राष्ट्रिय सभाको बैठकमा तीन अध्यादेश दर्ता, समितिका प्रतिवेदन पनि पेश

सफल खबर संवाददाता

शुक्रबार, ०९ माघ २०८२, १६ : ५६
राष्ट्रिय सभाको बैठकमा तीन अध्यादेश दर्ता, समितिका प्रतिवेदन पनि पेश

काठमाडौँ । राष्ट्रिय सभाको आज सम्पन्न बैठकमा सरकारका तर्फबाट विभिन्न प्रस्ताव प्रस्तुत गरिएका छन्। बैठकमा गृहमन्त्री ओमप्रकाश अर्यालले तीनवटा अध्यादेश सभासमक्ष दर्ता गराएका हुन्।

मन्त्री अर्यालले मतदाता नामावली ऐन संशोधनसम्बन्धी अध्यादेश, प्रतिनिधि सभा सदस्य निर्वाचन ऐनको पहिलो संशोधन अध्यादेश तथा नेपाल विशेष सेवा ऐनको दोस्रो संशोधन अध्यादेश प्रस्तुत गरेका हुन्।

बैठकमा विकास, आर्थिक मामिला तथा सुशासन समितिकी सभापति कमला पन्तले राष्ट्रिय सदाचार नीतिसम्बन्धी अध्ययन प्रतिवेदन सभामा पेश गरिन्। साथै, विधायन व्यवस्थापन समितिकी सभापति तुलसाकुमारी दाहालले पर्यटन विधेयकसँग सम्बन्धित समितिको प्रतिवेदन प्रस्तुत गरिन्।

यसै अवसरमा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठन तथा कार्यभार तोकिएको सम्बन्धी जानकारी सभामा वाचन गरेर सुनाएका थिए।

बैठकले पूर्वमन्त्रीहरु षिकेश गौतम, मोहम्मद अफ्ताब आलम, आमोदप्रसाद उपाध्याय, होमनाथ दाहाल तथा पूर्वसांसद कृष्णकुमारी श्रेष्ठको निधनप्रति शोक व्यक्त गर्दै शोक प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको छ।

राष्ट्रिय सभाको आगामी बैठक यही माघ १३ गते मंगलबार दिउँसो १ बजेर १५ मिनेटमा बस्ने तय गरिएको छ।

प्रतिक्रिया दिनुहोस