मूल्य नपाएपछि बारीमै जोतियो तरकारी रोए किसान धर्धरी

मंगलबार, २२ माघ २०७५, ११ : ५९
मूल्य नपाएपछि बारीमै जोतियो तरकारी रोए किसान धर्धरी

- विकास पौडेल
चितवन ।
तरकारीको मूल्य नपाएपछि पूर्वी चितवनका किसानहरुले खैतमै तरकारी नष्ट गरेका छन् । बजारमा बिक्रीको लागि लैजानु पर्ने तरकारी बारीमा जोत्नु पर्दा किसान मर्कामा परेका छन् ।

खैरहनी नगरपालिका १ बहेराका किसानहरुले तरकारीको मूल्य नपाएको र बिक्री नभएको भन्दै तरकारी नष्ट गरेका हुन् । उनीहरुले खेतमा लगाएको तरकारी ट्याक्टरले जोताएका छन् । तरकारीमा पनि विशेषगरी बन्दाको मूल्य नपाएको र बिक्री समेत नभएको किसानहरुले गुनासो गरेका छन् । सोमबारमात्रै खैरहनी १ बहेरामा करिब ११ कठ्ठामा लगाइएको बन्दा किसानहरुले बारीमा नै नष्ट गरेका छन् ।

एक महिनासम्म तरकारीले भाउ पाउला, बिक्री होला भनेर कुरेर बस्दाबस्दै तरकारी बिक्री नभएको बरु बारीमै कुहिने अवस्था आउन लागेकोले जोत्न बाध्य भएको नवराज भुषालले बताउनु भयो । ‘अघिल्लो वर्ष यही जग्गामा लगाएको तरकारीबाट करिब ९० हजार आम्दानी भयो तर यस वर्ष एक रुपैयाँ पनि आम्दानी भएन’ भुषालले भन्नुभयो । तीन कठ्ठामा बन्दा उत्पादन गर्न करिब २१ हजार खर्च लागेको उहाँको भनाई छ ।

सोही ठाउँकी नर्बदा सापकोटाको दुखेसो पनि उस्तै छ । ३२ कठ्ठामा तरकारी खेती गर्दै आउनु भएकी सापकोटाले केही दिन अघिमात्रै ब्रोकाउली र बन्दा लगाएको करिब १५ कठ्ठा बारी तरकारीसहित जोताउनु भयो । केही तरकारी काटेर गाईभैंसीलाई समेत खुवाएको तर चौपायालाई समेत चिसो होला भनेर खुवाउन छोडेको उहाँले बताउनु भयो । अब बाँकी रहेको १७ कठ्ठाको तरकारी पनि केही दिनमै जोताउनु पर्ने स्थिति रहेको उहाँले बताउनु भयो । प्रति कठ्ठा दुई हजार पाँच सयको दरले भाडा तिर्ने गरी लिएको २२ कठ्ठा जग्गामा लगाइएको तरकारी बिक्री नभएर बारीमै जोत्नु पर्ने अवस्था आएको भन्दै सापकोटाले दुखेसो गर्नु भयो ।


खैरहनी १ बहेराकै इन्दिरा भुषालले पनि सोमबार ६ कठ्ठामा लगाएको बन्दा जोताउनु भयो । अघिल्लो वर्ष डेढ लाख आम्दानी गर्नु भएकी उहाँले यस वर्ष एक रुपैयाँको समेत बन्दा बिक्री नगरी जोताउन परेको बताउनु भयो । सोही स्थानका सूर्यप्रसाद भुषालले समेत दुई कठ्ठामा लगाएको बन्दा जोताउनु भयो । “भाउ पाउला कि भनेर कुर्दाकुर्दै तरकारी बिक्री भएन, अर्को बाली लगाउने समय समेत आयो । त्यसैले बाध्य भएर तरकारीसहित बारी जोताएँ” उहाँले भन्नुभयो । सोही ठाउँकी देपकला खनालले ७ कठ्ठामा लगाएको बन्दा नष्ट गर्ने तयारीमा रहेको बताउनु भयो । “अघिल्लो वर्ष ४ कठ्ठामा लगाएको तरकारीबाट १ लाख आम्दानी भएको थियो । राम्रो होला भनेर यस वर्ष ६ कठ्ठामा लगाँउदा एक रुपैयाँ पनि आम्दानी नगरी तरकारी जोत्नु पर्ने अवस्था आयो” उहाँले भन्नुभयो ।

किसानहरुले मूल्य नपाउँदा खेतबारीमै तरकारी नष्ट गर्नुपर्ने अवस्था आउँदा समेत बजारमा भने उपभोक्ताले प्रतिकिलो १५ रुपैयाँमा बन्दा खरिद गरिरहेका छन् । अहिले चितवनमा बन्दा, काउलीको उत्पादन बढी भएकाले मूल्य नपाएको फलफूल तथा तरकारी व्यवसायी संघ नारायणगढका अध्यक्ष थिरप्रसाद धितालले बताउनु भयो । थोक बजारमा बन्दा, काउली पाँच रुपैयाँ प्रतिकिलोमा बिक्री भइरहेको उहाँले बताउनु भयो ।

 

प्रतिक्रिया दिनुहोस