काठमाडौँ । नेपाल राष्ट्र बैंकले ६ अर्ब ६० करोड लगानी गर्ने भएको छ । राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको उक्त रकम वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीमा लगानी गर्ने भएको हो ।
केन्द्रीय बैंकका अनुसार ‘क’ वर्गका वाणिज्य बैंक, ‘ख’ वर्गका राष्ट्रिय स्तरका विकास बैंक र ‘ग’ वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीमा उक्त परिमाण बराबर रकम मुद्दती निक्षेपमा लगानी गरिने छ ।
वाणिज्य बैंकमा ५ अर्ब २८ करोड , विकास बैंकमा ९९ करोड र वित्त कम्पनीमा ३३ करोड मुद्दती निक्षेपमा लगानी गरिने राष्ट्र बैंकले जनाएको छ । १८ डिसेम्बर २०२५ देखि १८ डिसेम्बर २०२६ सम्म ३ सय ६६ दिनको मुद्दती निक्षेपमा उक्त रकम लगानी गर्न लागिएको केन्द्रीय बैंकले जनाएको छ ।
निक्षेपमा रकम लिन चाहने बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा भएको हुनुपर्ने, राष्ट्र बैंकबाट तोकिएको न्यूनतम पुँजीकोष कायम गरेको हुनुपर्ने, निष्क्रिय कर्जा कुल कर्जा सापटीको ५ प्रतिशतभन्दा कम हुनुपर्ने, खुद तरल सम्पत्ति केन्द्रीय बैंकले तोकेको न्यूनतम सीमा कायम गरेको हुनुपर्ने, कर्जा-निक्षेप अनुपात समय-समयमा निर्धारण गरिएको सीमाभित्र रहेको हुनुपर्ने र निकटतम अघिल्लो आर्थिक वर्षमा खुद मुनाफामा रहेको हुनु पर्ने सर्त राष्ट्र बैंकको छ ।
त्यसैगरी निक्षेप लगानी गरिने संस्थाको कुनै पनि सञ्चालक वा प्रमुख कार्यकारी अधिकृत (सिइओ)लाई राष्ट्र बैंकले जरिवाना गरेको अवस्थामा त्यस्तो जरिवाना गरिएका सञ्चालक वा सिइओ उक्त संस्थामा कायम नरहेको हुनुपर्ने र यदि कायम रहेको भए जरिवाना भुक्तान गरेको मितिले ६ महिना अवधि पूरा भएको हुनुपर्ने, शीघ्र सुधारात्मक कारबाहीमा परेको भए फुकुवा भएको कम्तीमा ६ महिना पूरा भएको हुनुपर्ने पनि सर्त राष्ट्र बैंकको छ ।
त्यस्तै राष्ट्र बैंकको कारबाहीमा परी समस्याग्रस्त घोषणा नभएको हुनुपर्ने भएको भए फुकुवा भएको ६ महिना अवधि पूरा भएको हुनुपर्ने तथा सर्वसाधारणका लागि छुट्याइएको सेयर जारी गरिसकेको हुनुपर्ने सर्त केन्द्रीय बैंकको छ । उक्त मुद्दती राख्न चाहने बैंक वित्त संस्थाले कात्तिक ४ भित्रै राष्ट्र बैंकमा ब्याजदर प्रस्ताव पठाउन भनिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २६ मंसिर २०८२, १५ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नयाँ व्यवस्था कार्यान्वयनका लागि राष्ट्र बैंकको सर्कुलर
राष्ट्र बैंकले तीन अर्ब तीन करोड लगानी गर्ने
राष्ट्र बैंकको आम्दानी साढे ८० अर्ब
मुद्रास्फीति गत वर्षको भन्दा आधा बढी तल झर्यो :
राष्ट्र बैंकले ५० अर्ब निक्षेप तान्दै
राष्ट्र बैंकद्वारा दुई बैंकलाई कारवाही