पोखरामा पर्यटक बढेसँगै प्याराग्लाइडिङमा थपियो रौनक

सफल खबर संवाददाता

मंगलबार, ११ कार्तिक २०८२, ०८ : १९
पोखरामा पर्यटक बढेसँगै प्याराग्लाइडिङमा थपियो रौनक

पोखरा । पोखराको आकाशमा यतिबेला प्याराग्लाइडिङको रौनकता छाएको छ। पर्यटकीय मौसम अनुकूल भएसँगै साहसिक खेलका पारखीका लागि पोखरा एक प्रमुख गन्तव्य बनेको छ। माछापुच्छ्रे अन्नपूर्ण हिमशृखङ्लाको काखमा फेवातालसहित पोखराको सुन्दरतालाई नजिकबाट अवलोकन गर्न चाहने पर्यटकको रोजाइमा प्याराग्लाइडिङ परेको छ।

पोखराको प्राकृतिक सुन्दरतालाई आकाशबाट नियाल्दै प्याराग्लाइडिङको रोमाञ्चक अनुभव लिन पाउँदा पर्यटकहरू हर्षित भएका छन् भने सुस्ताएको व्यवसायमा देखिएको चहलपहलले व्यवसायीमा पनि ऊर्जा थपेको छ।

फेवाताल, यहाँबाट देखिने हिमशृङ्खला र हरियाली डाँडाकाँडाको मनमोहक दृश्यले प्याराग्लाइडिङ अनुभवलाई अविस्मरणीय बनाएको नवलपुरबाट पोखरा घुम्न आउनुभएकी सविना मगर बताइन्।

‘चराजस्तै उड्ने र प्राकृतिक दृश्यलाई साक्षात्कार गर्ने लामो समयको चाहना पूरा भएको छ’, मगरले भनिन्, ‘उचाइदेखि डर लाग्ने भएकाले धेरैचोटी कोसिस गर्दा पनि उड्न सकेको थिइन अहिले भने डर हटाएर उडन सफल भएँ, धेरैले उडेको देखेपछि आफूलाई पनि आँट आयो।’

पोखराको हिमाल र तालको अनुपम दृश्यलाई कैद गर्दै आकाशमा उड्नुको मज्जा बेग्लै भएको उनको अनुभव थियो। नेपालगञ्जका सुजित जोशी पनि पोखरा आउँदा आकाशमा उड्न मन लागि हाल्ने बताउँछन्।

प्रतिक्रिया दिनुहोस