मुद्रास्फीति गत वर्षको भन्दा आधा बढी तल झर्‍यो :

सफल खबर संवाददाता

आइतबार, ३० कार्तिक २०८२, १४ : ०८
मुद्रास्फीति गत वर्षको भन्दा आधा बढी तल झर्‍यो :

काठमाडौं । नेपाल राष्ट्र बैंकको तथ्यांकले नेपालमा मुद्रास्फीति गत आर्थिक वर्षको असोज महिनाको तुलनामा चालु आर्थिक वर्षको असोज महिनामा आधा बढीले तल झरेको देखाएको छ । 

केन्द्रीय बैंकले आइतबार सार्वजनिक गरेको तथ्यांकमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनले चालु आर्थिक वर्षको असोज महिनामा वार्षिक उपभोक्ता मुद्रास्फीति १.४७ प्रतिशत रहेको देखाएको हो । जबकि अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति ४.२८ प्रतिशत रहेको थियो ।

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति २.५४ प्रतिशतले ऋणात्मक रहेको छ भने गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.८० प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यी समूहहरूको मुद्रास्फीति क्रमशः ७.२० प्रतिशत र ३.४९ प्रतिशत रहेको थियो ।

आर्थिक वर्ष २०८२÷८३ को प्रथम त्रयमासको औसत मुद्रास्फीति १.६७ प्रतिशत रहेको केन्द्रीय बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिको औसत मुद्रास्फीति ४.२६ प्रतिशत रहेको थियो । 

प्रतिक्रिया दिनुहोस