जेन जी आन्दोलन दमनमा संलग्न सुरक्षा अधिकारीमाथि कारवाही सिफारिस

सफल खबर संवाददाता

बुधबार, १३ जेठ २०८३, १७ : ०७
जेन जी आन्दोलन दमनमा संलग्न सुरक्षा अधिकारीमाथि कारवाही सिफारिस

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले जेन जी आन्दोलनका क्रममा भएको सुरक्षा कारबाहीलाई लिएर नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका उच्च अधिकारीमाथि विभागीय कारबाही गर्न सरकारलाई सिफारिस गरेको छ।

आयोगले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की तथा सशस्त्र प्रहरी बलका महानिरीक्षक नारायणदत्त पौडेलसहित आन्दोलन नियन्त्रणमा संलग्न सुरक्षा अधिकारीहरूलाई जिम्मेवार ठहर गर्दै कारबाही गर्न सुझाव दिएको हो।

भदौ २३ गते भएको प्रदर्शन तथा त्यसको भोलिपल्ट भएका घटनामा सुरक्षा निकायको भूमिकामाथि अध्ययनपछि आयोगले उक्त सिफारिस सार्वजनिक गरेको जनाएको छ।

कारबाहीको सिफारिसमा नेपाल प्रहरीका डिआइजी ओम विक्रम राणा, एसएसपी विश्व अधिकारी, सशस्त्र प्रहरी बलका एसपी जीवन केसी, राष्ट्रिय अनुसन्धान विभागका निर्देशक कृष्ण खनाल तथा काठमाडौँका प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल पनि समावेश छन्।

आयोगले आन्दोलनका क्रममा बानेश्वर र संसद् भवन आसपास क्षेत्रमा खटिएका प्रहरी, सशस्त्र प्रहरी तथा अनुसन्धान विभागका फिल्ड कमाण्डरहरूको भूमिकामाथि समेत प्रश्न उठाउँदै विभागीय कारबाही गर्नुपर्ने उल्लेख गरेको छ।

संविधानको धारा २४९–२० (ङ) ले मानवअधिकार उल्लङ्घनमा संलग्न व्यक्तिमाथि विभागीय कारबाही वा सजायका लागि सम्बन्धित निकायमा सिफारिस गर्ने अधिकार आयोगलाई दिएको छ। सोही संवैधानिक व्यवस्थाअनुसार आयोगले सरकारसमक्ष सिफारिस पठाएको जनाएको छ।

राष्ट्रिय मानवअधिकार आयोग ऐन, २०६८ अनुसार आयोगबाट भएका सिफारिस तीन महिनाभित्र कार्यान्वयन गर्नुपर्ने व्यवस्था छ।

प्रतिक्रिया दिनुहोस