कविता : बलात्कारी समयको बयान

आइतबार, २७ माघ २०७५, १३ : ०७
कविता : बलात्कारी समयको बयान

– शकुन्तला जोशी
त्यो एउटै समय थियो
जाहेरीमा उल्लिखित
रगताम्य सेतो जामा उखुबारीमा भेटिनु
र पुछ्दै कुमारी रगतको बाछिटा
एउटा जान–पहिचान आकृति सिंहदरबार छिर्नु ।

त्यो एउटै समय थियो
पुलमुनि कसैको कलिलो चिच्याहट सुनिनु
र राजधानीमा संविधान उत्सवको नगरा बज्नु
अलपत्र छाडेर किताबका पानाहरू
खेल्दै गरेकी छोरी आँगनबाट हराउनु
र राष्ट्रिय धुन बज्नु ।

त्यो एउटै समय थियो
काँसघारीमा भेटिनु एउटा नानी फूलको लास
लासबाट हराउनु उसको रातो जामा र नाकको फूली
र देशभक्तिको फूली सिउरेर काँधमा सलामीको बुट बजार्नु ।

त्यो एउटै समय थियो
एउटा कसुरदार
सर्वोच्च अदालतको मूल ढोका पुगेर
कुर्लन्छ — मलाई असाध्यै मनपर्छ नानी फूलहरु
म उनीहरुलाई प्रेम गर्छु ।

त्यो एउटै समय थियो
उसको बकपत्र आउनु
र स्कूलबाट फर्कदैं गरेकी छोरी हराउनु
नौ महिने सोनाली झाडीमा भेटिनु
दाउरा खोज्न गएकी भाउजू लुटिनु
सरकार, कति घिनलाग्दो समय हो यो ?
किन झुट बोलिरहेछन् तपाइका बडाहाकिम ?
छोरी लुटिएकी हैन उत्ताउलिएकी हो
किन मिल्दैन भनिरहेछन् ?
तपाईंका डाक्टरहरू
क्षतविक्षत योनीबाट बगेको रगत
र अधम पुरुषको जाँघमा लत्पतिएको विर्यको डिएनए ?

कसले च्यात्यो कोपिला फूलका पत्रहरु ?
र आधा चित्र कोर्दै गरेको क्यानभास ?
कसले रोक्यो भर्खरै चाल्न थालेका पाइला
को हो अठ्याउँने चिचिला जिन्दगीको धून ?
दिनदहाडै बलात्कृत
म उही निर्मला हुँ सरकार
म मरेकी छैन
यी सडकभरी चिच्याइरहेका मेरा आवाज हुन्
मलाई जवाफ देऊ,
निधारमा तिम्रै दस्तखत बोकेर
तिम्रो ढोकासम्म आइपुगेकी यो देशको नागरिक
मेरी आमालाई जवाफ देऊ
सरकार,
मेरो जाँघमा लत्पतिएको वीर्य
किन तिम्रो अनुहारसँग मिल्छ ?
भन, के तिमी नै हौ मेरो बलात्कारी ?

यतिबेला म उभिएकी छु शिरमा कफन बाँधेर
न्यायका लागि उठेका यी हातहरूबीच
बोकेर आएकी छु
तिमीले च्यातिदिएका चित्र र भाँचिएका कलमका टुक्राहरू
अब यिनै हातहरुले अँठ्याउने छन् तिम्रो कठालो
लतार्दै ल्याउने छन् सडकमा
त्यो बेला अवश्य झुक्नु पर्नेछ तिमीले
आफैंले कुल्चेर हिडेको
विभत्स मेरो लाससँग ।

(यो कविता ‘निर्मलाका निम्ति न्याय’ अभियानअन्तर्गत २०७५ असोज ५ गते काठमाडौंको वसन्तपुरमा क्याफे कविताको संयोजनमा आयोजित ‘सडकमा कविता’ कार्यक्रममा वाचन गरिएको थियो ।)

प्रतिक्रिया दिनुहोस