काठमाडौँ । बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमानले नेपालमा प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएकोमा नेपाल सरकार तथा नेपाली जनतालाई बधाई दिएका छन् ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले हिजो राति राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहलाई फोन गरेर बधाई दिएका थिए । त्यसपछि प्रधानमन्त्री रहमानले पनि शुभकामना सन्देश जारी गरेर नेपालको लोकतान्त्रिक अभ्यासको प्रशंसा गरेका थिए ।
निर्वाचनले नेपाली जनताको आकांक्षा, धैर्यता र लोकतान्त्रिक संस्थाहरूको मजबुती झल्काएको उनले उल्लेख गरेका छन् । उनले नेपालमा सम्पन्न निर्वाचनलाई “महत्त्वपूर्ण लोकतान्त्रिक अभ्यास”को संज्ञा दिँदै नेपाली जनताले लोकतन्त्रप्रति देखाएको प्रतिबद्धताको खुलेर प्रशंसा गरेका छन्।
सन्देशमा उनले बङ्गलादेश र नेपालबिचको दीर्घकालीन मित्रता र सहकार्यलाई अझ मजबुत बनाउने अपेक्षा व्यक्त गरेका छन् । “बङ्गलादेश नेपालसँगको पुरानो मित्रता र सहकार्यलाई अझ सुदृढ बनाउन नयाँ सरकार तथा नेपाली जनतासँग नजिकबाट सहकार्य गर्न इच्छुक छ,” उनले उल्लेख गरेका छन् ।
प्रधानमन्त्री रहमानले आगामी दिनमा दुई देशबिच व्यापार, विकास तथा क्षेत्रीय सहकार्यका क्षेत्रमा सम्बन्ध थप विस्तार हुने विश्वास पनि व्यक्त गरेका छन् । नेपालमा सम्पन्न पछिल्लो निर्वाचनपछि विभिन्न देशका नेताहरूले पनि शुभकामना सन्देश पठाइरहेका छन् ।
बङ्गलादेशमा पनि सन् २०२४ मा नेपाल जस्तै जेनजी (विद्यार्थी) आन्दोलन भएको थियो । आन्दोलनपछि गत माघ २९ गते आम निर्वाचन भएको थियो । त्यसमा बीएनपीले बहुमत ल्याएपछि सो दलका अध्यक्ष रहेका रहमान फागुन ५ गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २६ फागुन २०८२, ०७ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बङ्गलादेशमा हिन्दु युवाको हत्या प्रकरणमा १० जना पक्राउ