सरकारी ऋण उठाउन तीन अर्ब बराबरका दुई बचत पत्रको बिक्री खुला

रासस

शनिबार, २९ कार्तिक २०८२, १५ : ०७
सरकारी ऋण उठाउन तीन अर्ब बराबरका दुई बचत पत्रको बिक्री खुला

काठमाडौँ । सरकारी ऋण उठाउन सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले दुई वटा बचत पत्रको बिक्री खुला गरेको छ । कार्यालयले रु. दुई अर्ब ५० करोड बराबरको ‘नागरिक बचत पत्र-२०८७’ र रु ५० करोड बराबरको ‘वैदेशिक रोजगार बचत पत्र-२०८७’ निष्कासन गर्न लागेको हो ।

पाँच वर्ष अवधिका यी दुवै बचत पत्र खरिदका लागि आगामी मङ्सिर २५ गतेसम्म आवेदन दिन सकिनेछ भने मङ्सिर २८ गते निष्कासन हुनेछ । नागरिक बचत पत्रमा छ दशमलव पाँच प्रतिशत र वैदेशिक रोजगार बचत पत्रमा सात दशमलव पाँच प्रतिशत वार्षिक ब्याजदर उपलब्ध हुनेछ ।

बचत पत्रको ब्याज हरेक छ/छ महिनामा सम्बन्धित खरिदकर्ताको बैंक खातामा भुक्तानी हुनेछ भने घटीमा रु. १० हजार र बढीमा कुल निष्कासित रकमको सीमामा नबढाई रु. १० हजारले भाग गर्दा नि:शेष भाग जाने अंकमा खरिद गर्न पाइनेछ ।

नागरिक बचत पत्र नेपाली नागरिक र गैरआवासीय नेपाली नागरिकले खरिद गर्न सक्नेछन् । त्यस्तै, वैदेशिक रोजगार बचत पत्र मुलुकबाहिर रोजगारीमा संलग्न वा मुलुक बाहिरको रोजगारीबाट फर्केको छ महिना पुगेका नेपाली नागरिक, गैरआवासीय नेपालीले आफू वा आफ्नो परिवारको सदस्यको नाममासमेत गरिन गर्न सक्नेछन् । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सञ्चालन गर्ने डोम्स (डिओएमएस) प्रणाली र इन्भेस्टर पोर्टलमार्फत बचत पत्र खरिदका लागि आवेदन दिन सकिनेछ ।

प्रतिक्रिया दिनुहोस