गिट्टी तथा बालुवाको कर भरतपुर महानगरले उठाउने

सोमबार, २८ माघ २०७५, १२ : ५७
गिट्टी तथा बालुवाको कर भरतपुर महानगरले उठाउने

चितवन । गिट्टी तथा बालुवामामा लगाइँदै आएको कर अब भरतपुर महानगरपालिकाले उठाउने भएको छ । यसअघि सविकको जिल्ला विकास समितिले उक्त कर उठाउँदै आएको थियो । 

सङ्घीय सरकार गठन भएसँगै स्थानीय सरकारले गिट्टी तथा बालुवको राजश्व सङ्कलन गर्न पाउने भनिए पनि यसलाई कार्यान्वयन गराउन समय लागेकाले विगत सात महीनादेखि गिट्टी तथा बालुवा उत्खनन रोकिएको थियो । 

अन्तर सरकारी वित्त व्यवस्थापन ऐन २०७२ मा प्राकृतिक स्रोतबाट प्राप्त राजस्व सङ्घ, प्रदेश र स्थानीय तहको अधिकारमा रहने उल्लेख छ । 

सो बमोजिम महानगरले प्राप्त राजस्वमध्ये ६० प्रतिशत उपयोग गर्न पाउनेछ भने छ भने ४० प्रतिशत प्रदेश सरकारलाई बुझाउनुपर्ने छ । गिट्टी तथा बालुवाको राजश्व सङ्कलनबाट करीब रू १० करोड राजश्व थपिने महानगरका कार्यकारी अधिकृत नेत्रप्रसाद सुवेदीले जानकारी दिनुभयो । 

गत साउनदेखि बन्द भएको गिट्टी तथा बालुवाको राजस्व सङ्कलनका लागि बोलपत्र आह्वान प्रक्रिया अघि बढाइएकोे उहाँले बताउनुभयो । महानगरले चालू आर्थिक वर्षका लागि रु ५५ करोड राजश्व सङ्कलनको लक्ष्य लिएकामा गिट्टी तथा बालुवाको राजश्व थप हुने भएपछि लक्ष्यमा पुग्न सकिने अनुमान गरिएको छ ।  (रासस)

प्रतिक्रिया दिनुहोस