प्राध्यापकको लापरबाहीले एसईई र कक्षा १२ को नतिजा प्रकाशनमा ढिलाइ हुन्छ : मन्त्री पुन

सफल खबर संवाददाता

आइतबार, ०७ मंसिर २०८२, १८ : ५३
प्राध्यापकको लापरबाहीले एसईई र कक्षा १२ को नतिजा प्रकाशनमा ढिलाइ हुन्छ : मन्त्री पुन

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले प्राध्यापकहरूको लापरबाहीका कारण माध्यमिक शिक्षा परीक्षा (एसईई) र कक्षा १२ को नतिजा प्रकाशनमा ढिलाइ हुने गरेको आरोप लगाएका छन् ।

आइतबार भक्तपुरमा विश्वविद्यालय अनुदान आयोगको ३२औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पुनले यस्तो बताएका हुन् । ४–५ लाख विद्यार्थीको परीक्षाफल सार्वजनिक गर्न ९ महिनाभन्दा बढी लाग्ने गरेको उल्लेख गर्दै उनले यसको अन्त्य गर्न जरुरी रहेको बताए ।

"एसईई र कक्षा १२ मा जम्मा ४/५ लाख विद्यार्थी मात्र हुन्छन् । तर, पनि नतिजा निकाल्नको लागि ८,९ महिना लाग्छ," मन्त्री पुनले भने, "यस्तो हुनुमा प्राध्यापकहरूको लापरबाही देखिन्छ । यस्ता कुराहरूको समाधान गर्नैपर्छ ।" मन्त्री पुनले विश्वविद्यालयहरू सम्बन्धन दिनमा मात्रै केन्द्रित हुँदा शिक्षाको गुणस्तर खस्कँदै गएको टिप्पणी गरे ।

"मन्त्रालयको पुँजीगत बजेटको १ प्रतिशत बजेट विश्वविद्यालयहरूका लागि आओस् भन्नको लागि हामी त्यसमा काम गरिरहेका छौँ । अहिले विश्वविद्यालयहरूको ध्यान सम्बन्धन दिनेमा मात्र हुन्छ," मन्त्री पुनले भने, "विश्वविद्यालयहरूमा कसले धेरै सम्बन्धन दिने भन्ने कुरामा प्रतिस्पर्धा गरेको जस्तो अवस्था छ । तर विद्यार्थी संख्या विस्तारै घट्दै गएको अवस्था छ ।"

खोज र अनुसन्धानात्मक शिक्षामा जोड दिनुपर्ने मन्त्री पुनको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस