गाजरमा जाँगर : भाउ नपाउँदा किसानको टाउको दुखाइ

सफल खबर संवाददाता

सोमबार, ०६ फागुन २०७५, १२ : ४४
गाजरमा जाँगर : भाउ नपाउँदा किसानको टाउको दुखाइ

चितवन । भरतपुर महानगरपालिका वडा नं ६ का किसान कुमार पोख्रेलको बारीमा पुग्दा उनले ५ जनाभन्दा बढी कामदार लिएर  उखेली रहेका थिए । 
यस वर्ष झन्डै एक बिघामा गाजर लगाएका पोख्रेलले जति गाजरमा जाँगर लगाए, त्यति नै भाउ आइदिइका भए त फलिफाप नै हुने थियो । उनले भने, ‘गाजरमा जति जाँगर लगाउनुपर्छ, त्यो अनुसार भाउ नै छैन ।’ 
गाजर जमीनमुनि जरा रूपान्तरित भई केही मोटो हुने वनस्पति हो । विहे ब्रतबन्ध, भोजभतेरमा गाजरलाई सलादको रूपमा प्रयोग गरिन्छ । किसानहरुका अनसार गाजरखेतीमा मेहनत बढी पर्छ । गाजर, जौ, राजमालगायतका खेती गरेका पोख्रेल यतिबेला गाजरको भाउ नपाउँदा चिन्तित बनेका छन् । उनी भन्छन्, ‘गाजर खेती यतिबेला किसानको लागि टाउको दुखाइ विषय बनेको छ ।’
उनका अनुसार व्यवसायीले गाजर किनिदिएमात्र किसान खुसी हुने अवस्था देखिएको छ । उनले खिन्न मुद्रामा भने, ‘१० रुपैयाँ किलोमा पनि गाजर बेच्न मुस्किल छ, त्यति त लागत नै लाग्छ, मेहनत कहाँ गयो ? अनि जग्गा भाडा, कामदार खर्च ?’

गाजरमा कुनै किसिमको विषादी हुँदैन । किसानहरुका अनुसार तरकारीभित्र पर्ने गाजर एउटा यस्तो चीज हो, जहाँ कुनै किसिमको विषादी हुँदैन । गाजर स्वास्थ्यको लागि निकै लाभदायिक मानिन्छ । गाजर खानाले गिजा तथा दाँतको भित्री भागहरुमा मसाज हुनुका साथै उक्त स्थानमा रगत संचार नियमित रुपले हुन्छ । यस्तो लाभदायिक चीज बेच्दा खर्च पनि उठ्न मुस्किल हुँदा किसान मर्कामा परेका छन् । 
भरतपुर–६ कै अर्का किसान बोदराज पाठकले पनि यस वर्ष १० कठ्ठामा गाजर लगाएका छन् । खर्च पनि नउठ्ने व्यवसायीहरुले मूल्य गरेपछि उनका केही गाजर अझै पनि बारीमै छन् । उनले भने, ‘जति भाउ दिन्छन्, उतिमा बेच्ने सुरसार गरेको छु ।’
उनले केही समय अगाडि ६ रुपैया किलोमा गाजर बेचेका थिए । उनी दुखेसो गर्दैै भने, ‘उत्पादन गर्ने किसान, मूल्य गर्ने बीचका मध्यमकर्ता (बिचौलिया) । यस्तो अवस्थामा किसानको उत्पादनले कसरी मूल्य पाउने ? जो किसान दिनरात खटिएर उत्पादन गर्छन्, तर यो देशको बिडम्बना आफ्नो उत्पादनको मूल्य पाउँदैनन् ।’
उनले किसानको उत्पादन राज्यले उचित मूल्यमा किन्नुपर्ने बताए । उनले भने, ‘सहकारीमार्फत किसानको उत्पादन राज्यले उचित मूल्यमा किने किसान कहिल्यै घाटामा जाँदैनन्, तर यहाँ त यो अवस्था छैन ।’ 
उनका अनुसार एक किलो गाजर खरिद गर्दा उपभोक्ताको ३० रुपैयाँ हाराहारीमा परेको छ । तर किसानले ६–१० रुपैयाँ किलोमा गाजर बेचिरहेका छन् । उनले प्रश्न गर्दै भने, ‘यत्रो फरक कसरी हुन्छ, किसान कसले मारिरहेका छ ? राज्यले के हेरी बसेको छ ?’

किसानहरुका अनुसार एक विघामा गाजर लगाउँदा दुई लाख माथि लागत लाग्छ । गाजरको एक किलो बीउकै २२ हजार ५०० रुपैयाँ पर्छ । एक बिघामा गाजर लगाउँदा कम्तीमा ४ किलो बीउ लाग्छ । ४ पटक छ्याल्लब्याल्ल हुने गरी पानी लगाउनुपर्छ ।
कम्तीमा ६ ट्याक्टर सुली लाग्छ । गोबर मलले गाजर हुँदैन । गाजरखेती गर्दा दम भन्ने पाउडर हाल्नुपर्छ, जसले गाजरलाई चिल्लो बनाउँछ । मजदुर खर्च, गोडमेल र धोइधाइ गाजरलाई अति आवश्यक छ । 
‘गाजर निकाल्न धेरै मेहनत आवश्यक पर्छ, तर यसपटक गाजरको भाउले लागत नै उठ्न मुस्किल पर्ने भयो’ अर्का किसान सुदामा यादवले भने, ‘किसानमा मारमा परे, यस पटक गाजरको उत्पादन नै धेरै भएर हो कि !’
भरतपुर महानगरपालिका वडा नं १५ र १६ सबैभन्दा बढी गाजरखेती गरिन्छ । सो क्षेत्रको फूलबारी गाजरको हब नै मानिन्छ । चितवनमा कति गाजर उत्पादन हुन्छ भन्ने वास्तविक तथ्यांक कृषि ज्ञान केन्द्रमा पनि छैन, तर पछिल्लो समय गाजर खेती गर्ने किसान बढेका छन् । 

प्रतिक्रिया दिनुहोस