बन्द सूचीबाट उम्मेदवारले नाम फिर्ता लिएमा अर्को थप्न समय दिइने

सफल खबर संवाददाता

शनिबार, १९ पुस २०८२, ११ : २०
बन्द सूचीबाट उम्मेदवारले नाम फिर्ता लिएमा अर्को थप्न समय दिइने

काठमाडौँ । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फको बन्द सूचीमा समावेश भएका कुनै उम्मेदवारले तोकिएको समयमा आफ्नो नाम फिर्ता लिन सक्ने र त्यसरी फिर्ता भएको स्थानमा सम्बन्धित दलले अर्को उम्मेदवार थप्न पाउने जनाइएको छ ।

निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि निर्धारित यही पुस १३ र १४ गते ६४ राजनीतिक दलका तर्फबाट प्राप्त उम्मेदवारीको मनोनयन गरिएकामा त्यसमाथि रुजु भइरहेको जनाएको छ ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार सूचीमा कानुनबमोजिम समावेशी समूह मिले नमिलेको रुजु गरेर यही पुस २० गतेभित्र सम्बन्धित दललाई सूचित गर्ने र पश्चात् दलहरूले सच्याएर यही पुस २७ गतेभित्र पुनः पेस गर्नुपर्नेछ । त्यसरी पेस गरिएको संशोधित सूचीमा परेका कुनै उम्मेदवारले आफ्नो नाम फिर्ता लिन चाहेमा पुस २८ गतेका लागि समय दिइनेछ । फिर्ता हुन आवेदन दिइएको उम्मेदवारका बारेमा सम्बन्धित दललाई आयोगले सूचित गर्ने र दलले अर्को उम्मेदवार पठाउन पाउनेछ ।

 

आगामी माघ ४ गते बन्द सूची सार्वजनिक गरिनेछ । आम सर्वसाधारणले त्यो सूचीमा रहेका उम्मेदवार कानुनी रूपमा अयोग्य रहेको भनी दाबी विरोध गरेमा छानबिन गरी माघ २० गते अन्तिम नामावली प्रकाशन गरिने आयोगले जनाएको छ । उक्त सूची पश्चात् परिवर्तन हुने छैन ।