मालढुङ्गा दुर्घटनामा सात जनाको मृत्यु, ३१ जना घाइते

सफल खबर संवाददाता

विहीबार, ०३ माघ २०७५, १२ : ०७
मालढुङ्गा दुर्घटनामा सात जनाको मृत्यु, ३१ जना घाइते

म्याग्दी l बेनीबाट चितवनको नारायणगढतर्फ जाँदै गरेको ग१ख ६१०८ नम्बरको बस पर्वत कुश्मा नगरपालिका–१ मालढुङ्गा दुर्घटनामा सात जनाको मृत्यु भएको छ l दुर्घटनामा ३१ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।

घाइतेमध्ये गम्भीर दुई जनाको हेलिकप्टरबाट थप उपचारका लागि काठमाडौंको ग्राण्डी अस्पताल लगिएको छ l थप तीन जनालाई उपचारका लागि काठमाडौं पठाउन हेलिकप्टरको व्यवस्था गर्न नेपाली सेनालाई आग्रह गरिएको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताए। मृतक कसैको पनि सनाखत हुन सकेको छैन ।

अन्य घाइतेहरुको धौलागिरि अञ्चल अस्पतालमा उपचार गरी थप उपचारका लागि एम्बुलेन्समार्फत पोखराको मणिपाल अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ। मृतक तथा घाइतेको विवरण सङ्कलनको कार्य भइरहेको छ। दुर्घटनाको कारण भने अहिलेसम्म खुलेको छैन। मृतकको सङ्ख्या बढ्न सक्ने प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस