बालेनसँग किन चिढिइन् सुशीला कार्की ?

सफल खबर संवाददाता

आइतबार, २७ बैशाख २०८३, ०७ : १६
बालेनसँग किन चिढिइन् सुशीला कार्की ?

काठमाडौं । पूर्व प्रधानन्यायाधीश तथा अन्तरिम चुनावी सरकारकी पूर्वप्रधानमन्त्री सुशीला कार्की पछिल्ला दिनमा प्रधानमन्त्री बालेन शाहप्रति सार्वजनिक रूपमा असन्तुष्ट देखिन थालेकी छन्।

जेनजी आन्दोलनपछि बनेको राजनीतिक माहोलमा कार्कीलाई प्रधानमन्त्री बनाउन बालेनले पर्दापछाडिबाट भूमिका खेलेको चर्चा व्यापक थियो। त्यसपछि कार्कीले पनि विभिन्न सार्वजनिक मञ्चमा बालेनको खुलेर प्रशंसा गर्दै आएकी थिइन्। उनी बालेनलाई “हक्की” र “निर्णायक” नेताका रूपमा व्याख्या गर्थिन्।

तर, बालेन नेतृत्वको सरकार गठन भएपछि भने बालेन र सुशीलाको सम्बन्ध क्रमशः चिसिँदै गएको देखिन्छ। पछिल्ला अभिव्यक्तिहरूले सुशीला कार्कीको असन्तुष्टि केवल राजनीतिक नभई व्यक्तिगत अपेक्षा, नियुक्ति विवाद र न्यायालयभित्रको शक्ति सन्तुलनसँग समेत गाँसिएको संकेत गर्छ।

पहिलो असन्तुष्टि : ओमप्रकाश अर्याल प्रकरण
कार्की प्रधानमन्त्रीबाट बाहिरिने क्रममा राष्ट्रिय सभा सदस्यमा आफ्ना कार्यकालका गृहमन्त्री ओमप्रकाश अर्याललाई सिफारिस गरेकी थिइन्। तर राष्ट्रपति रामचन्द्र पौडेलले उक्त सिफारिस रोकेपछि कार्कीले नयाँ सरकारले पुनः अर्याललाई सिफारिस गर्ने अपेक्षा राखेकी थिइन्।

तर बालेन नेतृत्वको सरकारले त्यो प्रक्रिया अगाडि बढाएन। त्यसपछि अर्याल राष्ट्रिय सभा सदस्य बन्ने सम्भावना लगभग समाप्त भयो। स्रोतहरूका अनुसार यही विषय कार्कीको प्रारम्भिक असन्तुष्टिको कारण बनेको थियो।

दोस्रो कारण : स्वकीय सचिवको नियुक्ति खारेज
कार्कीले प्रधानमन्त्रीबाट बाहिरिने क्रममा आफ्ना स्वकीय सचिव आदर्शकुमार श्रेष्ठलाई राष्ट्रिय प्रकृति संरक्षण कोषमा नियुक्त गरेकी थिइन्। तर बालेन सरकारले सार्वजनिक पद धारण गरेका व्यक्तिहरूको पदमुक्तिसम्बन्धी अध्यादेश ल्याएपछि श्रेष्ठको नियुक्ति पनि खारेज भयो। राजनीतिक वृत्तमा कांग्रेस–एमाले सरकारका कतिपय नियुक्तिहरू जोगाइएका बेला आफ्नै नियुक्त व्यक्तिलाई पनि बालेन सरकारले नजोगाएको भन्दै कार्की थप असन्तुष्ट बनेको चर्चा छ।

तेस्रो र सबैभन्दा ठूलो झट्का : प्रधानन्यायाधीश सिफारिस
कार्कीको सार्वजनिक आक्रोश भने प्रधानन्यायाधीश सिफारिस प्रकरणपछि खुला रूपमा देखियो। संवैधानिक परिषद्ले सपना प्रधान मल्ल लाई रोक्दै डा। मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशका लागि सिफारिस गरेपछि कार्कीले खुलेर असन्तुष्टि जनाइन्।

स्रोतहरूका अनुसार सपना प्रधान मल्ल प्रधानन्यायाधीश बनून् भन्ने कार्कीको स्पष्ट चाहना थियो। सपना प्रधानलाई सर्वोच्च अदालतमा न्यायाधीश बनाउन पनि कार्कीले महत्वपूर्ण भूमिका खेलेको चर्चा न्यायिक वृत्तमा पुरानै हो।

यसको पृष्ठभूमिमा सर्वोच्च अदालतभित्र विगतमा देखिएको शक्ति संघर्षलाई पनि जोडेर हेरिएको छ। तत्कालीन समयमा कल्याण श्रेष्ठ, सुशीला कार्की लगायतको एउटा धारा र चोलेन्द्र शमशेर जबरा तथा दामोदरप्रसाद शर्मा निकट अर्को धाराबीच प्रभावको प्रतिस्पर्धा चल्ने गरेको थियो । पछि चोलेन्द्रविरुद्ध सर्वोच्च अदालतभित्रै आन्दोलन चर्कियो र अन्ततः उनी विवादास्पद बहिर्गमनतर्फ धकेलिएका थिए। त्यसपछिको न्यायिक शक्ति सन्तुलनमा श्रेष्ठ कार्कीपक्ष बलियो बनेको विश्लेषण गरिन्थ्यो । तर बालेन नेतृत्वको सरकार र संवैधानिक ष्रिषदले मनोज शर्मालाई प्रधानन्यायाधीसमा सिफारिस गरेपछि कार्की रिसले चुर भएकी छिन् । शर्मा दामोदरप्रसाद शर्माको भतिज हुन् । 

यस्तो अवस्थामा सपना प्रधानलाई रोक्दै मनोज शर्मालाई अगाडि बढाइएपछि अदालतभित्र पुरानो शक्ति समीकरण फेरि सक्रिय हुने संकेत देखिएको र त्यसले कार्कीलाई झनै असन्तुष्ट बनाएको चर्चा छ।

‘मलाई आमा नभन्नुहोस्’
कार्कीको असन्तुष्टि पछिल्लो पटक सार्वजनिक रूपमा त्यसबेला झन् स्पष्ट देखियो, जब कानून दिवस कार्यक्रममा सहभागी भएर फर्किने क्रममा उनले सञ्चारकर्मीहरूसँग भनिन्— “अब मलाई आमा नभन्नुहोस्, बालेनकी श्रीमतीलाई माता भन्नुहोस्।”

जेनजी आन्दोलनपछि आफूलाई “जेनजीहरूको आमा” भनेर गर्वका साथ आफैंले प्रस्तुत गर्दै आएकी कार्कीले त्यही पुस्ताको आग्रहमा आफूले सरकारको नेतृत्व लिएको बताउने गर्थिन्। तर अहिले त्यही सम्बन्धमा दूरी आएको संकेत उनका अभिव्यक्तिहरूबाट प्रष्ट देखिन थालेको छ।

के खुल्दैछ पर्दापछाडिको राजनीति ?
जेनजी आन्दोलन, त्यसपछिको सरकार निर्माण, निर्वाचनको माहोल र पुराना दलहरूलाई पाखा लगाउने रणनीतिबारे त्यसबेलादेखि नै विभिन्न राजनीतिक अड्कलबाजी हुँदै आएका थिए।

कार्की–बालेन सम्बन्धमा देखिएको पछिल्लो चिसोपनले ती चर्चाहरूलाई फेरि सतहमा ल्याइदिएको छ। राजनीतिक वृत्तमा अहिले प्रश्न उठ्न थालेको छ- के यो असन्तुष्टि केवल नियुक्ति र न्यायालयसम्म सीमित हो, वा पर्दापछाडि बनेका राजनीतिक समझदारीहरूको सम्बन्ध विच्छेदको संकेत ? यसले बालेन रकार्कीवीचको सम्वन्धमा दररा मात्र ल्याउने छैन, यसले कार्कीले सरकारको नेतृत्वमा बसेर बालेनहरुलाई सरकारमा ल्याउन खेलेको भूमिका, सहजीकरण र कतिपय सहजताका पर्दा समेत खुल्न सक्ने आशंका ब्यक्त गरिएको छ ।

कारण पछिल्लो पटक कार्कीले आफु सरकारमा बस्दा बालेनका मान्छेले दिनुहँ आएर डर धम्की दिएको खुलासा गरेबाट पनि देखिन्छ । यसले यो सम्वन्धमा नयाँ पर्दा खुल्ने सम्भाबना बढेको छ ।

प्रतिक्रिया दिनुहोस