काठमाडौँ। निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले शताब्दीकै पेचिलो निर्वाचनलाई आयोगले सरल बनाएको बताएका छन् । गोरखापत्र संस्थानले आइतबार काठमाडौँमा आयोजना गरेको निर्वाचन समाचार अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
उनले भने, ‘शताब्दीकै पेचिलो निर्वाचनलाई सरल बनाएका छौँ । देशमा बिथोलिएको वातावरणलाई लयमा ल्याउने विकल्प निर्वाचन बाहेक अर्को छैन ।’
उनले निर्वाचनको विकल्प निर्वाचन भएकाले तोकिएकै समयमा निर्वाचन हुने भएकोले ढुक्क भएर तयारीमा लाग्न आग्रह गरेका छन् ।
कार्यक्रममा उनले केही तत्त्वहरूले निर्वाचन बिथोल्ने प्रयास गरे पनि त्यो प्रयास सफल नहुने बताएका छन् । उनले तोकिएकै मिति र समयमा निर्वाचन सम्पन्न हुने उल्लेख गरेका छन् । अझै पनि केही उम्मेद्वारहरुले आफूलाई निर्वाचनको बारेमा संशय राखेर फोन गर्ने गरेको उल्लेख गर्दै भ्रममा नपरी निर्वाचनको प्रचारप्रसारमा लाग्न सुझाव दिएका छन्।
उनले केही कुण्ठित व्यक्तिहरूले निश्चित उद्देश्य पूरा गर्न अनावश्यक हल्ला फैलाउने प्रयास गर्न सक्ने उल्लेख गरेका छन्। अब नेपाली जनता त्यस्ता प्रायोजित हल्लाका साक्षी बस्न नसक्ने उनको भनाइ छ ।
निर्वाचनको विकल्प निर्वाचन नै भएको दोहोर्याउनै उनले निर्वाचनको वातावरण बिथोलिने अवस्था अब नबन्ने जिकिर गरेका छन् ।
राजनीतिक दल, उम्मेदवार र तिनका कार्यकर्ता निर्वाचन प्रचार-प्रसारमा सक्रिय रहेको र उनीहरूले पनि निर्वाचन बाहेक अर्को विकल्प नदेखेको उनको भनाइ छ । नयाँ पुराना सबै शक्तिले समेत निर्वाचनलाई नै मार्गका रूपमा स्वीकार गरेको उनको दाबी छ । नेपालमा सुशासन प्रवाह गर्ने पवित्र उद्देश्य र आकांक्षा राखेर बसेका व्यक्तिलाई भ्रममा पारेर, धमिलो पानीमा माछा मार्ने प्रयास सफल हुने उनले बताएका छन् । निर्वाचन बिथोल्ने वा अस्थिरता सिर्जना गर्ने कुनै पनि गतिविधि सरकारले निषेध गर्ने र निर्वाचन आयोगले समेत नजिकबाट अनुगमन गरिरहेको उनले स्पष्ट पारेका छन् ।
निर्वाचनको वातावरण निर्माणमा देखिएका कमजोरी सुधार गर्न सरकारलाई आवश्यक सुझाव दिइरहेको जानकारी पनि उनले दिए । उनले निर्वाचनलाई बिथोल्ने प्रयास कहीबाट पनि नहुने प्रष्ट पारेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १० फागुन २०८२, १४ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निर्वाचनको शान्ति सुरक्षामा कुनै शंका नगर्न कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीको अनुरोध