विश्वकप लिग–२ : यूएईविरुद्ध सुरुमा ब्याटिङ गर्दै नेपाल

सफल खबर संवाददाता

शुक्रबार, १८ बैशाख २०८३, ०९ : २७
विश्वकप लिग–२ : यूएईविरुद्ध सुरुमा ब्याटिङ गर्दै नेपाल

काठमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत शुक्रबार नेपाल र यूएई भिड्दैछन् । त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको छ ।

नेपाल रोहित पौडेल र युएई मोहम्मद वासिमको कप्तानीमा मैदानमा हुनेछन् । दुबै टोलीलाई शीर्ष ६ मा रहेर अन्तर्राष्ट्रिय मान्यता जोगाउन जित्नै पर्ने दबाब छ । त्रिकोणात्मक सिरिजमा नेपाल, यूएई र ओमान भिड्दैछन् ।

वैशाख २२ गतेसम्म चल्ने शृंखलामा तीनवटै देशले एक अर्काविरुद्ध दुई–दुई वटा खेल खेल्ने तालिका रहेको छ । यसअघिका दुई खेलमा नेपाल र यूएईले एकएक जित निकालेका छन् । पहिलो खेलमा नेपालले यूएईमाथि ३७ रनले विजयी भयो भने ओमानसँग १०२ रनले पराजित भयो ।

दुई खेल खेलिसकेको यूएई पहिलो खेलमा नेपालसँग पराजित हुँदा दोस्रो खेलमा ओमानमाथि २५ रनको जित निकालेको टिम हो।

यूएईमाथि लगातार दबाब बढाउन आजको खेलमा नेपालमाथि जित्नै पर्ने दबाबमा छ । यूएई भने नेपालमाथि बदला लिन चाहन्छ । शुक्रबारपछि वैशाख २० गते आइतबार ओमान र युएई भिड्दै छन् भने यो सिरिजको अन्तिम खेलमा नेपालले वैशाख २२ गते मंगलबार ओमानसँग प्रतिस्पर्धा गर्दैछ ।

लिग–२ को तालिकामा नेपाल र यूएई पुछारमा छन् । समान २२ खेल खेलेका दुई टिमले ६ खेलमा मात्र जित निकालेका छन् । नेपाल १४ अंकसहित तालिकाको पुछारबाट दोस्रो स्थानमा छ भने १२ अंकसहित यूएई पुछारमा छ ।

घरेलु मैदानमा नेपाल आज यूएईलाई रोक्दै लिग–२ को तालिकामा आफ्नो स्थिति सुधार गर्ने लक्ष्यका साथ मैदानमा हुनेछ ।