ट्रेजरी बिलमार्फत १९ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने तयारी

सफल खबर संवाददाता

सोमबार, ०२ चैत्र २०८२, १४ : ५३
ट्रेजरी बिलमार्फत १९ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने तयारी

काठमाडौँ। सरकारले ट्रेजरी बिल जारी गरी सोमबार १९ अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण संकलन गर्ने तयारी गरेको छ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जारी गरेको सूचनाअनुसार ९१ दिन, १८२ दिन र ३६४ दिन अवधिका ट्रेजरी बिलमार्फत उक्त रकम उठाइनेछ।

कुल संकलन हुने रकममध्ये १४ अर्ब रुपैयाँ परिपक्व भइसकेका पुराना ट्रेजरी बिलको नवीकरणका लागि तथा ५ अर्ब रुपैयाँ नयाँ ऋणका रूपमा रहने जनाइएको छ।

कार्यालयका अनुसार ट्रेजरी बिल खरिदका लागि बोलकबोल आज दिउँसो ३ बजेसम्म खुला रहनेछ। प्राप्त बोलकबोलका आधारमा मंगलबार ट्रेजरी बिल जारी गरिनेछ। यसका लागि लाग्ने ब्याजदर प्रतिस्पर्धात्मक बोलकबोल प्रक्रियाबाट निर्धारण हुने व्यवस्था रहेको छ।

कार्यालयले ९१ दिने अवधिको ट्रेजरी बिलमार्फत ५ अर्ब रुपैयाँ, १८२ दिने अवधिबाट ५ अर्ब रुपैयाँ तथा ३६४ दिने अवधिबाट ९ अर्ब रुपैयाँ आन्तरिक ऋण संकलन गर्ने योजना बनाएको छ।

यसअघि सम्पन्न बोलकबोलमा ९१ दिने ट्रेजरी बिलको भारित औसत ब्याजदर २.५७ प्रतिशत र ३६४ दिने ट्रेजरी बिलको २.५६ प्रतिशत कायम भएको थियो।

सो प्रक्रियामा बैंक तथा वित्तीय संस्थाले अधिकतम २.७५ प्रतिशतदेखि न्यूनतम २.२४ प्रतिशतसम्मको ब्याजदर प्रस्ताव गरेका थिए।

प्रतिक्रिया दिनुहोस