खामेनीको मृत्यु र विश्वको सावधानीपूर्ण प्रतिक्रिया

सफल खबर संवाददाता

आइतबार, १७ फागुन २०८२, १२ : ३४
खामेनीको मृत्यु र विश्वको सावधानीपूर्ण प्रतिक्रिया

काठमाडौँ । अमेरिका र इजरायलले इरानमाथि सुरु गरेको व्यापक सैन्य आक्रमण र इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको रिपोर्ट गरिएको मृत्युले मध्यपूर्वलाई अनिश्चित मोडमा पुर्‍याएको छ ।

सन् १९७९ को इस्लामिक क्रान्तिपछि सत्तामा रहेको इस्लामिक गणतन्त्रका दोस्रो सर्वोच्च नेताको निधन भएको समाचार बाहिरिएसँगै क्षेत्रीय शक्ति सन्तुलन, आणविक कार्यक्रमको भविष्य र सम्भावित व्यापक युद्धबारे विश्वभर गम्भीर चासो व्यक्त गरिएको छ । विश्व नेताहरूले सावधानीपूर्वक प्रतिक्रिया जनाउँदै संयमता र कूटनीतिक पहलको आह्वान गरेका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत खामेनीको मृत्यु पुष्टि गर्दै यसलाई ‘इरानी जनताका लागि आफ्नो देश फिर्ता लिने सबैभन्दा ठूलो अवसर’ बताएका छन् । इरानी सरकारी सञ्चारमाध्यमले ८६ वर्षीय नेताको निधन भएको जनाएको छ, तर कारण खुलाएको छैन । इजरायली अधिकारीहरूले नाम नछाप्ने सर्तमा उनको मृत्यु भएको जानकारी दिएका थिए भने इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले टेलिभिजन सम्बोधनमा खामेनीको कम्पाउन्डमा गरिएको आक्रमणपछि उहाँको मृत्यु भएको ‘बढ्दो सङ्केत’ देखिएको उल्लेख गरेका छन् ।

खामेनीको स्पष्ट उत्तराधिकारी सार्वजनिक रूपमा तोकिएको थिएन । त्यसैले उहाँको सम्भावित निधनले इरानको राजनीतिक संरचना र नेतृत्व सङ्क्रमणलाई लिएर अन्योल थपिएको छ । विश्लेषकहरूले यसले आन्तरिक शक्ति सङ्घर्ष चर्किन सक्ने र बाह्य द्वन्द्व तीव्र हुन सक्ने संकेत गरेका छन् । संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले यसै विषयमा आपत्कालीन बैठक बोलाएको छ ।

प्रतिक्रिया दिनुहोस