सरकार निर्वाचनको तयारीमा केन्द्रित छ: कानुन मन्त्री सिन्हा

सफल खबर संवाददाता

आइतबार, २८ मंसिर २०८२, १४ : ३४
सरकार निर्वाचनको तयारीमा केन्द्रित छ: कानुन मन्त्री सिन्हा

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अनिलकुमार सिन्हाले सरकार निर्वाचनको तयारीमा केन्द्रित रहेको बताएका छन् ।

१९औँ संघीय संसद् सेवा दिवसको अवसर पारेर आइतबार सिंहदरवारमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

मन्त्री सिन्हाले निर्वाचनपछि प्रतिनिधिसभालाई अझ जीवन्त बनाउनुपर्ने आवश्यकता औँल्याउँदै त्यसका लागि संसद् सेवाका कर्मचारीहरूको भूमिका महत्त्वपूर्ण हुने बताए ।

हामी निर्वाचनको तयारीमा लागेका छौँ । निर्वाचन गरेपछि प्रतिनिधिसभालाई अझ जीवन्त बनाउन हामी सबैको सहयोगको आवश्यकता रहेको छ । जनप्रतिनिधिहरूको सर्वोच्च संस्था रही कानुन निर्माण गर्ने मुख्य जिम्मेवारी बोकेको संघीय संसद्को विशेष सहयोगीको रूपमा रहेको संसद् सेवालाई लिइन्छ । यो सेवा एक विशिष्टीकृत सेवा हो,’ उनले भने ।

उनले कानुनहरू स्पष्ट, सरल, बोधगम्य र पठनयोग्य हुने गरी निर्माण गर्नका लागि सरकारले अध्ययनको कामलाई अघि बढाएको बताए । त्यसमा संघीय संसद्को सुझाव अति उपयोगी हुने उनको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस