काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने तयारी गरिएको छ। बैठक सुरु हुनुअघि नै पार्टी कार्यालय परिसरमा पदाधिकारी, केन्द्रीय सदस्य तथा नेता-कार्यकर्ताको उल्लेख्य उपस्थिति देखिएको छ।
दोस्रो विशेष महाधिवेशनमार्फत सभापतिमा निर्वाचित गगन थापा सभापतिको जिम्मेवारी सम्हालेपछि पहिलो पटक औपचारिक रूपमा पार्टी केन्द्रीय कार्यालय पुग्दै छन्। सभापति थापासहित नवनिर्वाचित पदाधिकारीले पदभार ग्रहण गरेपछि केन्द्रीय कार्यसमिति बैठक प्रारम्भ हुने उपसभापति पुष्पा भुसालले जानकारी दिएकी छन्।
आजको बैठकले सभापति थापालाई आगामी प्रतिनिधि सभा निर्वाचनका लागि प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सार्ने निर्णय औपचारिक रूपमा गर्ने तयारी रहेको बताइएको छ। फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै पार्टीलाई चुनावी प्रतिस्पर्धामा होम्ने उद्देश्यले बैठक आह्वान गरिएको उपसभापति भुसालको भनाइ छ।
बैठकको कार्यसूचीमा प्रधानमन्त्रीको उम्मेदवारी घोषणा, निर्वाचन परिचालन तथा अभियानसम्बन्धी विभिन्न समिति गठन र समसामयिक राजनीतिक अवस्थाबारे छलफल समावेश रहेको नेताहरूले बताएका छन्।
यसअघि पुस २७ देखि माघ १ गतेसम्म सम्पन्न काँग्रेसको दोस्रो विशेष महाधिवेशनबाट गगन थापा सभापतिमा निर्वाचित भएका थिए। बैठक सम्पन्न भएपछि सभापति थापा चुनावी कार्यक्रमका लागि सर्लाही निर्वाचन क्षेत्र नम्बर-४ जाने कार्यतालिका रहेको छ। अघिल्लो निर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर-४ बाट निर्वाचित थापा यसपटक सर्लाही-४ बाट उम्मेदवार बनेका हुन्। उनले माघ ६ गते वारेसमार्फत उम्मेदवारी दर्ता गराइसकेका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०९ माघ २०८२, १३ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कर नीति र बजेटले मध्यम वर्गलाई थप मारमा पार्यो : गगन थापा
प्रधानमन्त्रीले सदनमा माफी माग्नुपर्छ : गगन थापा
‘नागरिकको सर्वोच्चता काँग्रेसको पहिलो प्राथमिकता हो’: गगन थापा
बकर इद सम्पूर्ण जातजाति तथा धर्मावलम्बीहरूमा एकताको सन्देश दिन सफल : गगन थापा
पार्टी विधानविपरीत चल्नेलाई कारबाही हुन्छ: महामन्त्री गगन थापा
देशका मूल मुद्दामा केन्द्रित हुनुपर्नेमा गगन थापाको जोड