पार्टी एकताका लागि पृष्ठभूमीमा धेरै ठूलो संघर्ष भएको छः अध्यक्ष प्रचण्ड

सफल खबर संवाददाता

बुधबार, ०८ फागुन २०७५, २० : १७
पार्टी एकताका लागि पृष्ठभूमीमा धेरै ठूलो संघर्ष भएको छः अध्यक्ष प्रचण्ड

धनगढी । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्ड दुई ठूला कम्युनिष्ट पार्टीको एकताका लागि पृष्ठभूमीमा धेरै ठूलो संघर्ष भएको बताउनु भएको छ । कैलालीको धनगढीमा सुदुरपश्चिम प्रदेश स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले पञ्चायत बिरोधी आन्दोलनबाट सुरु भएको सहकार्य जनयुद्ध र जनआन्दोलनका दुई ठूला प्रयोगहरु हुँदै पार्टी एकातासम्म आईपुगेको बताउनुभयो । संघर्ष, एकता र सहकार्यका श्रृंखलाहरु पार गरेर संविधान कार्यान्वयन र नयाँ राष्ट्रिय एकताका निम्ति दुई कम्युनिष्ट मिल्नुको विकल्प नदेखेर पार्टी एकता सम्भव भएको उहाँको भनाई थियो ।
अध्यक्षले भन्नुभयो, ‘यो सिस्टम परिवर्तन भएपछि यसलाई संस्थागत गर्ने संवैधानिक र कानुनी जटिलता र चुनौती हाम्रो सामु छन् । त्यसकारण हिजोको बनि बनाउ संविधान र बनि बनाउ कानुनभित्रपट्टिबाट सरकार चलाएजस्तो अहिलेको होइन । यदि हामीले प्रतिक्रियावादीले प्रचार गरेजस्तो यो काम पनि भएन सरकारले गरेन, त्यो काम पनि गरेन भनेर त्यो ढंगले सोच्न थाल्यौ भने हामीले यो ऐतिहासिक परिवर्तनको महत्व र मर्मलाई नबुझेको ठहर छ ।’


उहाँले संविधानले व्यवस्था गरेअनुसार मौलिक अधिकारसँग सम्बन्धित कानुन बनाउने कुरामा सरकारले महिनौँ खर्च गरेको उल्लेख गर्दै त्यसलाई समयमै पुरा गरेको बताउनुभयो ।
प्रचण्डले पार्टी एकताले पूर्णता नपाएकै कारण गुट र फुटको हल्ला चलेको बताउनुभयो । सरकार प्रति सुदूरपश्चिमका जनताले धेरै गुनासो गरेको बताउँदै उनले त्यसमा नेकपा सरकार अब खरो रुपमा उत्रिनुपर्ने बताउनुभयो ।

अध्यक्ष प्रचण्डले जनयुद्धदेखि जनआन्दोलनसम्म सुदूरपश्चिम प्रदेशको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । उहाँले आफू पहिलोपटक प्रधानमन्त्री बन्दा सुदूरपश्चिम विश्वविद्यालयको स्थापनालगायतका काम अगाडि बढाएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस