गुल्मी । थप ३० नयाँ प्रजातिको चरा फेला परेसँगै गुल्मीमा हालसम्म चरा प्रजातिहरूको सङ्ख्या ३५५ पुगेको छ । नेपाल पन्छी संरक्षण सङ्घले जिल्लामा हालै गरेको चरा गणनामा थप ३० नयाँ प्रजातिको चरा फेला परेका हुन् ।
जिल्लाको रेसुङ्गा, मदाने र थाप्ले सत्यवतीको वन संरक्षण क्षेत्रमा गरिएको चरा सर्वेक्षणमा उक्त चरा फेला परेको नेपाल पन्छी संरक्षण सङ्घ गुल्मीका परियोजना अधिकृत शम्भु भट्टराईले जानकारी दिए ।
सर्वेक्षणको क्रममा रेसुङ्गा वन संरक्षण क्षेत्र, मदाने वन संरक्षण क्षेत्र र थाप्ले सत्यवती वन संरक्षण क्षेत्रमा नयाँ २५ प्रजातिका चरा फेला परेको परियोजना अधिकृत भट्टराईले बताए ।
यसअघि रेसुङ्गा र मदाने वन संरक्षित क्षेत्रमा वर्षमा दुई पटक चरा सर्वेक्षण गरिँदै आएकामा यस पटकको सर्वेक्षणमा थाप्ले सत्यवती वन संरक्षण क्षेत्रमा पनि चरा सर्वेक्षण गरिएको थियो ।
नयाँ फेला परेका चराका प्रजातिमा तिलहरी, मोटो ठूँडे पुष्प कोकिला, उमाचाँचर, तिबिल्चे, मुरालिडे ढिकुरे भ्याकुर, निलो लघुपङ्ख, हटचुर चाँचर, हलीमुख, सिम कुखुरालगायत रहेको जनाइएको छ ।
विश्वमा पाइने दुर्लभ चरामध्ये गुल्मीमा छ प्रजातिका चरा पाइन्छन् । ती चराहरूमा रेसुङ्गा वन संरक्षित क्षेत्रमा चिरकालीज, रणमत्त महाचिल, डङ्गर गिद्द, सेतो गिद्द, सुन गिद्द र गोमायो माहाचिल छन् । काँडे भ्याकुर रेसुङ्गा, मदाने र थाप्ले सत्यवती वन क्षेत्रमा रेकर्ड गरिएको छ ।
नेपालमा पाइने ९०३ प्रजातिका चरामध्ये गुल्मीमा करिब ४० प्रतिशत चरा फेला परेको नेपाल पन्छी संरक्षण सङ्घले जनाएको छ । सङ्घले विभिन्न समयमा गरेकोे पन्छी सर्वेक्षण अनुसार रेसुङ्गा वन क्षेत्रमा २७६ प्रजाति र मदाने वन संरक्षण क्षेत्रमा २८९ प्रजाति र थाप्ले सत्यवती वन संरक्षण क्षेत्रमा १९६ प्रजातिका चरा फेला परेका छन् ।
तीन वटै वन संरक्षण क्षेत्रमा गरिएको पछिल्लो सर्वेक्षणअनुसार जम्मा ३५५ प्रजातिका चराको तथ्याङ्क अभिलेख गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १९ पुस २०८२, ०७ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
तालतलैयामा पाहुना चराको चहलपहल
शुक्लाफाँटामा विश्वकै दुर्लभ १९ प्रजातिका चरा
कोटेरो मुनियाँ चरा
कोशीटप्पुमा भेटिए ७६ प्रजातिका नौ हजार दुई सय पचास चरा
सिमसार क्षेत्रमा पाइने चराको अस्तित्व खतरामा
बाँकेमा भेटिए बीस प्रजातिका चरा