काँग्रेसभित्र भाँडभैलो, यी नेताहरुले लगाए सभापति देउवाले पार्टी सिध्याएको आरोप

आइतबार, ३० पुस २०७४, १७ : ४६
काँग्रेसभित्र भाँडभैलो, यी नेताहरुले लगाए सभापति देउवाले पार्टी सिध्याएको आरोप

काठमाडौं । निर्वाचनमा नराम्रो पराजय भोगेपछि नेपाली कांग्रेसभित्र बढेको विवाद यतिबेला छताछुल्ल भएको छ । काँग्रेसका  तीन जना प्रभावशाली नेताहरु रामचन्द्र पौडेल,  कृष्णप्रसाद सिटौला र अर्जुननरसिंह केसीबीच आइतबार राजधानीको महाराजगञ्जस्थित एक होटलमा गोप्य बैठक भएपछि काँग्रेसभित्रको भाँडभैलो सतहमा आएको हो ।
करीब दुई घण्टा लामो उक्त ‘गोप्य’ बैठकमा सभापति शेरबहादुर देउवाकै कारण पार्टी यतिबेला इतिहासकै कमजोर अवस्थामा पुगेको निष्कर्ष निकालिएको छ ।  अब पनि चुप लागेर बसिरहे पार्टी गम्भीर संकटमा पर्ने भन्दै पार्टीलाई बचाउन एक भएर अघि बढ्ने तीन नेताबीच समझदारी भएको स्रोतको दाबी छ ।  
‘बाहिर देखिएका अभियानमा ऐक्यवद्धता जनाउँदै पार्टीलाई एक ढिक्का बनाएर लैजाने विषयमा समझदारी भएको छ’ स्रोतले भन्यो, ‘ पार्टीभित्रका युवा तथा विद्यार्थीको विवाद पनि देउवाकै कारणले भएको र यो विवाद कायमै रहिरहे थप संकट निम्तिने नेताहरुले निष्कर्ष निकाल्नु भएको छ ।’
पार्टीको १३ औं महाधिवेशनमा सिटौला र पौडेलले पनि सभापतिमा उम्मेदवारी दिएका थिए । विगतमा एकै समूहमा भएका भनिएका सिटौलाले समेत सभापतिमा उम्मेदवारी दिएपछि  पौडेल–सिटौलाबीच सम्बन्ध बिग्रिएको ठानिएको थियो । तर, पछिल्लो समय देउवाकै कारणले पार्टीमा समस्या आएको भन्दै सम्बन्ध सुधार गर्दै पौडेल–सिटौला समेत एकै ठाउँमा उभिएका  हुन् ।
पार्टीको १३ औं महाधिवेशनमा देउवा समूहबाट महामन्त्री लडेका केसी पनि सभापतिको कार्यशैलीबाट रुष्ट रहेको बताइन्छ । यही कारण देउवाप्रति असन्तुष्ट नेताहरु पार्टीलाई नयाँ शिराबाट अघि बढाउन लागिपरको बताइएको छ । यसमा देउवाकै समूहमा रहेका केसीलगायत नै अग्रसर  भएका हुन् ।
असन्तुष्टहरु कांग्रेसलाई पहिलेको जस्तै बलियो अवस्थामा फर्काउन कसरी एकजुट भएर जाने भन्ने  विषयमा निरन्तर छलफलमा रहेको नेताहरु बताउँछन् । यही क्रममा गत बुधबार पनि  गोंगबुमा प्रकाशमान सिंह, शशांक कोइराला र केसीबीच छलफल भएको थियो । पटक पटकको छलफलमा प्रभावशाली नेताहरुनै एकठाउँमा देखिएपछि देउवा घेराबन्दीमा परेको बुझिएको छ ।
कांग्रेसका युवा नेताहरु गगन थापा, चन्द्र भण्डारी, विश्वप्रकाश शर्मा, धनराज गुरुङ, गुरुराज घिमिरे, प्रदिप पौडेल लगायतका नेताले काँग्रेसको नेतृत्व अब युवा पुस्ताले लिनुपर्ने साथै सिंगो पार्टीमा पुर्नसंरचना र परिमार्जजसहित आम जनताको चाहानाअनुसार अघि बढ्नुपर्ने बहस चलाउँदै आएका छन् । यही क्रममा प्रभावशाली नेताहरु समेत देउवाको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै छलफलमा लागेका हुन् ।
गत मंसिरमा भएको प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनमा काँग्रेसले हार बेहोरेपछि देउवाले विशेष महाधिवेशन बोलाउनुपर्ने, सभापति देउवाले निर्वाचनमा भोग्नु परेको हारको नैतिक जिम्मेवारी लिँदै राजीनामा दिनुपर्नेसम्मको माग कांग्रेसभित्र जोडतोडका साथ उठिरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस