काठमाडौँ । नेपाली काँग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरू शुक्रबार पार्टीको केन्द्रीय कार्यालय सानेपामा भेला हुने भएका छन्। महामन्त्री प्रदीप पौडेलका अनुसार काठमाडौँमा उपस्थित रहने नेताहरूको सहभागितामा बैठक आयोजना गर्न लागिएको हो।
पुस ३० गते सम्पन्न विशेष महाधिवेशनबाट गगनकुमार थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति चयन भएको थियो। यद्यपि, निर्वाचित भएपछि थापाले प्रारम्भिक दुई बैठक तथा फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार छनोटसम्बन्धी संसदीय बोर्डको बैठक होटेलमै आयोजना गरेका थिए। यसअघिसम्म नयाँ नेतृत्व औपचारिक रूपमा केन्द्रीय कार्यालय पुगेको थिएन।
पार्टी स्रोतका अनुसार शुक्रबार बस्ने बैठकले सभापति थापालाई आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काँग्रेसको प्रधानमन्त्री पदको उम्मेदवारका रूपमा सार्वजनिक गर्ने निर्णय गर्ने तयारी छ। निर्वाचनको मिति नजिकिँदै जाँदा अन्य दलहरूले पनि आ–आफ्ना प्रधानमन्त्रीका उम्मेदवार घोषणा गरिसकेका छन्। नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीलाई अघि सारेको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीले बालेन्द्र साहलाई उम्मेदवार घोषणा गरेको छ।
काँग्रेसभित्र विशेष महाधिवेशनको वैधताबारे विवाद कायमै रहँदै आएको छ। गगन थापा र विश्वप्रकाश शर्मालगायतका नेताहरूको पहलमा विशेष महाधिवेशन आह्वान भएपछि निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले असहमति जनाएको थियो। यद्यपि, देउवा समूहका नेताहरूले औपचारिक रूपमा आपत्ति जनाए पनि थापाकै हस्ताक्षर भएको टिकटमार्फत उम्मेदवारी दर्ता गराएका छन्।
यसैबीच, तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहित देउवा समूहले विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई मान्यता नदिन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेको थियो। तर, सर्वोच्चले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरिसकेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०८ माघ २०८२, १३ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेस केन्द्रीय कार्यालयमा लगाइएको ताला खोलियो
काँग्रेस केन्द्रीय कार्यालयमा आगजनी र तोडफोड