अन्तर्राष्ट्रिय भ्रष्टाचारविरुद्ध दिवस

जहाज खरिदसँग जोडिएका चर्चित ६ वटा भ्रष्टाचार काण्ड

सफल खबर संवाददाता

आइतबार, २३ मंसिर २०७५, १४ : ३५
जहाज खरिदसँग जोडिएका चर्चित ६ वटा भ्रष्टाचार काण्ड

चितवन । विश्वभर ९ डिसेम्बरलाई अन्तर्राष्ट्रिय भ्रष्टाचारविरुद्ध दिवसका रुपमा मनाइन्छ । नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी आज यो दिवस मनाइरहँदा नेपालका चर्चित भ्रष्टाचार काण्डहरु  प्रस्तुत गर्नु सान्दर्भिक हुने हामीले ठानेका छौं । नेपालका आधा दर्जन चर्चित भ्रष्टाचार काण्ड सबै नेपाल वायु सेवा निगमबाट भएका जहाज खरिद प्रकरणसँग जोडिएका छन् । यी हुन् जहाज खरिदसँग जोडिएका चर्चित ६ वटा भ्रष्टाचार काण्ड :

एक : लाउडा काण्ड
२०५७ सालमा तत्कालीन शाही नेपाल वायु सेवा निगमसँग आफ्नै दुईवटा जहाज रहेका थिए । त्यहिबेला चाइना साउथवेस्टसँग सम्झौता भइसकेकाले तत्काल आवश्यक नभएको चौथो विमान भाडामा लिन अस्ट्रियाको लाउडा एअरसँग सम्झौता भयो । जुन लाउडा काण्डका नामबाट चर्चित छ । यो काण्ड चर्किएर  संसदको तत्कालीन अधिवेशन पूरै अवरुद्धसमेत भएको थियो । चर्चित लाउडा प्रकरणले नेपाल वायुसेवा निगमलाई दुई अर्ब रुपैयाँको नोक्सान गरेको निष्कर्ष निकालिएको थियो । यो काण्डमा काँग्रेसका तत्कालीन सभापति तथा प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला मुछिएका थिए ।

दुई : धमिजा काण्ड
२०५० सालमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले वायुसेवा निगमको कामकारवाहीमा हस्तक्षेप गरे । निगमले विमान किन्ने तयारी गरेको थियो । यसमा गिरिजाप्रसाद कोइरालाले भारतीय मूलका तर बेलायती व्यापारी दिनेश धमिजालाई आफ्नो व्यक्तिगत मनोमानीको आधारमा निगमको युरोपका लागि मुख्य एजेन्ट बनाए । जुन ‘धमिजा काण्ड’को नामले चर्चित छ । यो प्रकरणमा नेपाली वायुसेवा निगमले ३९ करोड ५५ लाख रुपैयाँ घाटा व्यहोरेको थियो ।

तीन : चेज एयर काण्ड
यो काण्ड पनि वायुसेवा निगमसँगै सम्बन्धित छ । २०५५ सालमा गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा नेकपा (माले) का यमलाल कँडेल पर्यटनमन्त्री थिए । उनै यमलाल कँडेलले आफ्नो पार्टीका महासचिव बामदेव गौतम निकट हङकङ रानामगरलाई नेपाल वायुसेवा निगम अध्यक्ष बनाए । त्यसपछि जहाज र कार्यालयसमेत नभएको ‘चेज एअर’ नामको कम्पनीबाट बोइङ–७५७ भाडामा ल्याउने सम्झौता गरियो । नाम मात्रको सो कम्पनीका सिसिल विन्टर्ससँग सम्झौता गरिएको त्यो प्रकरणबाट निगमले ९ लाख अमेरिकी डलरभन्दा बढी नोक्सानी व्यहोर्नु परेको थियो ।

चार : चाइना साउथवेस्ट काण्ड
२०५५ सालमा काँग्रेस–एमालेको संयुक्त सरकारले बीकेमान सिंहलाई नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्ष बनाएपछि बिनाटेन्डर चाइना साउथवेस्ट एअरलाइन्ससँग सम्झौता गरियो । एमाले नेता भीम रावल पर्यटनमन्त्री हँुदाको यो प्रकरणमा वायुुसेवा निगमले २२ करोड रुपैयाँको नोक्सानी व्यहोरेको थियो । नेपाली राजनीतिमा यो काण्ड निकै चर्चित रह्यो ।

पाँच : एयरबस काण्ड
२०६६ सालमा नेपाल वायुसेवा निगमलाई डुबाउने ठूलो प्रयास भयो । एउटा न्यारोबडी र अर्को वाइडबडी एयरबस विमान खरिदका लागि कार्यकारी अध्यक्ष सुगतरत्न कंसाकारले सञ्चालक समितिको निर्णय र आवश्यक रकमको व्यवस्था नहुँदै बैना पठाउनुलाई भ्रष्टाचार भन्दै निगमका तत्कालीन कार्यकारी अध्यक्ष कंसाकार, नायव महाप्रबन्धकद्वय राजकुमार केसी र गणेश ठाकुर विरुद्ध अदालतमा मुद्दा पर्यो । मुद्दा प्रक्रियामा रहँदै एयरबसले २८ माघ २०६७ मा बैनाफिर्ता गरेको कारण थुनामा रहेका अभियुक्तहरूले सफाइ पाए ।

छ : वाइडबडी जहाज काण्ड
नेपाल वायु सेवा निगमद्वारा २४ अर्ब तिरेर खरिद गरिएको दुई वटा वाइडबडी जहाजको भ्रष्टाचार प्रकरणमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी पनि मुछिएका छन् । भ्रष्टाचारमा मन्त्री अधिकारीको पनि मिलिमतो भएको आरोप सांसदहरुले नै लगाएका छन् । सार्वजनिक लेखा समितिमा वाइड बडी जहाज खरिद प्रकरणमा भएको भ्रष्टाचारका विषयमा छलफल हुँदा सांसदहरुले मन्त्री अधिकारीमाथि भ्रष्टाचारको आरोप लगाएका हुन् ।

नेपाल वायुसेवा निगमका दुईवटा ‘वाइड बडी’ विमान भित्र्याउँदा अनियमितता भएको भन्दै संसदको सार्वजनिक लेखा समितिले प्रश्न उठाइरहेका बेला पर्यटनमन्त्री रवीन्द्र अधिकारीले जहाज खरिदमा कुनै गल्ती भेटिए जो कोही कारबाहीको दायरामा आउने प्रष्ट्याएका छन्। वाइड बडी जहाज किनेको प्रमाण सरकारसँग नभएकोले ती जहाज भाडामा मात्र लिएको हुन सक्ने आशंका गरिएको छ । वाइड बडी खरिद प्रकरण अख्तियार  दुरूपयोग अनुसन्धान आयोगमा पुगिसेकेको छ। जहाज खरिद गरेको हो वा भाडामा लिन २४ अर्ब तिरिएको हो ?

सरकारले जमानी बसेर २४ अर्ब ऋण दिलाएको निगम हेर्दाहेर्दै घाँडो बन्न लागेको देखिन्छ। निगमसगँ अहिले पनि नयाँ किनेका वाइड बडी जहाज कहाँ, कसरी चलाउने भन्ने बजार प्रवर्द्धनको योजना छैन। यी जहाजले पूर्ण क्षमतामा यात्रु बोकेर नउड्ने हो भने २४ अर्बको वार्षिक २ अर्ब ब्याज नै तिर्न सक्दैनन्। निगमलाई उकास्ने भनेर ल्याइएका जहाजले नै निगम डुबाउने छन्।

प्रतिक्रिया दिनुहोस