काठमाडौँ । व्यापारी अजेयराज सुमार्गीको रकम फिर्ता गराउन नसक्ने वाणिज्य बैंकहरूले राष्ट्र बैंकलाई जानकारी गराएका छन् । सर्वोच्च अदालतको आदेशअनुसार सुमार्गीको पैसा फिर्ता गराउन राष्ट्र बैंकले नेपाल इन्भेस्टमेन्ट बैंक, महालक्ष्मी विकास बैंक, नेपाल बंगलादेश बैंक र प्राइम कमर्सियल बैंकलाई गरेको पत्रचारको जवाफमा उनीहरूले सुमार्गीको रकम प्रयोग भइसकेको जवाफ दिएका हुन् ।
‘ग्राहकले ऋण तिरिसकेका छन् । पैसा पूर्ववत् अवस्थामा ल्याउन फेरि ऋण प्रवाह हुनुपर्छ । यसका लागि सम्बन्धित व्यक्ति वा कम्पनी चाहिन्छ,’ नेपाल बंगलादेश बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले भने ।
‘यसकारण राष्ट्र बैंकको निर्देशनअनुसार पैसा फिर्ता गर्न नसकिएको हो,’ उनले भने । यस्तो परिस्थितिमा अर्को निर्देशन माग गर्दै राष्ट्र बैंकलाई जवाफ पठाइएको उनले बताए । प्राइम र इन्भेस्टमेन्टले पनि सोही आशयको पत्र राष्ट्र बैंकमा पठाएको बुझिएको छ ।
महालक्ष्मी विकास बैंकले सुमार्गीको रकम बाहिरिसकेको जनाएको छ । यो संस्थाले पैसा कहाँ–कहाँ गएको छ भन्ने कारोबार अभिलेख (स्टेटमेन्ट) सहित राष्ट्र बैंकलाई पत्र पठाएको स्रोतले जनायो । ती बैंकहरूले राष्ट्र बैंकलाई जवाफ पठाए पनि शंकास्पद कारोबारको विवरण वित्तीय जानकारी इकाईमा पठाएका छैनन् ।
गभर्नर चिरञ्जीवी नेपाल, विदेशी विनिमय विभाग र सम्बद्ध बैंकका अधिकारीहरू सुमार्गीलाई अनुकूल हुने गरी देखावटी पत्राचारमा मात्रै अल्मलिइरहेकाले सर्वोच्चको आदेशअनुसार रकम फिर्ता हुनेमा आशंका अझ बढेको छ ।
वाणिज्य बैंकहरूबाट जवाफ आए पनि पैसा फिर्ता भइनसकेको राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले बताए । ‘बैंकहरूले ऋणीले पैसा ऋण तिर्न प्रयोग गरेकाले फिर्ता गर्न अप्ठेरो भएको बताएका छन्,’ उनले भने, ‘अब के कसरी अघि बढ्ने भन्नेबारे छलफल गरिरहेका छौं ।’
यो विषय वित्तीय जानकारी इकाई (एफआईयू) र सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित भएकाले सबैको समन्वयमा अघि बढ्नुपर्ने उनको भनाइ थियो । ‘यो विषयलाई राष्ट्र बैंकको मात्र जिम्मेवारीका रूपमा हेरिएको छ,’ उनले भने, ‘हाम्रोभन्दा बढी जिम्मेवारी एफआईयू र सम्पत्ति शुद्धीकरणको रहन्छ ।’ सुमार्गीले इन्भेस्टमेन्ट बैंकमा रहेको करिब ७० मिलियन अमेरिकी डलरमध्ये १० करोड रुपैयाँ महालक्ष्मी विकास बैंक, २५ करोड नेपाल बंगलादेश बैंक र २० करोड प्राइम कमर्सियल बैंकमा स्थानान्तरण गरेको देखिएको छ ।
बाँकी रकम रकम इन्भेस्टमेन्ट बैंकमै ऋण तिर्ने प्रयोजनमा प्रयोग भएको देखिन्छ । उक्त रकम प्रयोग गर्न पर्याप्त समय दिइएको, सुमार्गीमाथि राष्ट्र बैंक र सम्बन्धित बैंकले निगरानी नराखेको र रकम फिर्ता गराउन देखावटी काम मात्रै गरेकाले फिर्ताको संभावना कम हँ‘दै गएको राष्ट्र बैंकसम्बद्ध अधिकारीहरू बताउँछन् । उक्त कारणले सुमार्गीले निकासा गरेको रकम बिहीबारसम्म फिर्ता भएको छैन ।
राष्ट्र बैंकले चाहेमा सुमार्गीको रकम तत्काल फिर्ता गर्न सक्ने भएकाले तदारुकता देखाउनुपर्ने अर्थविद् केशव आचार्यले बताए । ‘राष्ट्र बैंकसँग सम्बन्धित व्यक्तिको खाता रोक्का गर्नेदेखि सबै कारोबार निरीक्षण र सुपरिवेक्षण गर्ने अधिकार छ,’ उनले भने, ‘त्यही अधिकार प्रयोग गरेर राष्ट्र बैंकले सम्बन्धित बैंकहरूबाट पैसा फिर्ता गराउनुपर्छ ।’ हाल सबै कारोबार अनलाइनमा हुने भएकाले राष्ट्र बैंकले चाहेमा तत्काल नियन्त्रणमा लिन सक्ने र त्यो उसको अधिकार क्षेत्रभित्रै पर्ने उनले बताए ।
यसअघि आफ्नै अन्तरिम आदेशमार्फत बाहिरिएको पैसा पूर्ववत् अवस्थामा राख्न भन्दै गत पुस २४ गते सर्वोच्च अदालतले पुन: आदेश दिएको थियो । सोही आदेशबमोजिम पैसा फिर्ता गर्न राष्ट्र बैंकले मंगलबार सम्बन्धित बैंकलाई निर्देशन दिएको थियो । बैंकहरूले राष्ट्र बैंकलाई जवाफ पठाए पनि बिहीबारसम्म पैसा फिर्ता नगरेको राष्ट्र बैंकले जनाएको छ ।
गत पुस १० मा न्यायाधीश दीपकराज जोशीको एकल इजलासले इन्भेस्टमेन्ट बैंकमा मुक्तिश्री सिमेन्ट उद्योगका नाममा रहेको सुमार्गीको खाता खुला गरिदिएको थियो । उक्त आदेशको भोलिपल्टै राष्ट्र बैंकको स्वीकृतिमा सुमार्गीले इन्भेस्टमेन्ट बैंकबाट पैसा झिकेका थिए । त्यसपछि सुमार्गीले त्यो पैसा विभिन्न बैंकमा निक्षेप तथा ऋण तिर्न प्रयोग गरेको देखिएको छ ।
पुस २४ मा सर्वोच्चको अर्को आदेशले उक्त पैसा पूर्ववत् अवस्थामा राख्न निर्देशन दियो । त्यसपछि राष्ट्र बैंकले इन्भेस्टमेन्ट बैंकलाई पैसा फर्काउन निर्देशन दियो । राष्ट्र बैंकको निर्देशनबमोजिम इन्भेस्टमेन्टले अन्य बैंकहरूलाई पैसा फिर्ता गर्न भन्दै पत्राचार गर्यो । ती संस्थाले इन्भेस्टमेन्टको आदेश नमानेपछि गत मंगलबार राष्ट्र बैंकले ती बैंकहरूलाई छुट्टाछुट्टै पत्र काटेर रकम फिर्ता गर्न निर्देशन दियो । यो निर्देशन पनि यसअघिको इन्भेस्टमेन्ट बैंकलाई दिएको निर्देशनजस्तै उपलब्धिहीन बनेको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।
प्रतिक्रिया दिनुहोस