भरतपुर ९ मा सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र उद्घाटन

सफल खबर संवाददाता

मंगलबार, ०७ फागुन २०७५, १० : ४०
भरतपुर ९ मा सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र उद्घाटन

भरतपुर । भरतपुर महानगरपालिका वडा नं ९ मा भरतपुर महानगरपालिका सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र आजबाट सञ्चालनमा आएको छ । 
महानगरपालिका प्रमुख रेनु दाहालले केन्द्रको उद्घाटन गर्नुभएको हो । उहाँले १०२ वर्षका विष्णुकुमारी खड्का र ९५ वर्षका भागिरथी खड्कालाई बिरामी जाँचको पुर्जी दिएर उद्घाटन गर्नुभएको थियो । 
कार्यक्रमको उद्घाटन गर्दै महानगर प्रमुख दाहालले महानगरवासी स्वस्थ र स्फुर्त हुनुपर्छ भन्ने मान्यताका साथ केन्द्र सुरू गरेको बताउनुभयो । सबै नागरिकलाई आधारभूत स्वास्थ्य सेवा निःशुल्क रूपमा प्रवाह गर्नुपर्ने नीतिअनुरूप नै यो सेवा भरतपुर महानगरपालिकाले सुरू गरेको बताउँदै यस केन्द्रले प्रवाह गर्ने सम्पूर्ण सेवा निःशुल्क हुने बताउनुभयो । 
यस सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रबाट अधिकतम सेवा लिन सेवाग्राहीलाई आग्रह गर्दै प्रभावकारी सेवा प्रवाह गर्न केन्द्रका कर्मचारीहरूलाई निर्देसन दिनुभयो ।

प्रमुख दाहालले मेडिकल सिटीको रूपमा विकास भइरहेको बताउँदै यसलाई व्यवस्थित बनाउन महानगरपालिकाले आवश्यक समन्वय गर्ने बताउनुभयो । भरतपुर महानगरपालिकाले एक वडा एक स्वास्थ्य चौकीको रूपमा विकास गर्ने योजना लिएको बताउनुभयो ।  
कार्यक्रममा प्रजिअ जीतेन्द्र बस्नेतले सेवाले यस भेगका सबै समुदायलाई अधिकतम सेवा लिन आग्रह गर्नुभएको थियो । डा भोजराज अधिकारीले सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र सहरी क्षेत्रका सबै खाले बिरामीहरूको स्वास्थ्य र परामर्स गर्ने उद्देस्यले यो केन्द्र स्थापना गरेकोमा भरतपुर महानगरपालिकालाई धन्यवाद दिनुभएको थियो 
सहरी स्वास्थ प्रवद्र्धन केन्द्र भरतपुर महानगरपालिकाले पहिलो पटक सुरू गरेको हो । यस केद्रमा सर्ने तथा नसर्ने रोगहरूको निःशुल्क उपचार परामर्स प्रदान हुनेछ । 
यस केन्द्रमा बहिरंग सेवा, निशुल्क मातृत्व सेवा, सरूवा रोगसम्बन्धी सेवा आयुर्वेद र परम्परागत सेवा, निःशुल्क औषधि सेवा, महामारी तथा विपद व्यावस्थापन सेवा, योग तथा सहजीकरण सेवा, वृद्धवृद्धा स्वास्थ्य योग सेवालगायतका सेवा उपलव्ध हुनेछ । यस सेवा प्रवाह गर्नका लागि चिकित्सकसहित १० जना दक्ष जनशक्ति रहेका छन् । भरतपुर महानगरमा १३ वटा स्वास्थ्यचौकी, ६ वटा आयुर्वैदिक औषधालय र ४ वटा बर्थिङ सेन्टर छन् । 

 

प्रतिक्रिया दिनुहोस