काठमाडौं । सरकारले गत भदौं २३ र २४ मा भएको जनेजी आन्दोलनको सत्यतथ्य छानबिन गरी कारवाहीसहित सिफारिसको प्रतिवेदन बनाउन गठन गरेको जाँचबुझ आयोगले आफ्नो प्रतिवेदन आज सरकारलाई बुझाउँदै छ ।
प्रधानमन्त्री सुशीला कार्कीलाई आयोगका पदाधिकारीले आज बिहान ११ बजे सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालयमा प्रतिवेदन बुझाउन लागेको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलका अनुसार प्रतिवेदन बुझन प्रधानमन्त्रीले आयोग पदाधिकारीलाई बिहान ११ बजेको समय उपलब्ध गराएकी छिन् ।
कार्की नेतृत्वको सरकारले उक्त घटना जाँचबुझ गर्न र दोषीउपर आधारसहितको कारवाही सिफारिस गर्न विशेष अदालतका पूर्व मुख्य न्यायाधीस गौरीवहादुर कार्कीको अध्यक्षतामा जाँचबुझ आयोग बनाएको थियो ।
आयोगलाई सरकारले तीन पटक म्याद थप समेत गरेको थियो । आयोगको तेस्रो पटक थप भएको पदावधि समेत आजै सकिदैछ । सोही कारण आयोगले आजै सरकारलाई प्रतिवेदन बुझाउन लागेको हो ।
निर्वाचन अगाडी नै आयोगले प्रतिवेदन तयार पारेपनि निर्वाचनको वातावरण विथोलिन सक्ने देखिएकोले सरकारले प्रतिवेदन बुझन चाहेको थिएन । तर, निर्वाचन सकिएको र करिव प्रत्यक्ष तर्फको परिणाम समेत आउने अन्तिम चरणमा रहेका बेला आयोगले आज आफनो कार्यकाल सकिने दिन प्रतिवेदन बुझाउन लागेको हो ।
आयोगले जेनजी आन्दोलनको पृष्ठभूमि, घटना विवरण, आन्दोलनमा जेनजी युवाको हत्या गर्ने र आन्दोलन भड्काउनेको पहिचानसहितको प्रतिवेदन तयार पारेर सरकारलाई बुझाउन लागेको बताएको छ ।
आयोगको प्रतिवेदन बुझे लगत्तै सरकारले मन्त्रीपरिषद्को बैठक राखेर त्यसको कार्यान्वयनका लागि सम्वन्धित निकाय (सुरक्षा निकाय) लाई पठाउने तयारी गरेको छ ।प्रतिवेदन सार्वजनिक गर्ने भन्दा पनि मन्त्रीपरिषद्को बैठक तत्कालै राखेर त्यसलाई कार्यान्वयननमा लैजाने गरी सरकार अगाडी जान लागेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार रावलले जानकारी दिए ।
प्रधानमन्त्री सुशीला कार्कीले चुनाव सम्पन्न भएलगत्तै एक अन्तवार्तामा पनि आयोगको प्रतिवेदन बुझेर कारवाही प्रक्रिया अगाडी बढाउने र तत्काल नयाँ जनादेश अनुसारको सरकार गठनका लागि मार्गप्रसस्त गर्ने तयारीमा आफु रहेको बताएकी थिइन् । जसकाकारण पनि कार्की जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयनका लागि मन्त्रीपरिषद्को बैठकबाट निर्णय गराउने योजनामा लागेकी छिन् ।
प्रतिवेदन बुझाएपछि आयोग अध्यक्ष मोवाइल फ गरेर बस्ने
छानबिन आयोग अध्यक्ष गौरीबहादुर कार्कीले प्रतिवेदन बुझाएपछि आफु मोवाइल अफ गरेर बस्ने बताएका छन् । प्रतिवेदन बुझाएपछि आफुलाई धेरै फोन आउनसक्ने, दवाव आउन सक्ने भएकाले आफु भने मोवाइल अफ गरेर बस्ने बताएका छन् । ‘केही परे प्रवक्तालाई सोध्नुस्, मेरो चँही प्रतिवेदन बुझाएपछि काम सकिने भएकोले मोवाइल अफ हुन्छ’ उनले पत्रकारहरुसँग भन्न थालेका छन् ।
आयोगले सदस्य विज्ञानराज शर्मालाई प्रवक्ता तोकेको थियो । आयोगले जेनजी आन्दोलनका बेला दोषी देखिएकालाई कारवाही गर्ने आधारसहितको प्रतिवेदन तयार पारेको जनाएको छ । २३ र २४ गतेको घटनालाई बेग्ला बेग्लै विश्लेषण र अनुसन्धान गरेर प्रतिवेदन तयार पारेको आयोगले जनाएको छ ।
आयोगले प्रतिवेदन बुझाउन लागेपछि र निर्वाचन परिणामपनि आफुहरुको पक्षमा नदेखिएपछि तत्कालिन प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी ओलीले भने आफुसँग भेट गर्न पुगेका नेता कार्यकर्तासँग एमालेमाथी धरपकड बढ्न सक्ने संकेत गरेका छन् । उक्त घटनामा कलिला बालबालिकासहित ७६ जनाको मृत्यु भएको थियो भने राज्यका भौतिक संरचनासमेत आगजानी गराइएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २४ फागुन २०८२, ०९ : ३६
लेखकबाट थप