काठमाडौँ । नेपाली कांग्रेसमा संस्थापन पक्षको असहमतिबिच आजदेखि विशेष महाधिवेशन पक्षधरको आह्वानमा विशेष महाधिवेशन सुरु हुँदैछ ।
काठमाडौँस्थित भृकुटीमण्डपमा दिउँसो १ः०० बजे विशेष महाधिवेशनको उद्घाटन हुने तय भएको छ । उद्घाटन सत्रका लागि भृकुटीमण्डपको खुला चौरमा ५० जना अतिथि अटाउने गरी मञ्च निर्माण गरिएको छ ।
त्यसैगरी मञ्चको अगाडि खुला चौरमा भने छ हजारभन्दा बढी कुर्सीको व्यवस्थापन गरिएको विशेष महाधिवेशनका लागि गठन गरिएको मञ्च व्यवस्थापन समितिका संयोजक गोविन्द पुडासैनीले जानकारी दिए । मञ्च वरिपरि कांग्रेसको झण्डा, गेट, ब्यानर तथा प्रचारप्रसारका सामग्री राखेर सजाइएको छ ।
पुडासैनीका अनुसार उद्घाटनका दिन काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट आउने र्यालीलाई व्यवस्थित तरिकाले कार्यक्रममा सहभागी गराउने गरी तयारी थालिएको छ । विशेष महाधिवेशनको सभापतित्व कांग्रेस काठमाडौँका सभापति कृष्ण सबुज बानियाँले गर्ने तय भएको जनाउँदै उनले विशेष महाधिवेशनमा अन्य राजनीतिक दलका नेतालाई भने आमन्त्रण नगरिएको बताए ।
मुलुकभरबाट विशेष महाधिवेशनमा भाग लिन आउने महाधिवेशन प्रतिनिधिमध्ये अधिकांश प्रतिनिधि आइसकेको र केही प्रतिनिधि आउने क्रम जारी रहेको आयोजक समितिले जनाएको छ ।
आवास तथा खाना व्यवस्थापन समितिका संयोजक रमेश धमलाका अनुसार काठमाडौँका विभिन्न स्थानमा तीन हजार ६०० प्रतिनिधिका लागि आवासको व्यवस्थापन गरिएको छ । साथै थप दुई–दुई सय प्रतिनिधिका लागि तत्काल व्यवस्थापन हुनेगरी प्रबन्ध मिलाइएको उनले जानकारी दिए ।
यसैगरी महाधिवेशन प्रतिनिधिहरुका लागि आयोजनास्थमै खाना र नास्ताको व्यवस्था गरिएको छ । महाधिवेशनमा सहभागी हुन आउने प्रतिनिधिहरुले रु एक हजार शुल्क तिरेपछि एउटा झोलासहित खानाको कुपन पाउने व्यवस्था गरिएको छ । विशेष महाधिवेशनको उद्घाटनपछि बन्दसत्र भृकुटीमण्डपको सभाहलमा हुनेछ । बन्दसत्रमा छलफल हुने नीतिगत दस्तावेजका बारेमा भने हालसम्म धेरै विषय सार्वजनिक भइसकेका छैनन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २७ पुस २०८२, ०७ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
झापामा कांग्रेस–एमालेलाई बालेनले दिए झट्का : कांग्रेस एमालेकै जिम्मेवार नेताहरु पार्टी छोड्दै रास्वपा प्रवेश
कांग्रेसमा देउवा र गगनका बीचमा दुई बुँदे अन्तरिम सहमति
कांग्रेस विवाद : देउवा समूहको रिटमा आज पेसी
देउवा चुनाव नलड्ने : कांग्रेसका उम्मेदवार कसले कहाँबाट पाए टिकट ?
काँग्रेस संसदीय बोर्डको बैठक बस्दै
पार्टीको आधिकारिकता दाबी गर्दै कांग्रेसको देउवा समूह आज सर्वोच्च जाँदै