काठमाडौँ । बागलुङस्थित धौलागिरि प्रादेशिक अस्पतालले विभिन्न रोगसम्बन्धी विशेषज्ञ सेवा विस्तार गर्दै थप उपचार सुविधा उपलब्ध गराउने तयारी गरेको छ। अस्पतालले मानसिक स्वास्थ्य तथा मिर्गौला र मूत्रसम्बन्धी उपचारपछि अब नशा रोगसम्बन्धी विशेषज्ञ सेवा सुरु गर्ने निर्णय गरेको हो।
प्रादेशिक अस्पतालका रूपमा स्तरोन्नति भएपछि यहाँ शल्यक्रियाबाहेक अन्य अत्यावश्यक तथा पछिल्लो समय देखिएका जटिल स्वास्थ्य समस्याको उपचारका लागि एक दर्जनभन्दा बढी विशेषज्ञ सेवा सञ्चालनमा आइसकेका छन्।
अस्पतालले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र गण्डकी मेडिकल कलेजसँग सहकार्य गर्दै विशेषज्ञ सेवा विस्तार गरिरहेको जनाएको छ। सोही सहकार्यअन्तर्गत नशा रोगसम्बन्धी सेवा सञ्चालन गर्न लागिएको हो।
उक्त सेवा प्रा. डा. याम बहादुर रोका नेतृत्वको टोलीबाट प्रत्येक महिनाको चौथो शनिबार उपलब्ध गराइने जानकारी दिइएको छ। आगामी चैत २६ गतेदेखि सेवा सुरु गर्ने तयारी गरिएको छ।
दक्ष जनशक्ति स्थायी रूपमा व्यवस्थापन नभएसम्म प्रतिष्ठानमार्फत चिकित्सक परिचालन गरी सेवा प्रवाह गरिने र आवश्यक दरबन्दी स्वीकृतिपछि नियमित रूपमा सञ्चालन गरिने अस्पतालले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, २२ बैशाख २०८३, १४ : १०
लेखकबाट थप