जागिर खाना थाले राउटे

पत्रपत्रिकाबाट

आइतबार, १२ फागुन २०७५, ०७ : ५९
जागिर खाना थाले राउटे

तस्विर : नागरिक

सुर्खेत । राउटेहरू स्पष्ट तीन मान्यता राख्छन्– खेतीपाती नगर्ने, लेखपढमा नलाग्ने र जागिर नखाने। आफ्नै मान्यताविपरीत पूर्वमुखिया महिनबहादुर शाहीसहित पाँचजना राउटेले शनिबार ‘जागिर’ सुरु गरेका छन्। पैसा छोए पाप लाग्छ भन्ने मान्यता राख्ने राउटे समुदाय अहिले पैसाकै लागि जागिर खान तयार भएका हुन्। सुर्खेतको लेकबेंसी नगरपालिकामा बस्दै आएका राउटे समुदायका पूर्वमुखिया महिनबहादुरसहित अहिलेका मुखियाहरू सूर्यनारायण, दिलबहादुर, वीरबहादुर र राउटे युवा प्रकाश शाहीलाई दैलेखको सामाजिक सेवा केन्द्र (सोसेक) ले ‘राउटे सामाजिक कार्यकर्ता’ पदमा जागिर दिएका हो।

‘वनमा काठ काट्न पाइँदैन, जहान–छोराछोरी पाल्न जागिर त खानैप-यो,’ नियुक्तिपत्र बुझेपछि महिनबहादुरले भने, ‘यो हाम्रा लागि रहर नभएर बाध्यता हो।’ राउटे समुदाय केही वर्षअघिसम्म काठका भाँडाकुँडा बनाएर अन्नपातसँग साटेर आफ्नो गुजारा गथ्र्यो। अहिले सामुदायिक वनले उनीहरूलाई रूख काट्न बन्देज लगाएको छ। अहिले सरकार र दाताको सहयोगमा उनीहरूको गुजारा चल्ने गर्छ। ‘जागिर खाएपछि नियमित पैसा आउँछ,’ मुखिया सूर्यनारायणले भने, ‘परिवार पाल्न सजिलो हुने भएकाले जागिर गर्न थालेका हौं।’

पूर्वमुखिया महिनबहादुरसहित अहिलेका मुखियाहरू सूर्यनारायण, दिलबहादुर, वीरबहादुर र राउटे युवा प्रकाश शाहीलाई दैलेखको सामाजिक सेवा केन्द्र (सोसेक) ले ‘राउटे सामाजिक कार्यकर्ता’ पदमा जागिर पाएका हुन्।

पछिल्लो समय राउटे समुदायमा ठूलो परिवर्तन आएको छ। उनीहरू आधुनिक मानव बन्न त चाहँदैनन् तर नचाहेरै पनि आधुनिक जीवनशैली अनुशरण गर्न उनीहरू बाध्य छन्। आफ्नो समाजभन्दा बाहिरका मानिससँग नबोल्ने र अरूले दिएको खानेकुरासमेत स्वीकार नगर्ने राउटे समुदाय अहिले पैसाकै लागि जस्तोसुकै सम्झौता गर्न पनि तयार हुन थालेका छन्। काठका भाँडाकुँडा बनाएर अन्नसँग साट्ने राउटे समुदायको पछिल्लो पुस्ताले आफ्नो सीपसमेत बिर्सिसकेको छ। ‘हामीले बनाएका भाँडाकुँडा पहिलेजस्तो बिक्री हुँदैन, जंगलमा काठ पनि काट्न पाइँदैन,’ अर्का मुखिया दिलबहादुरले भने, ‘पैसाका लागि पुर्खाले नगरेको काम हामी गर्न बाध्य भयौं।’

जागिर खाएपछि राउटे अगुवाहरूले आफ्ना बालबालिकालाई औषधि खुवाउन, व्यक्तिगत सरसफाइमा लाग्न, बाल क्लब, युवा समूह गठन गर्न, कुपोषित आफ्ना बालबालिकालाई पोषणयुक्त लिटो खुवाउन, बिरामी भए वा घाइते भए औषधि उपचार गर्न सघाउनुपर्नेछ। यस्तै नजिकको बस्ती, सामुदायिक वन, प्रदेश र स्थानीय सरकारसँग समन्वय गर्ने, आफ्नो समुदायमा मदिरा प्रयोग र बेचबिखनमा प्रतिबन्ध लगाउने, बाह्य सहयोगलाई एकद्वार प्रणालीमार्फत ग्रहण गर्ने, सामुदायिक र राष्ट्रिय वनहरूबाट काठ काट्दा र घर बनाउँदा कम क्षति पु¥याउने कार्यमा पनि उनीहरूले सहयोग गर्नुपर्नेछ।

‘राउटे समुदायको सशक्तीकरण उनीहरूको सहभागिताबिना सम्भव देखिएन,’ नियुक्तिपत्र दिँदै संस्थाका पूर्वअध्यक्ष सीताकुमारी रानाले भनिन्, ‘त्यसैले राउटे समुदायका अगुवाहरूलाई सामाजिक कार्यकर्ता पदमा नियुक्त गरिएको हो।’ राउटे समुदायका पाँचजनाले मासिक १५ सयका दरले तलब पाउनेछन्। उनले पछिल्लो समय राउटे समुदाय परिवर्तनको बाटोमा अग्रसर भएको बताइन्। ‘राउटे समुदायको भाषा, संस्कृति र परम्परालाई बचाउँदै उनीहरूलाई सामाजिकीकरण गर्ने उद्देश्य हामीले लिएका छौं,’ रानाले भनिन्, ‘त्यसैका लागि समुदायका अगुवालाई सामाजिक कार्यकर्ता पदमा नियुक्ति दिएका हौं।’ उनले राउटे अगुवाहरूले जिम्मेवारी र सर्तअनुसार काम गरे केही समयभित्रै उनीहरूमा उल्लेख्य प्रगति हुने अपेक्षा गरिन्। यो समाचार आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस