काठमाडौं । दोस्रो आर्थिक गणनाको तयारी अन्तिम चरणमा पुगेको छ । राष्ट्रिय तथ्यांक कार्यालयले देशभर गणक तथा आवश्यक सुपरिवेक्षक परिचालित भई सम्बन्धित क्षेत्रमा पुगिसकेको जनाएको छ ।
आगामी वैशाख २ गतेदेखि देशभर आर्थिक गणनाको काम सुरु हुनेछ । कार्यतालिकाअनुसार स्थलगत तथ्यांक संकलनको काम आगामी असारको पहिलो साताभित्र सम्पन्न हुनेछ । गणनाका लागि करिब पाँच हजार जनशक्ति परिचालित भएका छन् ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्ले दोस्रो आर्थिक गणनामा सक्रिय सहभागिता जनाउन सबै उद्योग प्रतिष्ठान, उद्योगी व्यवसाय तथा सरोकार भएकाहरूलाई आग्रह गरेका छन् । उनले मुलुकको समग्र औद्योगिक एवं आर्थिक क्षेत्रसँग जोडिएको तथ्यांक संकलनको महत्त्वपूर्ण कार्यमा योगदान गर्न अनुरोध गरेका छन् ।
सो गणनामा आर्थिक क्षेत्रका १८ वटा क्षेत्रको आधारभूत विवरण संकलन हुनेछ । गणनाबाट उद्योग, व्यवसाय, सेवा क्षेत्र, सहकारी तथा निजी क्षेत्र सार्वजनिक संस्थाको संख्या, प्रकार, लगानी, रोजगारी, उत्पादन र सेवा प्रवाहसम्बन्धी विवरण संकलनको उद्देश्य राखिएको छ ।
देशभर रहेका दर्ता भए, नभएका ठूला साना, व्यापार प्रतिष्ठान, रोजगारीका हिसाबले धेरै रोजगारी दिएका वा स्वरोजगार प्रतिष्ठानको तथ्यांक संकलन गरिने छ । त्यस्तै, उद्योग, कलकारखाना, व्यापार र व्यवसाय, गैरसरकारी संघसंस्था, सरकारी संस्थान, सरकारी वा निजी विद्यालय, अस्पताल लगायतको गणना गरिने छ ।
आर्थिक गणना तयारीको पूर्वचरणका काम गत फागुन मसान्तमा सम्पन्न भएको थियो । यस्तै, यही चैतको सुरुमा नै ७७ जिल्ला र थप सात गरी ८४ कार्यालय स्थापना गरिएको छ । ती कार्यालय आगामी असार मसान्तसम्म सञ्चालन हुनेछ ।
तथ्यांक कार्यालयले सबै सरोकार भएकालाई सही र पूर्ण विवरण उपलब्ध गराएर अभियानलाई सफल बनाउन आग्रह गरेको छ । आर्थिक गणना राष्ट्रिय अभियान भएकाले यसमा सबैको सक्रिय सहभागिता जरुरी रहेको कार्यालयले स्पष्ट पारेको छ ।
यसअघि २०७५ सालमा राष्ट्रिय आर्थिक गणना गरिएको थियो । सो गणनामा देशभर नौ लाख २३ हजार ३५६ प्रतिष्ठान एवं व्यवसाय सञ्चालनमा रहेका विवरण सार्वजनिक भएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २९ चैत्र २०८२, ०८ : २०
लेखकबाट थप