कारण किशोरावस्थामा पुगेपछि विपरीत लिंगीप्रति आकर्षण बढ्न थाल्छ।

पुरुष महिलाको शरीरको गोलाइप्रति आकर्षित हुन्छन्। अनुहार, वक्षस्थल, काँध, नाइटो, कम्मर, पिँठ्यूका साथै ओँठ, गाला, आँखा, बोली, पहिरनबाट पनि आकर्षित हुन्छ। महिलाको लागि भने पुरुषको बलिष्ठ तथा सुगठित शरीर, चौडा छाती, सानो पुट्ठा, सुलुत्त परेको पेट, छाती तथा नाइटोमुनिको रौँ यौन आकर्षक लाग्छ। पुरुषको ओँठ, आँखा पनि आकर्षक नै मानिन्छ। कपितय महिलाले आफ्नो भावी पुरुष पार्टनरको लिंग ठूलो र लामो होस् भन्ने कामना गर्छन्। समग्रमा पुरुषको व्यक्तित्वले आकर्षित हुन्छन् महिला।

यसरी यौन प्रक्रियाको आरम्भ दृश्यकै माध्यमबाट विपरीत लिंगप्रति आकर्षण हुन थाल्छ। विपरीत लिंगीबाट सकारात्मक सिग्नल पाएपछि स्वाद, श्रवण, बास्नाजस्तै स्पर्शको पनि भूमिका सुरु हुन्छ।

मानव जीवनमा स्पर्शको आफ्नै महत्त्व छ। यौन जीवनमा आफ्नो यौन भावना प्रकट गर्न र यौन साथीलाई उत्तेजित बनाउन स्पर्शको योगदान छ। पुरुष र महिला दुवैको शरीरका यौनांगमा मात्र नभई शरीरभरि नै यौन संवेदनशील क्षेत्र छन्। तिनीहरूको स्पर्श, घर्षण मात्रले पनि यौन उत्तेजना जगाउन पर्याप्त हुन्छ।

वरिपरिको वातावरण तथा मानवीय सम्बन्ध विचार गरेर मात्र यौनका दृष्टिले स्पर्श गर्न सकिन्छ। स्नेहपूर्ण स्पर्श सर्वदा स्विकार्य भए पनि यौन स्पर्श चाहिँ यौन साथी वा दम्पतीबीच मात्र हुन सक्छ। यौनिक हिसाबले दृश्य, गन्ध वा ध्वनिको आफ्नै महत्त्व भए पनि जोसुकैलाई यौन परिकल्पना वा यौन परिदृश्यपछि वास्तवमा स्पर्श गर्न पाए कस्तो हुन्थ्यो होला भन्ने भोक हुन्छ।

यौन प्रतिक्रिया चक्रको अन्तिम गन्तव्य योनि–लिंग बीचको मिलन वा घर्षण हो। जुन यौनांग बीचको स्पर्शको पृथक रूप हो। यस अर्थमा स्पर्शबिना चरम सन्तुष्टि अर्थात् अर्गाज्म प्राप्त गर्न असम्भव प्रायः छ। यौनांग बीचको घर्षणबाहेक प्राक्क्रीडाको क्रममा अँगालो मार्नु, सुम्सुम्याउनु, चुम्बन गर्नु, दबाउनु, हल्का चिमोट्नु, कान टोक्नु, औँला टोक्नु सबै यौन स्पर्शका माध्यम हुन्।

धेरैजसो यौन दुव्र्यवहार वा यौन हिंसामा पनि स्पर्शकै भूमिका हुन्छ। सार्वजनिक स्थानमा तथा अपरिचित एवं नातेदारका यौन संवेदनशील अंगको स्पर्श सामाजिक दृष्टिले वर्जित काम हो। तर, पनि कतिपय पुरुषले सार्वजनिक यातायातमा विशेषतः बाह्य घर्षण कै माध्यमबाट क्षणिक यौन आनन्द लिने लालसा राख्छन्।

विशेष खालको कपडा, यौन खेलौनाको माध्यमबाट यौन आनन्द लिँदा पनि स्पर्शकै भूमिका हुन्छ। यसरी सफल यौन कार्यका लागि स्पर्श वा घर्षणको महत्त्व थाहा पाउनुबाहेक यसको गलत प्रयोगले निस्किने परिणामबारे जानकारी राख्नु बुद्धिमानी हुन्छ।

हतारमा यौन सम्बन्ध राख्ने हो भने, आफ्नो यौन पार्टनरले पनि अधिकतम यौन सन्तुष्टि प्राप्त होस् भन्ने चाहना नराख्ने हो भने त यौन प्रतिक्रिया चक्रमा स्पर्शको त्यति महत्त्व नहोला। तर, प्राक्क्रीडाको क्रममा स्पर्शको महत्त्व हुन्छ। प्राक्क्रीडामा स्पर्शको अधिकतम प्रयोग हुने भएकाले यसको महत्त्व छ।  सम्पूर्ण बाट

प्रतिक्रिया दिनुहोस