दल बदलेर रास्वपाबाट उम्मेदवार बन्नेको लर्काे

सफल खबर संवाददाता

बुधबार, ०७ माघ २०८२, ०८ : ४७
दल बदलेर रास्वपाबाट उम्मेदवार बन्नेको लर्काे

काठमाडौं । चुनावका मुखमा दल अदलबदल सामान्य जस्तै बनेको छ । आफु रहेको पार्टीले चुनावमा टिकट नदिएपछि अर्काे दल प्रवेश गर्ने र लगत्तै चुनावमा टिकट लिने परम्परा नयाँ र नौलो होइन ।

आफ्नै पार्टीभित्र टिकटको वार्गेनिङ गर्ने र समानान्तर अर्काे पार्टीसँग पनि छलफल गरेर यता नभए उता, उता नभए यता पुग्ने प्रवृत्ति नेपालमा नयाँ होइन । 

यसपटक खासगरी अन्य दलबाट राष्ट्रिय स्वतन्त्र पार्टीमा पुगेर उम्मेद्वारी लिनेको संख्या बढी देखिएको छ । रास्वपाको यसपटक चुनावमा मतदाताका बीचमा रुझान बढी देखिएकोले पनि अन्य दलका नेताहरुको रास्वपाप्रतिको झुकाव बढी देखिएको छ । 

अन्य राजनीतिक दलका सांसद भईसकेका जनप्रतिनिधि नेता रास्वपा प्रवेश गरेर टिकट पक्का गरेर चुनावी मैदानमा होमिएका छन् । पहिले कांग्रेस र पछि स्वतन्त्रबाट चुनाव जितेका अमरेशकुमार सिंह यस पटक रास्वपा प्रवेश गरेर सर्लाही–४ मा उम्मेदवार बनेका छन् । यतिसम्मकी उनले रास्वपाले प्रस्तावित गरेका प्रधानमन्त्रीका उम्मेदवार बालेनशाह प्रधानमन्त्री नबने आत्मदाह नै गरिदिने चर्काे भाषण समेत गरेका छन् । प्रदेश सांसद रहेका लोसपाका कन्हैया बानियाँ पनि यसपटक टिकट लिनकै लागि रास्वपा प्रवेश गरेका छन् । उनी रूपन्देही–४ बाट रास्वपाबाट चुनावी मैदानमा उत्रिएका छन् । 

कांग्रेसका विक्रम खनाल पनि रास्वपाबाट पश्चिम नवलपरासी–१ मा उम्मेदवार बनेका छन् । राप्रपाका प्रकाश रजौरिया अन्तिम समयमा रास्वपा प्रवेश गरेर कपिलवस्तु–३ मा उम्मेदवार बनेका छन् । राप्रपाका बागमती प्रदेश सांसद रहेका सुनिल केसी पनि रास्वपा प्रवेश गरेका छन् । रास्वपा प्रवेश गरेपछि उनलाई रास्वपाको काठमाडौं २ बाट उम्मेदवार बनेका छन्। त्यस्तै मधेस प्रदेशमा नेपाली कम्युनिष्ट पार्टीबाट (माओवादीबाट) सांसद रहेका रहबर अन्सारी पनि बारा ४ मा रास्वपा प्रवेश गरेर उम्मेदवार बनेका छन् । 

जनप्रतिनिधि मात्रै होइन, चुनाव गराउन सरकारमा आएको अन्तरिक सरकारका दुई मन्त्रीले पनि रास्वपा प्रवेश गरेर मन्त्रीबाट राजीनामा दिएर चुनावी मैदानमा छन् । सञ्चारमन्त्री रहेका जगदीश खरेल रास्वपा प्रवेश गरेर ललितपुर २ र खेलकुदमन्त्री बब्लु गुप्ता सिराहा १ बाट उम्मेदवार बनेका छन् ।

प्रतिक्रिया दिनुहोस