मन्त्रीहरुको मूल्यांकन गर्ने रिमाल के ‘सुपरप्राइममिनिस्टर’ हुन् ?

सफल खबर संवाददाता

आइतबार, १२ फागुन २०७५, १२ : ५०
मन्त्रीहरुको मूल्यांकन गर्ने रिमाल के ‘सुपरप्राइममिनिस्टर’ हुन् ?

काठमाडौँ । सरकार गठन भएको एक वर्ष पूरा भएको अवसरमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले मन्त्रीहरुको मूल्यांकन गरेको भन्दै सुझबुझपूर्ण तरिकाले एउटा तथ्यांक सार्वजनिक ग¥यो । तथ्यांकले धेरैजसो मन्त्रीलाई ‘पास मार्क’ दिएको छैन ।

मन्त्रीहरुको यो मूल्यांकन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको भनेर हल्ला चलाएपनि पर्दा पछाडिका निर्देशक हुन्, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल । आफूलाई ‘सुपर प्राइमिनिस्टर’ ठानेको भन्दै पूर्वएमाले कोटाबाट नै चरम रुपमा आलोचित विष्णु रिमाल प्रवृत्तिले बनाएको गलत, पूर्वाग्रही र ध्वंसात्मक तथ्यांकको रुपमा त्यसलाई लिइएको छ ।

चौतर्फी भाषणमात्रै गरेर हिँड्ने तर वरको सिन्को पर समेत नसार्ने विशेष क्षमता भएका ओलीका कारण सरकारको काम गर्ने शैली नै प्रभावकारी हुन सकेको छैन । ओलीको आफ्नै मूल्यांकन ऋणात्मक रहेको छ । ओली आफै कार्य सम्पादनमा असफल भएका छन् । रिमालले पास हुन समेत नसकेको अवस्थामा मन्त्रीहरुको हुर्मत लिने लक्ष्यका साथ प्रधानमन्त्री स्वयम्ले मूल्यांकन गरेको भनेर हल्ला चलाएका छन् ।

जानकार स्रोतहरुका अनुसार विष्णुृ रिमाल चौबीसै घण्टा के कसरी कमाउने भन्दा अरु कुरै गर्दैनन् । उनले प्रधानमन्त्रीलाई सघाउने काम गरेको दावी गर्दै ‘जसरी भए पनि पैसा कमाऊ, ओली गुटको रक्षा गर’ भन्दा अरु केही पनि गर्न छाडेका छन् । उनै रिमाल मार्काले जानीबुझीकन पूर्वमाओवादी केन्द्र निकटका मन्त्रीको कार्यसम्पादन कमजोर रहेको तथ्यांक योजनावद्ध तवरले सार्वजनिक गराएका छन् ।

रिमाल समूहले जानी बुझीकन मन्त्रीको क्षमता नभएको, राम्रो काम नभएको भन्दै हुर्मत लिन थालेको छ । मन्त्रालयका सचिव तथा उच्च पदस्थ कर्मचारीलाई बोलाएर मन्त्रीको पछाडि सुराकी खटाउने काममा रिमाल लागेका छन् । ठेक्का पट्टामा हात हाल्ने, मन्त्रीको हुर्मत लिने काममा नियमित जसो नै लागेका छन् । उनको तथाकथित मूल्यांकन संयन्त्रले मन्त्रीलाई सबैभन्दा नराम्रा पात्र, प्रधामनन्त्री मात्रै राम्रो भन्ने देखाएको छ । जुन सरासर गलत रहेको छ ।

रिमाल आफूलाई इन्जिनीयर भएको दाबी गर्छन् । उनकै लागि विवादास्पद व्यापारी एवम् ईसेवाका मालिक असगर अलीले बनाएको काइते सफ्टवेयरको प्रयोग गरेर माओवादीमात्रै नभई पूर्वएमालेभित्रका मन्त्रीका मन्त्रीलाई समेत असाध्यै खराब र कामै नलाग्ने देखाइएको छ । दैनिकजसो भाषण मात्रै गर्ने, समृद्धिको गफ दिने मात्रै काम गर्दै आएका ओली चाहिँ सफल, मन्त्रीचाहिँ असफल गर्ने जुन दृष्टिकोण र मूल्यांकन पद्धति अंगीकार गरिएको छ, यो कार्यचाहिँ शतप्रतिशत गलत रहेको बताइन्छ ।
राजनीतिक नियुक्तिमा झा चाहिने, कार्यकर्ता झापा  चाहिने, नीति योजना कार्यक्रम केवल झापाका लागि चाहिने, अर्थमन्त्री झापाका तर सरकार डुबउन महत्वपूर्ण र सक्रिय भूमिका खेलेका उनलाई चाहिँ मूल्यांकनमा उत्कृष्ट अंक पाउने तर अरुका लागि भने सबै फेल भन्दै गलत प्रचार गर्ने रिमाल र उनका केही मतियारको मूल्यांकनलाई स्वीकार गर्न नसकिने एक पूर्वएमाले निकटका मन्त्रीको भनाइ छ । ती मन्त्रीले भने, ‘प्रधानमन्त्रीले भनेको भए स्वीकार गर्न सकिन्थ्यो, तर ‘सुपरप्रधानमन्त्री’ बन्दै हिँडेका रिमालको मूल्यांकन स्वीकार्य छैन ।’
स्वतन्त्र रुपमा मूल्यांकन गर्ने हो भने पूर्वएमालेका भन्दा पूर्वमाओवादी केन्द्र निकटका मन्त्रीले चलाएको मन्त्रालयको भूमिका र प्रभावकारिता महत्वपूर्ण र दीर्घकालीन प्रभाव पार्ने खालको छ । पूर्वएमाले निकटका मन्त्रीहरु कामभन्दा पनि हल्ला गर्न सिपालु छन् । उनीहरु कालोलाई सेता र सेतोलाई कालो बनाउन असाध्यै सिपालु समेत रहेका छन् । उनीहरु काममा भन्दा पनि हल्लामा विश्वास गर्छन् ।
पूर्वमाओवादी केन्द्र निकटका मन्त्रीहरुले काम गरेपनि खुसुखुुसु गर्ने, हल्ला नगर्ने विशेष स्वभाव रहेको सिंहदरबारमा चर्चा हुने गरेको छ । कमाऊ धन्दामा पूर्वएमाले समूहका नेता तथा मन्त्रीमात्रै नभई माओवादी केन्द्र निकटका नेताहरु तथा मन्त्री समेत लागिपरेका छन् । कमाउने प्रतिस्पर्धामा पूर्वमाओवादी भन्दा पूर्वएमालेका मन्त्रीको भूमिका बढी रहेको जानकार स्रोतको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस