देवघाट मेला सुरु

देवघाटधाममा मासु, मदिरा र सुर्तीजन्य पदार्थ ओसारपसार तथा सेवनमा प्रतिबन्ध

आइतबार, ३० पुस २०७४, १५ : २०
देवघाटधाममा मासु, मदिरा र सुर्तीजन्य पदार्थ ओसारपसार तथा सेवनमा प्रतिबन्ध

देवघाटधाम । माघेसंक्रान्तिको दिन पवित्र तीर्थस्थल देवघाटधाममा लाग्ने मेला आयोजक संस्था देवघाट क्षेत्र विकास समितिका अध्यक्ष टंकनाथ पौडेलले देवघाट मेला सुरु भएको जानकारी दिँदै पवित्र तीर्थस्थल देवघाटधाममा धुमपान, मांस, मदिरा एवम् सुर्तीजन्य पदार्थ ओसारपसार र सेवन निषेध गरिएको बताए ।
पौडेलका अनुसार, वेणी स्नानका लागि आउने भक्तजनको भीड व्यवस्थापनसँगै देवघाट मेलालाई व्यवस्थित बनाइएको छ । देवघाटधाममा त्रिशुली नदीमाथि रहेको झोलुङ्गे पुल मर्मत कार्य सम्पन्न गरिएको जानकारी दिँदै अध्यक्ष पौडेलले भने, ‘झोलुङ्गे पुल जीर्ण भइसकेकोले पुलमा हिँड्दा भक्तजनहरुलाई नरोकिइकन पंक्तिवद्धरुपमा हिँडुन अनुरोध गर्नेछौँ । पुलको विकल्पमा वेणी पुग्न प्रशस्त मात्रामा डुङ्गाको व्यवस्था गरिएको छ ।’
देवघाट मेलामा आउने भक्तजन नठगिऊन् भनेर समितिले डुङुगाभाडा एकातर्फी २५ रुपैयाँ तोकेको छ । यसैगरी समितिले सवारी पार्किङ, चिया, कफी र पानीको समेत दररेट तोकेको छ । सवारी व्यवस्थापनको लागि वानवे रुट निर्धारण गरिएको समितिले जनाएको छ ।
मेला सम्पन्न गर्न समितिका अध्यक्ष पौडेलको संयोजकत्वमा एक सय ५१ सदस्यीय मेला व्यवस्थापन मूल समिति गठन गरिएको छ । माघेसंक्रान्तिकै अवसरमा देवघाटधामस्थित गलेश्वर आश्रमको आयोजनामा आज आइतबार सन्त सम्मेलन र लक्ष्य हवनको शुभारम्भ गरिएको छ । आज बिहानै देवघाटधामस्थित गलेश्वर आश्रमका पीठाधीश स्वामी आत्मानन्द गिरिजी महाराजबाट वेणीमा धार्मिक विधिपूर्वक लिङ्गो गाडेर माघेसंक्रान्ति मेलाको उद्घाटन भइसकेको छ ।
माघेसंक्रान्तिका दिन देवघाटधामस्थित त्रिशुली र कालीगण्डकी नदीको संगम वेणीमा नुहाउनाले पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । देवघाटधाममा माघेसंक्रान्ति मेला भर्न नेपालका विभिन्न जिल्ला र भारतबाट समेत भक्तजन आउने गर्छन् ।

प्रतिक्रिया दिनुहोस