काठमाडौँ। बर्दियाको बढैयाताल-४ कि एक युवतीले नागरिकता नपाएर आत्महत्या गरेको भनिएको विषय छानबिन गर्न समिति गठन भएको छ।
गृह मन्त्रालयका सहसचिव तथा नीति, योजना अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख सुरेश पन्थीको संयोजकत्वमा छानबिन समिति गठन गरिएको हो। सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेका अनुसार ३ सदस्यीय समिति गठन गरिएको छ ।
गृहमन्त्री ओमप्रकाश अर्यालले यस घटनाको बारेमा सर्वत्र चासो र चिन्ता प्रकट भएपछि मन्त्रालयको पनि गम्भीर ध्यानाकर्षण भनेको जनाउँदै छानबिन गर्न निर्देशन दिएका थिए।
प्रवक्ता काफ्लेका अनुसार मन्त्रालयले आइतबार सचिव स्तरीय निर्णय गर्दै सहसचिव पन्थीको संयोजकत्वमा मन्त्रालयकै उपसचिव कुलशेखर अर्याल र बर्दीयाका सहायक प्रमुख जिल्ला अधिकारी अशोक कुमार भण्डारी सदस्य रहने गरी घटनाको छानबिन गर्न समिति गठन गरिएको हो ।
समितिलाई घटनाको निष्पक्ष र सत्यतथ्य रूपमा जाँचबुझ गरी पाँच दिनभित्र प्रतिवेदन पेश गर्ने गरी समितिलाई आदेश दिइएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २१ मंसिर २०८२, १५ : ०२
लेखकबाट थप